ई–आर्थिक, काठमाडौं । काठमाडौंको थापाथलीमा रहेको नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ ।
नेपालमा निजीक्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई विस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणा अन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको अस्पतालले जानकारी दिएको छ ।
योसँगै ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’ बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड’ भएको छ ।
पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निश्कासन (आइपीओ) समेत गर्ने छ ।
यसरी नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।