२० फागुन, काठमाडौं । राष्ट्रिय सहकारी बैंक बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल राष्ट्र बैंकमा उजुरी परेको छ । क्रिष्टल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडसँग सम्बन्धित मुद्दाको विषयलाई लिएर राजश्री राईले अख्तियार र राष्ट्र बैंकमा उजुरी दिएकी हुन् ।
उनले दिएको उजुरी कर्जा असुलीमा भएको अनियमिततासँग सम्बन्धित छ । उक्त निवदेनमा ठूलो रकमको धितोलाई बैंकले विद्यमान कानुनी प्रक्रिया समेत पुरा नगरी लिलामी गरेको उल्लेख छ । साथै उक्त धितोवापतको घरजग्गा बैंकका कर्मचारीहरुले हत्याई पैसा कमाउने खेलसहित नियोजित ढंगबाट धितो लिलामी गरेको निवेदनमा उल्लेख गरिएको छ । समाचार स्रोतका अनुसार उक्त घरजग्गा बैंकका प्रबन्ध सञ्चालक के.बी. उप्रेतीका आफन्तलाई दिलाई दिएको छन् । हाल गठ्ठाघरमा रहेको राष्ट्रिय सहकारी बैंकले लिलामी गरेको उक्त घरजग्गा तारा उप्रेती खरेलको नाममा रहेको छ ।
प्रचलित नियमानुसार उक्त बैंकबाट लिएको कर्जाको साँवा ब्याज तिरिदिएर आफ्नो घर जग्गा लिन खोज्दा बैंकले नदिएको उजुरीकर्ताले उल्लेख गरेकी छन् । बैंकबाट लिएको ऋणको ब्याज सावाँ तिरेर लिने अधिकार आफूलाई भएको भन्दै उनले सोही अनुसार दिलाइदिन पनि उनले राष्ट्र बैंक र अख्तियारसँग अनुरोध गरेकी छिन । यो विषयमा आफूले न्याय नपाए सो उजुरीको बोधार्थ सहित उनले राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, सीआईबी, राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिलाई समेत दिने तयारी गरेको सुनाईन ।

यसै बिषयसँग सम्बन्धित दर्जन बढी मुद्दा अदालतमा समेत रहेका छन । उक्त मुद्दा अहिले अदालतमा बहसको प्रक्रियामा विचाराधिन अवस्थामा रहेको छ । मुद्दामा बैंक, बैंकका प्रबन्ध सञ्चालक के.बी. उप्रेती र जग्गा खरिदकर्ता तारा उप्रेती खरेललाई विपक्षी बनाइएको छ ।
प्राप्त जानकारी अनुसार राष्ट्रिय सहकारी बैंकले उक्त घरजग्गालाई सेटिङ्ग टेण्डरमार्फत भक्तपुरका स्थानीय बिष्णुभक्त गोङ्ग प्रजापतिलाई दिलाई दिएको थियो । सुरुमा १ करोड ५० लाख लिमिट कर्जा लिएको उक्त क्रिष्टल बहुउद्देश्यीय सहकारी संस्थाले ५२ लाख मात्र कर्जा तिर्न बाँकी थियो । बाँकी कर्जाको ब्याज र सावाँ समेत तिरिरहेको अवस्थामा बैंकले लिलामी प्रक्रिया अगाडि बढाएको उनले बताइन् ।
बैंकलाई तिर्नु पर्ने बाँकी ब्याज र दाखा खर्च भन्दै प्रजापतिलाई बैंकले उक्त घर जग्गा ६० लाखमै पास गरिदिएको देखिन्छ । समाचार स्रोतका अनुसार बैंकका कर्मचारीलाई ३० लाख घुस खुवाएर सेटिङ्गमार्फत प्रजापतिलाई उक्त घरजग्गा दिलाइएको थियो । तर सुरु देखि नै बैंक र खरिदकर्ता प्रजापतिलाई अदालतमा मुद्दै मुद्दा परेको, बैंकले सहजै दिलाई दिने अवस्था नभएपछि र महंगो मूल्यको उक्त घरजग्गा सजिलै लिन नसकिने देखिए पछि प्रजापति ब्याक