ई–आर्थिक, काठमाडौं । अग्रिम सेयर निष्कासन (एफपीओ) मार्फत बिक्री भएको सेयरको प्रिमियममा कर छुट दिन निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग परिसंघ र नेपाल बैंकर्स संघले संयुक्त रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर यस्तो माग गरेका हुन् । भेटमा प्रधानमन्त्री दाहालले एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने सरकारी निर्णय सम्बन्धमा समाधान खोज्न सकारात्मक पहल गर्ने जनाएको परिसंघको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा परिसंघ र संघले संयक्त रूपमा एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णयले पारेको असरका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । ‘उक्त भेटमा प्रधानमन्त्री प्रचण्डले यस विषयको दीर्घकालीन समाधानका लागि प्रक्रिया अगाडि बढाउनेसमेत बताउनुभयो,’ विज्ञप्तिमा भनिएको छ ।
पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएका केही कम्पनी तथा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो चुक्ता पुँजी वृद्धि गर्न एफपीओमार्फत पुँजी वृद्धि गरेका थिए । त्यस समयमा यसरी वृद्धि गरिएको एफपीओमा कर लगाइएको थिएन । तर महालेखा परीक्षकको कार्यालयले ५८औं वार्षिक प्रतिवेदनमार्फत विभिन्न पब्लिक लिमिटेड कम्पनीले पुँजी वृद्धि प्रयोजनका लागि जारी गरेको एफपीओमा कर लाग्ने ठहर गर्दै ती कम्पनीबाट कर असुल गर्नुपर्ने जनाएको थियो । कर कानुनमा व्यवस्था नभएको विषयमा करारोपण गर्ने विषयले लगानी प्रवर्द्धन गर्ने तथा नेपालको अर्थतन्त्रको आकार बढाउने सरकारको नीतिमा नकारात्मक असर पुग्ने बुझाइ निजी क्षेत्रको छ ।
एफपीओमार्फत बिक्री भएको सेयर प्रिमियम रकममा कर लगाउने निर्णय कार्यान्वयनले नेपालमा निजी क्षेत्रद्वारा प्रवर्द्धित उद्योग तथा व्यवसाय लिमिटेड कम्पनीमा रूपान्तरण नहुने तथा हाल सञ्चालनमा रहेका कम्पनीहरूले आफ्नो आकार बढाई अर्थतन्त्रमा थप योगदान दिन नसक्ने अवस्था सिर्जना हुन सक्नेतर्फ सचेत हुनुपर्नेमा परिसंघले जनाएको छ ।