प्रक्षेपण गर्ने अमेरिकी कम्पनी
जापानी क्युटेक विश्वविद्यालयको प्राविधिक सहयोगमा नेपाली वैज्ञानिक आभास मास्के र हरिराम श्रेष्ठले करिब डेढ वर्ष लगाएर नानो स्याटलाइट तयार गरेका हुन् । एक किलो तीन सय ग्राम तौल रहेको स्याटलाइटको लम्बाइ, चौडाइ र उचाइ १०–१० सेन्टिमिटर मात्रै छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का उपकुलपति डा. सुनीलबाबु श्रेष्ठका अनुसार यसलाई बनाउन नेपाल सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्च गरेको छ । २८ असोज ०७४ मा अर्थमन्त्रीस्तरीय निर्णयबाट नास्टले जापानी विश्वविद्यालयसँग भूउपग्रह निर्माणका लागि सम्झौता गरेको थियो ।
नेपाल, श्रीलंका र भुटानको गरी तीनवटा भूउपग्रहको प्रक्षेपण अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेले एकैपटक गर्ने भएको छ । सो कम्पनीसँग प्रक्षेपणका लागि सम्झौता भई स्याटलाइटसमेत हस्तान्तरण भइसकेको उपकुलपति श्रेष्ठले बताए । उनका अनुसार सो कम्पनीको सिग्नस रकेटले स्याटलाइट उडाउनेछ । अन्तरिक्षमा पुगेपछि एक महिनाको अवधिसम्म इन्टरनेसनल स्पेस स्टेसनमा स्याटलाइटको पुनः परीक्षण हुनेछ । त्यसपछि मात्रै स्पेस स्टेसनबाट तिनलाई पृथ्वीको कक्षमा छाडिनेछ । र, तिनले तथ्यांक पठाउन सुरु गर्नेछन् ।
नेपालबाटै तथ्यांक संकलन
अन्तरिक्षमा छाडिएको स्याटलाइट पृथ्वीभन्दा करिब चार सय किलोमिटर माथि रहनेछ । त्यसले करिब ९० मिनेटमा एकपटक पृथ्वीलाई परिक्रमा गर्छ । जसअनुसार एक दिनमा नेपालको आकाशमा ५ देखि ८ मिनेटसम्म रहन्छ । यसले पठाएको तथ्यांक नास्टमै बनिरहेको ग्राउन्ड स्टेसनमा बसेर संकलन गरिनेछ । ३० लाख रुपैयाँको लागतमा वैशाख मसान्तभित्र सक्ने गरी ग्राउन्ड स्टेसन निर्माणको तयारी भइरहेको छ । स्टेसन बनाउन मेकानिकल इन्जिनियर रोशन पाण्डे जापानबाटै तालिम लिएर फर्किसकेका छन् ।
थप स्याटलाइट पनि बनाइने
नेपाली स्याटलाइट–१ प्रक्षेपणसँगै नेपालले अन्य देशसँगको सहकार्यमा थप स्याटलाइट निर्माण र परीक्षणसमेत गर्ने भएको छ । ‘यो उपग्रहको नाम नेपाली स्याटलाइट–१ राखिएको छ । हामी यसबाट प्राप्त अनुभवका आधारमा क्रमशः २, ३, ४ र ५ सम्म विस्तारित र थप प्रयोगहरू गर्दै अन्य भूउपग्रहसमेत बनाउँछौँ,’ नास्टका प्रविधि विभाग प्रमुख डा. रवीन्द्र ढकालले भने । नास्टले अन्य भूउपग्रहहरूको निर्माण र अध्ययनका लागि प्रयोगशालासमेत निर्माण गर्न लागेको उनले बताए । नानो स्याटलाइट निर्माणबाट प्राप्त अनुभव ठूला स्याटलाइट बनाउन प्रयोग गर्न सकिने उनको भनाइ छ ।
भूउपग्रहले यसरी गर्नेछ कामअन्तरिक्षमा पुगेपछि नानो स्याटलाइटले जलवायु परिवर्तन, दैनिक मौसम र विपद्सम्बन्धी पूर्वजानकारी दिने तस्बिरहरू खिचेर पठाउनेछ । यसबाट प्राप्त तथ्यांक अध्ययनबाट नेपालले थुप्रै्र उपलब्धि लिन सक्ने नास्टका प्रविधि विभागका प्रमुख डा. रवीन्द्र ढकालले बताए । यो स्याटलाइट तीन वर्षसम्म अन्तरिक्षमा रहनेछ । नेपाली वैज्ञानिककै नेतृत्वमा श्रीलंका र भुटानको पनि सानो आकारको स्याटलाइट बनाइएको ढकालले बताए । क्युटेक विश्वविद्यालयकै सहयोगमा तीनै देशका स्याटलाइट बनाइएको हो ।
ठूला स्याटलाइट पनि बनाउन सक्छौँ

क्युटेक विश्वविद्यालय, जापान
स्याटलाइट निर्माण कसरी गर्नुभयो ? यो कसको योजना हो ?
स्याटलाइट बनाउने प्रस्ताव सुरुमा मैले नै नास्टसँग राखेको हुँ । जापानमा यही विषयमा पिएचडीका लागि मैले आवेदन दिएको थिएँ । जापानले छात्रवृत्ति दिएपछि म र हरि (हरिराम श्रेष्ठ)जी नास्टमार्फत नेपाल सरकारको सहयोगमा क्युटेक विश्वविद्यालयसँग आबद्ध भयौँ । यो प्रोजेक्टका लागि हाम्रो आठजनाको टिम छ । त्यसमा हामी दुई नेपाली छौँ । भुटान, फिलिपिन्स र जापानका पनि दुई–दुईजना छन् । नेतृत्वचाहिँ मैले गरेको छु । स्याटलाइट बनाउन करिब एक वर्षको समय लाग्यो । करिब ६ महिना यसको पूर्वपरीक्षण गर्न लाग्यो । अब प्रक्षेपणको तयारी छ । हामीले यही चरणमा जापानबाहेक भुटानको पनि पहिलो स्याटलाइट बनायौँ । पाराग्वे र फिलिपिन्सको पनि पहिलो स्याटलाइट बनाउँदै छौँ ।
स्याटलाइट पठाएर नेपाललाई के फाइदा छ ?
नेपालको पहिलो भूउपग्रह बनेको छ, देशका लागि यो नै ठूलो उपलब्धि हो । नेपालको आफ्नै जनशक्ति यसमा दक्ष बनेको छ । प्रविधिको विकास गरेर अब नेपालमै अरू स्याटलाइट बनाउन सक्छौँ । अहिले तयार भएको भूउपग्रहले अन्तरिक्षबाट नेपालको तस्बिर खिच्छ । जसलाई हामीले नेपालमै बसेर अध्ययन गर्न सक्छौँ । यसलाई व्यावसायिक प्रयोजनमा पनि प्रयोग गर्न सकिन्छ । सञ्चारका लागि पनि स्याटलाइटको प्रयोग गर्न सकिन्छ । त्यो उद्देश्यसम्म पुग्नका लागि यो हाम्रो पहिलो खुड्किलो हो ।
नेपालमा अरू के सम्भावना छ ? सरकारले के गर्नुपर्छ ?
यस्तै प्रविधिबाट ठूला स्याटलाइट पनि बनाउन सकिन्छ । नानो स्याटलाइट एक युनिटको हो । यस्तै प्रकृतिको तीन युनिटसम्मको बनाउन सकिन्छ । यसका लागि नास्ट सकारात्मक छ । स्याटलाइटका लागि ग्राउन्ड स्टेसनहरू विश्वभर १५–१६ वटा मात्रै छन् । त्यस्तै राम्रो ग्राउन्ड स्टेसन नेपालमा पनि बन्न लागेको छ । यो अर्को खुसीको कुरा हो । स्याटलाइट बनाउन आवश्यक उपकरण र सामग्रीहरू नेपालमा उपलब्ध छैनन् । सरकारले आवश्यक नीति बनाएर पर्याप्त बजेटको व्यवस्था गरिदिनुपर्छ । अनुसन्धान र प्रयोगलाई प्रोत्साहन गर्नुपर्छ ।
(जापानमा रहेका मास्केसँग टेलिफोनमा गरिएको कुराकानी)
नयाँ पत्रिकाबाट