हटेका थिए । प्रजापति ब्याक हट्दा कर्मचारीहरुलाई खुवाएको ३० लाख अहिलेसम्म पनि विवादमा रहेको स्रोतको दाबी छ । प्रजापतिले कमिशन दिएर त घरजग्गा खरिद गरे । तर पुन ः घरजग्गा अर्कोको नाममा हस्तान्तरण गर्ने समयमा प्रजापतिले दिएको ३० लाख फिर्ता नपाएको गुनासो निजले नै गर्ने गरेको र उनले मुद्दामा गइदिए आफ्नो पनि उक्त रकम असुल हुने थियो भन्ने गरेको समाचार स्रोतले उल्लेख गरेको छ ।
अहिले उक्त घरजग्गा बैंककै सेटिङ्गबाट फेरि तारा उप्रेती खरेलको नाममा पुगेको छ । पछिल्ला घरजग्गा खरिदकर्ता तारा उप्रेती खरेल पनि बैंकका पुरानिया चिनाजानीकै मान्छे हुन् । उनलाई पनि ६० लाखमा केही मात्र रकम थपाएर मात्र पास गरेको स्रोतले जानकारी दिएको छ । जग्गा लिने तारा उप्रेती खरेल बैंकका प्रबन्ध सञ्चालक के.बी. उप्रेतीका आफन्त र बैंकको हाल शाखा कार्यालय (तत्कालिन मूख्य कार्यालय) रहेको खरेल हाउस बानेश्वरका केशब खरेलकै नातेदार रहेको स्रोतको बताउँछ । घरजग्गा कारोबारमा समेत संलग्न उनले पनि आफ्नै घरमा ओम उपकार बचत तथा ऋण सहकारी संस्था सञ्चालन गर्दै आएका छन् ।

हाल उक्त घरजग्गा प्रजापतिबाट तारा उप्रेती खरेलले खरिद गरे पनि उनी प्रतिनिधि पात्र मात्र भएको स्रोतको दाबी छ । जग्गा खरिद गरेको पैसाको स्रोत खोज्ने हो भने तारा उप्रेती खरेल छाँया खरिदकर्ता मात्रै भएको पुष्टि हुने स्रोतले दाबी गरेको छ । यो जग्गा हस्तान्तरणमा बाध्यता पार्ने मिटर ब्याज पनि मूख्य रहेको स्रोतले दाबी गरेको छ । घरजग्गाधनी पीडितले बैंकलाई भुक्तानी गर्नुपर्ने ६० लाख र केही ब्याज तिरेर उक्त घरजग्गा फिर्ता माग्न खोज्दा खरेलका आफन्तले नै डिलिङ्ग गर्ने गरेको र उक्त घरजग्गा आफूले १ करोड ६८ रकममा खरिद गरेको भनिदै आएको जानकारी प्राप्त भएको छ । आफूहरुले राजश्व छल्नको लागि मात्रै कम मूल्य देखाइएको खरिदकर्ताका आफन्तले पीडितलाई बताएको खरिदकर्ताका आफन्तलाई उदृत गर्दै स्रोतले उल्लेख गरेको छ । अहिले बैंक र तारा उप्रेती खरेल समेतलाई विपक्षी बनाएर दिएको दर्जनौं मुद्धाहरु अदालतमा विचाराधिन अवस्थामा रहेका छन ।
स्मरणीय छ, बैंकले कर्जा लगानी, कर्जा असुली र कर्मचारी नियुक्तीमा समेत घोटाला गरेका धेरै सरोकारवाला सहकारीकर्मीहरुले गुनासो गदै आएका छन् ।
राष्ट्रिय सहकारी बैंकबाट यी विषयमा भएको अनियमिततामा समेत उजुरी परेको अख्तियार र राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । उजुरीको विषयलाई लिएर दुबै निकायले राष्ट्रिय सहकारी बैंकको अनियमितता सम्बन्धमा छानविन गर्ने तयारी गरिरहेको बुझिएको छ ।
‘बैंक भित्र भएको अनियमितिको छानविन तथा आवश्यक कारबाही गर्छौं ।’ अख्तियार स्रोतले भन्यो– ‘हामी कहाँ परेको उजुरीको फायलको अध्ययन गरिरहेका छौं ।’ अध्ययन पश्चात छानविन हुने अख्तियार स्रोतले जानकारी दियो ।