२०८३ साउन १९ मंगलबार

काभ्रेपलाञ्चोकमा सिँचाइयोग्य जमिनको ४५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा विस्तार

ई आर्थिक    मंगलबार, साउन १९ २०८३
95
Shares
काभ्रेपलाञ्चोकमा सिँचाइयोग्य जमिनको ४५ प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा विस्तार

बनेपा (काभ्रेपलाञ्चोक)। काभ्रेपलाञ्चोक जिल्लामा सिँचाइयोग्य कुल खेतीयोग्य जमिनमध्ये ४५ प्रतिशतभन्दा बढी क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/०८३ सम्म जिल्लाको २८ हजार ७७१ हेक्टर सिँचाइयोग्य जमिनमध्ये १२ हजार ९५६ हेक्टरमा सिँचाइ सुविधा विस्तार गरिएको छ।

डिभिजन प्रमुख इन्जिनियर राजकुमार तण्डुकारका अनुसार जिल्लामा कुल ५८ हजार १२३ हेक्टर खेतीयोग्य जमिन रहेको छ। तीमध्ये करिब आधा क्षेत्र सिँचाइयोग्य भए पनि हालसम्म ४५.०३ प्रतिशत क्षेत्रमा मात्रै व्यवस्थित सिँचाइ सुविधा उपलब्ध गराइएको छ।

एक वर्षमा ९३२ हेक्टरमा सिँचाइ विस्तार

समीक्षा अवधिमा खानीखोला गाउँपालिका–२ को भाङटारबेँसी बृहत् सिँचाइ योजना र चौँरीदेउराली गाउँपालिका–२ स्थित दुतीबेँसी पुरानो कुलो सिँचाइ योजनामार्फत थप १५ हेक्टर जमिनमा नयाँ सिँचाइ सुविधा पुगेको छ।

यस्तै पुनर्निर्माण योजनाअन्तर्गत १० हेक्टर तथा सिञ्चित क्षेत्र सुदृढीकरण (पुनर्निर्माण तथा मर्मत) कार्यक्रममार्फत ९१७ हेक्टरमा सिँचाइ सेवा पुनः सञ्चालन भएपछि आर्थिक वर्षभरिमा कुल ९३२ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको कार्यालयले जनाएको छ।

ठूला सिँचाइ योजनामा पनि विस्तार

गत आर्थिक वर्षमा पनौती नगरपालिका–४ र ८ को लीलावती बृहत् सिँचाइ योजना (४० हेक्टर), पनौती–९ र १० को नौबिसे फाँट (२५ हेक्टर), पाँचखाल नगरपालिका–१ र ३ को धनेको बाँध–सहेले पोखरी सिँचाइ योजना (२० हेक्टर) तथा बनेपा नगरपालिका–२, ३ र ४ को माँझकुलो सिँचाइ योजना (२० हेक्टर) मा सिँचाइ सुविधा विस्तार गरिएको छ।

त्यसैगरी, विभिन्न सिँचाइ योजनाको मर्मत तथा पुनः सञ्चालनमार्फत थप ८१२ हेक्टर क्षेत्रफलमा सिँचाइ सेवा पुनः सुचारु गरिएको कार्यालयले जनाएको छ।

पूर्वाधार निर्माणमा पनि प्रगति

डिभिजन कार्यालयका अनुसार गत आर्थिक वर्षमा करिब ३ किलोमिटर पक्की नहर, १२ किलोमिटर ७१२ मिटर पाइपलाइन, १७ वटा साइड इन्टेक, ३५ वटा सिँचाइ संरचना तथा १६ वटा पोखरी निर्माण गरिएको छ।

नदी तथा पहिरो नियन्त्रणतर्फ ६४३ मिटर ग्याबिन पर्खाल, ३३ मिटर आरसीसी संरचना, करिब ७.५ किलोमिटर प्लम कङ्क्रिट तथा २.५ किलोमिटर आरआरएम रिटेनिङ पर्खाल निर्माण गरिएको छ।

ऊर्जा पूर्वाधारअन्तर्गत ३५ वटा सोलार स्ट्रिट लाइट र एक सेट सोलार पम्प जडान गरिएको कार्यालयले जनाएको छ।

धेरै योजना सञ्चालनमा

गत आर्थिक वर्षमा जिल्लाका १०७ वटा सतह सिँचाइ योजनामध्ये ४५ वटामा नियमित रूपमा पानी सञ्चालन भएको छ। साथै, नदी तथा पहिरो नियन्त्रणसम्बन्धी ४९ योजनामध्ये १३ वटा योजना सम्पन्न भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij