२७ माघ काठमाडौं । नेपाल एसबिआई बैंकले लाभांश वितरणको प्रस्ताव पारित गरेको छ । बैंकको बिहीवार आर्मी अफिसर्स क्लबमा सम्पन्न २३औँ वार्षिक साधारणसभाले शेयरधनीलाई चुक्ता पूँजीमा २८ प्रतिशतको दरले वोनश शेयर तथा चुक्ता पूँजीमा १.५३ प्रतिशतको दरले नगद लाभांश वितरण गरिने प्रस्ताव पारित गरेको हो ।
बैंकले सोही वार्षिक साधारणसभाबाट आ.व. २०७२÷७३ को संचालक समितिको प्रतिवेदन, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ । बैंकले आ.व. २०७२÷७३ मा रु. २४१.६१ करोड संचालन मुनाफा र रु. १३३.१९ करोड खुद मुनाफा हासिल गरेको छ ।
उक्त साधारणसभाले बैंकको २२औँ साधारणसभाबाट पारित भएको एक अरब उनान्नसय करोड उन्नाइस लाख बयालिस हजार तीन सय साठी रुपैयाँ रकम बराबर (अर्थात प्रत्येक १० कित्ता शेयर बराबर ४ कित्ताका दरले) हकप्रद शेयर निष्काशन गर्ने सम्बन्धमा हकप्रद शेयर जारी गर्ने भएको छ । उक्त शेयर जारी गर्दा आउने भिन्न अंकलाई शेयरधनीबाट थप रकम लिई पूर्ण अंकमा परिणत गर्ने र त्यसरी पूर्ण अंकमा परिणत गर्ने क्रममा वर्तमान शेयरधनी समूहको शेयर स्वामित्व कायमै राख्न संस्थापक शेयरधनीबाट जति रकम थप्न आवश्यक पर्छ सो रकम संस्थापकबाट समेत थप लिई संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व ७०:३० कायम गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारणसभाले बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७२÷०७३ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।