२०८३ साउन ९ शनिबार

क्यापिटल मर्चेन्ट ठगीका मूख्य योजनाकार कार्कीलाई चाँडै प्रहरी हिरासतमा ल्याइने

ई आर्थिक    मंगलबार, फाल्गुन १७ २०७३
5.5K
Shares
क्यापिटल मर्चेन्ट ठगीका मूख्य योजनाकार कार्कीलाई चाँडै प्रहरी हिरासतमा ल्याइने

१७ फागुन, काठमाडौं । ’रेड कर्नर नोटिस’ मा परेका पवनकुमार कार्कीलाई चाँडै प्रहरी हिरासतमा ल्याइने भएको छ । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनी ठगीका मुख्य योजनाकार कार्कीलाई नेपाल फिर्ता ल्याउने प्रहरीको प्रयास अन्तिम चरणमा पुगेको प्रहरी स्रोतले जानकारी दिएको छ । कार्की कार्की अमेरिकाको टेक्सासमा व्यवसाय सञ्चालन गरेर बसेको छन् । उनले अमेरिकाको उतैबाट नागरिकता लिएको खुलेको थियो ।

प्रहरीको सर्वाधिक खोजीमा रहेका फाइनान्सका तत्कालीन प्रबन्ध निर्देशक कार्कीलाई फिर्ता पठाउन अमेरिकाको संघीय प्रहरी सहमत भएको स्रोतले उल्लेख गरेको छ । संघिय प्रहरीले कार्कीलाई औपचारिक नभई अनौपचारिक रूपमा फिर्ता पठाउन सहमत भएको हो ।
केही समयअघि काठमाडौंमा भएको इन्टरपोलको एसिया क्षेत्रीय सम्मेलनमा वित्तीय अपराधका विषयमा नेपालले कार्कीको विषय उठान गरेपछि नेपाल प्रहरी र अमेरिकी अधिकारीबीच छलफल चलेको थियो । यो बिषयमा पछिल्लो समयमा अमेरिकी दुतावास र नेपाल प्रहरीबीच धेरै पत्राचारहरु समेत भइसकेको छ ।

नेपाल राष्ट्र बैंकले फाइनान्स डुबाउने मूख्य हात कार्कीको रहेको भन्दै उनका कर्तुतको अनुसन्धान थालेको थियो । राष्ट्र बैंकको अनुसन्धानमा उनले करिब ४ अर्ब रुपैयाँको हिनामिना गरेको गम्भीर तथ्य पत्ता लगाएको थियो । सो तथ्यसहितको प्रतिवेदन तयार पारेर राष्ट्र बैंकले अनुसन्धानका लागि प्रहरीलाई बुझाएको थियो । कार्कीको अपराध गम्भीर भएको निचोडसहित प्रहरीले कसुरको विवरण दूतावासमा पु¥याइसकेका छन् ।

नेपालले कार्कीलाई फिर्ता ल्याउने पहल अन्तिम चरणमा पुगेको छ । प्रहरी स्रोतका अनुसार अमेरिकाको खोजीमा रहेका केही व्यक्ति नेपालले पनि दिनेछ । कार्कीलाई नेपाल ल्याउन प्रहरीले अपराधी साटासाट प्रणाली लागू गर्नेछ । जसअनुसार अमेरिकाको अपराधको सूचिमा नेपालमा रहेका केही व्यक्तीलाई नेपाल अमेरिकालाई दिने र अमेरिकाबाट कार्कीलाई नेपाल ल्याइने गरी तयारी अन्तिम प्रक्रियामा पुगेको स्रोतको दाबी छ । यही ‘कारोबार’ शैलीबाट व्यक्तीहरुको आदानप्रदान हुने भएको स्रोतले जानकारी दिएको छ । प्रहरीले यसअघि पनि अमेरिकाको संघीय प्रहरीसँग यस्तो प्रणालीबाट कारोबार गरिसकेको छ । यसरी कार्की चाँडै नेपाल प्रहरीको हिरासतमा आउने स्रोतको दाबी छ ।

pawan-karki

(अमेरिका आएपछि कार्कीले खरिद गरेको बिजनेस कम्प्लेक्स)

