४ चैत, काठमाडौं । विभिन्न कारणले अघिल्लो वर्षसम्म घाटामा गइरहेको सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले यस वर्ष अधिकतम मुनाफा आर्जन गर्न सफल भएको छ ।
उद्योग मन्त्रालयले उदयपुर सिमेन्ट उद्योग कारखाना चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा ४ करोड ६५ लाख मुनाफा आर्जन गर्न सफल भएको बताएको हो । उद्योग गतवर्षको यही अवधिमा २ करोड ७० लाख घाटामा थियो ।
उद्योग मन्त्री नविन्द्रराज जोशीले सरकारको कडा निगरानी र कर्मचारीहरुको अथक मेहनतका कारण उदयपुर सिमेन्ट उद्योग मुनाफा आजर्न गर्न सफल भएको बताउनुभयो । विहिबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उहाले उद्योगमा हाल २ लाख बोरा सिमेन्ट मौज्दात रहेको र त्यसको विक्री गर्दा नाफा ११ करोड ६५ लाख रुपैयाँ पुग्ने स्पष्ट पार्नुभयो ।
मन्त्री जोशीले लक्ष्यको ९५ प्रतिशत सिमेन्ट उत्पादन गरेका कारण तथा प्रशासनिक खर्च घटाएका कारण उद्योग नाफा कमाउन सफल भएको बताउनुभयो ।
उद्योगले माघ र फागुन महिनामा लक्ष्यको १ सय ५६ प्रतिशत बढी अर्थात ३५ हजार ५ सय मेट्रिक टन सिमेन्ट उत्पादन गरेको छ ।
उद्योगमन्त्री जोशीले उद्योगले दैनिक ७ सय ८ टनका दरले सिमेन्ट उत्पादन गरिरहेको जानकारी दिए । ३० वर्ष अगाडि स्थापना भएको उद्योगको यो उत्पादन १७ वर्षयताकै सबैभन्दा धेरै हो ।
उत्पादन बढाएको उद्योगले प्रशासनिक खर्च १ करोड ५० लाख, कोइला र विजुलीको लागत ३९ प्रतिशत तथा डिलरलाई दिने कमिशन ४० लाख रुपैयाँ घटाएको जानकारी दिंदै मन्त्री जोशीले यो आर्थिक वर्ष २५ करोड रुपैयाँ नाफा कमाउने लक्ष्य लिइएको बताए ।
६ अर्ब २० करोड ४३ लाख रुपैयाँ पुँजी रहेको उदयपुर सिमेन्टले सरकारसँग लिएको २ अर्ब २१ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ ।
उद्योगले आर्थिक वर्ष २०७१÷०७२ मा १७ करोड ९० लाख घाटा व्यहोरेको थियो । अर्थ मन्त्रालयका अनुसार उद्योगको संचित घाटा ३ अर्ब ७१ करोड २८ लाख रुपैयाँ रहेको छ ।