नक्सालको भगवतीवहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा अचम्मले तरिकाले सडक भासिएको छ । हिल्टन वल्र्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माण गर्दै गरेको डबल ट्रि नामक पाँचतारे होटल अत्याधिक गहिराइमा खन्ने क्रममा सो सडक भासिएको हो । सो ठाउँलाई अहिले हेर्न सर्वसाधारणको भीड लागेको छ । सडक आसपासमा प्रहरीले घेरा हालेर सो ठाउँमा अहिले आवत जावत समेत बन्द गरिएको छ । दुई तर्फी आवत जावत हुने सो सडकको आधा भाग भासिएकाले सवारी आवगमन समेत अबरुद्ध भएको छ ।
११ तले सो होटल निर्माणको क्रममा जमिन मुनी गहिरो पारेर खन्दा आसपासका स्थानीयहरुसमेत चिन्तित भइरहेकै समयमा सो सडक भासिएको हो । निजी क्षेत्रको जग्गा खन्दा सडकसम्म भासिएको उक्त होटल निर्माण सम्पन्न भइसके पछि के हुने हो भनि लगानीकर्तामा र स्थानीयमा समेत चिन्ता बढेको छ । एक स्थानीय भन्छन् कुनै ठाउँमा नयाँ ठाउँमा पूर्वाधार भन्दा विकासको अनुभव गर्नुपर्ने हो । तर अहिले विनास भएकोमा चिन्ताले सताएको छ । अहिले स्थानीयहरुले सो दुर्घटनाको छानविन गर्न माग गरेका छन् । लापारवाही तरिकाले खन्दा दुर्घटना भएको हो वा भित्री माटो कमजोर भएको प्राराम्भीक अनुमान गरिएको छ ।
भर्जिनिया मूख्य कार्यालय रहेको हिल्टन वल्र्डवाइडसँग अमेरिका, युरोप, मध्यपूर्व सहित एक सय देशमा होटल एवं रिसोर्ट रहेका छन् । विश्वभर ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वल्र्डवाइडले नेपाली लगानीकर्तासँग मिलेर होटल निर्माण गरिरहेको छ ।