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको कम्पनीको ठगी प्रकरणमा संलग्न अन्य व्यक्तिहरु पक्राउ परे पनि घटनालगत्तै फरार रहेका कार्की अमेरिका पुगेका थिए । कार्की नेपालको बैंक तथा वित्तीय संस्थाको इतिहासमा सबैभन्दा ठूलो ठगीकाण्डका नाइके भए पनि ढुक्कले अमेरिकामा व्यापार गरेर बसेका छन् । अदालतले उनलाई १ अर्ब २० करोड जरिवाना र कैद सजायको फैसला गरिसकेको छ । क्यापिटल मर्चेन्ट बैंकका तत्कालिन प्रबन्ध निर्देशक कार्कीविरुद्ध नेपाल राष्ट्र बैंकको जाहेरीको फैसला गर्दै पुनरावेदन अदालत पाटनले १ अर्ब २० करोड ९३ लाख ९७ हजार १ सय ४१ रुपैयाँ ७४ पैसा जरिवाना र ६० वर्ष कैद सजाय तोकेको थियो । उनीविरुद्ध ४० थान मुद्दा परेको र हरेक मुद्दामा डेढ वर्ष कैद सजाय तोकिएको छ । ६० वर्षको  कैद सजायको फैसला भए पनि कार्की अहिले अमेरिकाको टेक्सासमा ठूलो लगानीमा व्यवसाय गरेर बसिरहेका छन् ।

कार्कीले सीता खाँडसरी चिनी मिल, गौरीशंकर इन्भेस्टमेन्ट कम्पनी, विजेश्वरी आवास विकास कम्पनी, सुशोभन डेभलपर्स, उद्यम मल्टी इन्भेस्टमेन्ट एन्ड ट्रेडिङ कम्पनी, बूढा महांकाल खाद्य प्रोडक्ट, संयोग हाउजिङ एन्ड डेभलपर्स र मदनबहादुर खड्का, बलदेव खड्का र श्रीराम खत्रीलगायतलाई मिलेमतोमा ऋण प्रवाह भएको ब्युरोको अनुसन्धानमा खुलेको थियो ।

ब्युरोले सीता खाँडसरी चिनी मिलको परियोजनाका लागि कमसल जग्गा धितो राखी रकम निकाल्ने किरणकेशर नेपाललाई पक्राउ गरिसकेको छ । नेपालले परियोजनाका लागि काठमाडौं मन्डिखाटारस्थित आठ रोपनी जग्गाको अत्यधिक धितो मूल्यांकन गराई कागजी परियोजनाका लागि नौ करोड ऋण लिएका थिए । पुनरावेदन अदालत पाटनले २०७१ वैशाख २९ मा तीन वर्ष कैद र करिब साढे नौ करोड रुपैयाँ जरिबाना फैसला गरेयता फरार नेपाल हालै पक्राउ परेका थिए । काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन आदेशले नेपाललाई कैद भुक्तानका लागि केन्द्रीय कारागार चलान गरिएको छ । फाइनान्स प्रकरणमा ७४४ लाई प्रतिवादी बनाइएको थियो । नेपाल त्यही मध्येका एक हुन् ।

कम्पनीलाई ठगी गर्ने अरुणकुमार मराठा (६ वर्ष कैद र १३ करोड ३० लाख जरिबाना) लाई २०७२ जेठ १४ मा अनुसन्धान ब्यूरोले पक्रेको थियो । यस्तै नवराज खत्री (तीन वर्ष कैद, ६ करोड ५० लाख जरिबाना) लाई सोही वर्ष जेठ १८ मा, तुलसाकुमारी धमला (तीन वर्ष कैद र दुई करोड २० लाख जरिबाना) लाई सोही वर्ष साउन १७ मा र भाइकृष्ण खड्का (तीन वर्ष कैद र तीन करोड ५० लाख जरिबाना) लाई सोही वर्ष भदौ २ मा पक्राउ गरी अदालतमा पेस गरेको थियो ।

कार्की लगायतको गिरोहले फाइनान्सलाई डुबाए पछि फाइनान्सका सेयरधनी र निक्षेपकर्ताहरुको ठूलो रकम फसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij