प्रदेश नम्बर ६ मा स्थानीय सडक मात्रै होइन, रणनीतिक सडकको अवस्था पनि अत्यन्त कमजोर
संघीय संरचनामा कालोपत्रे भएको स्थानीय सडक सञ्जालमा प्रदेश नम्बर ६ सबैभन्दा पछाडि देखिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस प्रदेशमा कुल १९ किलोमिटर स्थानीय सडक मात्र कालोपत्रे भएका छन् । यस प्रदेशमा कुल स्थानीय सडकको लम्बाइ ३ हजार ५ सय ६५ किलोमिटर छ । उक्त प्रदेशको कुल सडकको तुलनामा कालोपत्रे सडकको लम्बाइ शून्य दशमलव ७५ प्रतिशत हो । त्यस्तै, ग्राभेल सडकको लम्बाइ पनि ६ दशमलव १४ प्रतिशत मात्र रहेको छ । धुले सडक भने सबैभन्दा बढी ९२ दशमलव ९१ प्रतिशत रहेको छ ।
प्रदेश ३ सबभन्दा अगाडि
तथ्यांकले प्रदेश ३ मा सबैभन्दा बढी स्थानीय सडक सञ्जाल रहेको देखाएको छ । यस प्रदेशमा कुल १४ हजार ४ सय ७९ किलोमिटर सडक सञ्जाल रहेको छ । त्यसमध्ये ५ सय ७६ किलोमिटर सडक कालोपत्रे रहेको छ । धुले सडक भने ११ हजार ३२८ किलोमिटर रहेको छ । यो देशभरको कुल स्थानीय धुले सडकको २६ दशमलव ४६ प्रतिशत हो ।
प्रदेश २ र ७ मा बराबर कालोपत्रे
प्रदेश २ र ७ मा स्थानीय कालोपत्रे सडक सञ्जाल बराबर देखिएको छ । यी दुवै प्रदेशमा ८२ किलोमिटर सडक कालोपत्रे छन् । ग्राभेल सडकमा भने प्रदेश ७ भन्दा २ अगाडि छ । प्रदेश २ मा ग्राभेल सडकको लम्बाइ २ हजार ७ सय ८० किलोमिटर रहेको छ । जबकि प्रदेश ७ मा ९ सय २ किलोमिटर सडक ग्राभेल छ । यो प्रदेश २ को भन्दा तीन गुणा बढी देखिन्छ । त्यस्तै, समग्रमा स्थानीय सडक सञ्जालमा प्रदेश ४ चौथो स्थानमा रहेको छ । तर, कालोपत्रे सडकमा भने यो दोस्रो स्थानमा रहेको छ । यो प्रदेशमा ५ सय ३१ किलोमिटर सडक कालोपत्रे छ ।
रणनीतिक सडकमा पनि प्रदेश ६ पछाडि
प्रदेश ६ रणनीतिक सडक सञ्जालमा पनि अन्यको तुलनामा पछि छ । यस प्रदेशमा अहिलेसम्म कुल ४ सय ७० दशमलव ४७ किलोमिटर मात्र कालोपत्रे सडक छ । जबकि, यस प्रदेशमा कुल रणनीतिक सडक १ हजार १३२ दशमलव ३ किलोमिटर छ । कुल सडकमध्ये ५६ दशमलव २७ प्रतिशत धुले सडक छ । जुन ६३७ किलोमिटर हो । ग्राभेल सडक पनि जम्मा २४ किलोमिटर मात्र रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, प्रदेश ३ रणनीतिक सडकमा सबभन्दा अगाडि छ । यस प्रदेशमा २ हजार ३८० किलोमिटर रणनीतिक सडक रहेकोमा १ हजार ५११ किलोमिटर कालोपत्रे छ । त्यस्तै, ३०२ ग्राभेल र ५६५ धुले सडक रहेको छ । कालोपत्रे धेरै हुनेमा प्रदेश ५ दोस्रो स्थानमा रहेको छ । यस प्रदेशमा १ हजार २४१ किलोमिटर सडक कालोपत्रे रहेको छ । त्यस्तै, ३३५ ग्राभेल र ७१० धुले सडक रहेको छ ।
यस्तै, प्रदेश १ कुल २ हजार २४७ सडकमध्ये ९७८ कालोपत्रे, ३७८ ग्राभेल र ८९० धुले सडक रहेको छ । प्रदेश २ मा कुल १ हजार ३५३ सडक रहेको छ । त्यसमध्ये कालोपत्रे ७३० ग्राभेल ४५१ र धुले १७१ रहेको अद्यावधिक सडक तथ्यांकमा उल्लेख छ । प्रदेश ४ मा भने सबैभन्दा बढी धुले सडक रहेको छ । यस प्रदेशमा कुल १ हजार ६६६ किलोमिटर सडकमध्ये धुले सडक १ हजार ५ किलोमिटर रहेको छ । त्यस्तै कालोपत्रे ५८८ र ग्राभेल ७३ किलोमिटर छ । प्रदेश ७ मा भने कुल १ हजार ४०५ किलोमिटर सडकमध्ये कालोपत्रे ८४८, ग्राभेल १६२ र धुले ३९५ रणनीतिक सडक छ ।
नयाँ पत्रिकाबाट