२०८३ साउन १८ सोमबार

शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

ई आर्थिक    सोमबार, साउन १८ २०८३
95
Shares
शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मंगोलियाका पूर्वप्रधानमन्त्री तथा मंगोलियन चेस फेडेरेशनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा भएको भेटमा नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्धको स्मरण गर्दै द्विपक्षीय सम्बन्ध, साझा हित तथा बहुआयामिक सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको थियो । साथै, विद्यालय शिक्षामा विशेषगरी चेस खेलको प्रवद्र्धन तथा भविष्यमा खेलकुदका क्षेत्रमा गर्न सकिने सहकार्यका विषयमा विचारविमर्श भएको थियो ।

भेटका क्रममा मन्त्री पोखरेलले नेपाल र मंगोलियाबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक निकटताबारे उल्लेख गर्दै आगामी दिनमा दुई देशबीचको बहुआयामिक सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले शिक्षा तथा खेलकुदका क्षेत्रमा, विशेषगरी चेस खेलको प्रवद्र्धनका लागि, मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशनसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताउनुभयो। नेपाल विद्यालय शिक्षामै खेलकुदलाई प्रभावकारी रूपमा समायोजन गर्दै अघि बढिरहेको उल्लेख गर्दै उहाँले यस दिशामा मन्त्रालय सकारात्मक रहेको जानकारी दिनुभयो। साथै, नेपाल चेस महासंघ र मंगोलियन चेस फेडेरेशनबीच सहकार्यको वातावरण निर्माण गर्न मन्त्रालयले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

पूर्वप्रधानमन्त्री जान्दानशातारले नेपाल र मंगोलियाबीचको लामो कूटनीतिक सम्बन्ध, समान भौगोलिक अवस्था तथा सांस्कृतिक विशेषताबारे चर्चा गर्दै दुवै देश भूपरिवेष्ठित राष्ट्र भएकाले धेरै साझा अनुभव र सम्भावना रहेको उल्लेख गर्नुभयो।

उहाँले चेस केवल खेल मात्र नभई शिक्षाको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै मंगोलियाले दक्षिण एसियाका विभिन्न देश तथा विश्वका अन्य मुलुकसँग सहकार्य गरी विद्यालय शिक्षामै चेसलाई समायोजन गर्ने कार्य लामो समयदेखि गर्दै आएको जानकारी दिनुभयो। साथै, उक्त अनुभव नेपालसँग पनि आदानप्रदान गर्न तथा शिक्षा तथा खेलकुद मन्त्रालयसँग सहकार्य गर्न मंगोलिया पूर्ण रूपमा तयार रहेको बताउनुभयो ।

जान्दानशातारले चेसले विद्यार्थीमा समालोचनात्मक सोच, विश्लेषणात्मक क्षमता, निर्णय गर्ने सीप, समस्या समाधान गर्ने दक्षता तथा बौद्धिक विकास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले मंगोलियामा विद्यालय शिक्षामै चेसलाई एकीकृत गरी सफलतापूर्वक कार्यान्वयन गरिएको अनुभव साझा गर्दै नेपाल चेस महासंघसँग सहकार्य गरी नेपालको विद्यालय शिक्षामा पनि चेसलाई प्रवद्र्धन गर्न मंगोलियन सरकार तथा मंगोलियन चेस फेडेरेशन आवश्यक सहयोग र सहकार्य गर्न तत्पर रहेको पुनः प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij