सडक विस्तारको क्रममा पीडित बनेका संघर्ष समितिले आव्हान गरेको उपत्यका बन्दले काठमाडौंको मूख्य स्थान नयाँ सडक र आसपासका महत्वपूर्ण स्थानको कारोबार ठप्प रहेका छ । उपत्यकाका अन्य स्थानहरुमा पसल तथा कार्यालयहरु खुले पनि नयाँ सडक, दरबारमार्ग, ठमेल लगायतका महत्वपूर्ण व्यवसायिक ठाउँहरु भने बन्द भएका छन् ।
ती ठाउँहरुमा मानिसहरुको आवत जावत र चहल पहल भएपनि पसल तथा कार्यालयहरु प्रायः बन्द जस्तै रहेका छन् । स्थानीय व्यवसायीहरु र ती व्यवसायमा काम गर्ने कामदारहरु आफ्नो पसल तथा कार्यालयको अगाडि बसे पनि पसल खोल्ने आट गरिरहेका छैनन् । हिजो पसल खोले तोडफोड गरिदिने सर्कुलर आएकाले पसल बन्द रहेको स्थानीय व्यवसायी मोहित अग्रवालले बताए । ‘यो ठाउँमा मानिसको आवत जावत जहिले उस्तै हुन्छ’ उनले भने- ‘सर्वसाधारण हुन या बन्दकर्ता ठम्याउन गाह्रो हुन्छ ।’ ती स्थानहरुमा ठूलो लगानीमा पसल व्यवसायमा सञ्चालन गर्दै आएकाले क्षति हुने डरले पनि खोल्न नसकेको एक सुन पसलेले बताए ।
उता निजीका साथै भाडाका सवारीहरुको उपस्थिति सडकमा बढिरहेको छ । बसपार्कहरुबाट एक पछि अर्को गर्दै विस्तारै बसहरु छुट्न थालेका छन् ।
त्यसो त अन्य स्थानको तुलनामा सो स्थान केही बन्दकर्ताको पनि उपस्थिति रहेको छ । उनीहरुले पसल खोल्न खोज्नेहरुलाई खवरदारी गरिरहेको देखिन्थे । काठमाडौंबाट २३ र ललितपुरबाट ६ जना बन्दकर्ता पक्राउ परेको स्थानीय प्रशासनले जानकारी दिएको छ ।
उता सवारीधनीहरुले भने बन्दको प्रतिकार गर्दै साधन चलाई रहेका छन् । यो बन्दलाई सर्वसाधारणहरुका साथै अन्य ठाउँका उपत्यकाबासीहरुले नै प्रतिकार गरेका छन् । सडक विस्तार जस्तो विकास विरोधीहरुको बन्द भन्दै सर्बसाधारणहरुले प्रतिकार गरेका हुन् । प्रतिकार गरी सडकमा आफ्ना साधान चलाउनेहरु अधिकांशले बन्दकर्ताहरुलाई विकास विरोधीको संज्ञा दिएका छन् ।
विस्तारै ट्याक्सी, मोटरसाइकल, भाडाका केही सवारीसाधन बढिरहेका छन् भने पसल कार्यालयहरु पनि खुल्न थालेका छन् । सडकमा सुरक्षा व्यवस्था चुस्त दुरुस्त पारिएकाले पनि बन्द विरोधीहरु निर्धक्क छन् । राजधानीका मूख्य सडकमा कही त्यस्तो बन्दकर्ताहरुको उपस्थिति देखिएको छैन । साझा यातायातका साथै अन्य भाडाका सवारीसाधनहरु समेत सडकमा थपिदै गएका छन् । साझा, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रलगायतका पेट्राेल पम्पहरु समेत खुल्ला रहेका छन् ।
सडक विस्तारका क्रममा आफूहरु पीडित भएको भन्दै उनीहरु संगठित भई आन्दोलन घोषणा गरेका थिए । हाल उपत्यका भित्रका त्यस्ता विभिन्न २२ ठाउँका पीडितहरुको संगठन नै बनेको छ । उनीहरुले मुअब्जा नदिई सडक विस्तार गरेको भन्दै संघर्ष समिति नै बनाएका छन् । उनीहरु १० सुत्रिय माग राखी आन्दोलनमा उत्रिएका छन् ।