काठमाडौँ, ६ भदौ : अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट खटिएको अनुगमन टोलीलाई दुव्र्यवहार गरेपछि विवाद हुँदा काठमाडौँ उपत्यकाको मुख्य तरकारी बजार बन्द रहेको थियो । व्यापारी विष्णु कँडेलका अनुसार व्यापारी र सरकारी अनुगमन टोलीबीच गत सोमबार विवाद भएपछि बन्द बजार आजदेखि खुलेको हो । तर पनि पहिलेको जति चहलपहल भने हुनसकेको छैन् ।
यसअघि दैनिक साढे ५ सय टनसम्म तरकारी तथा फलफूल भित्रिने गरेको थियो । आज भने करीब चार सय टन मात्र आएको व्यापारी कँडेलले भन्नुभयो । पछिल्लो समय सरकाले बजार अनुगमन दैनिक रुपमा नै गर्दै आएको छ ।
अनुगमन टोलीले यसअघि धादिङ, चितवन, मकवानपुरलगायत जिल्लामा पुगी किसानले पाउने र उपभोक्ताले तिर्ने मूल्यबारे जानकारी लिएको थियो । किसानले पाउने मूल्यको चार गुणा बढीसम्म व्यापारीले उपभोक्ताबाट रकम लिने गरेकोले अनुगमनको क्रममा पाइएको थियो । अनुगमन टोलीलाई विरोध गर्न मुख्यभूमिका खेलेको भन्दै फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष भरत खतिवडालाई पक्राउ गरिएको थियो । सरकारी अनुगमनको विरोधमा उत्रिएका व्यवसायीले मङ्गलबार अबेर मात्र आन्दोलन फिर्ता लिएका थिए ।
अनुगमन जानकारी बिनानै गर्ने र अब गरिने जुनसुकै क्षेत्रको अनुगमनमा विरोध गरे सरकारले कारवाही गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो ।
तरकारी बजार केन्द्र निर्माण हुने
दाङ, ६ भदौ : तुलसीपुर उपमहानगरपालिकाले आधुनिक तुलसीपुर तरकारी तथा फलफूल कृषि बजार केन्द्र निर्माण गर्ने भएको छ । बजार क्षेत्रभित्र रहेका अव्यवस्थित तरकारी तथा फलफूललगायत कृषि उपज बजारलाई व्यवस्थित गर्नका लागि बजार केन्द्र निर्माण गर्न लागेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो ।
रु एक करोड ८० लाखको लागतमा निर्माण हुनथालेको बजार केन्द्र तुलसीपुर उपमहानगरपालिका–६ मा रहेको सेन्टर माविको १० कठ्ठा जमीनमा निर्माण गरिने नगर प्रमुख पाण्डेले जानकारी दिनुभयो ।
सो बजार केन्द्रको निर्माणका लागि यहाँका तरकारी तथा फलफूल व्यवसायीले रु ८० लाख र अन्य बाँकी रकम उपमहानगरपालिकाले लगानी गर्ने अधिकृत ललितबहादुर घर्तीले जानकारी दिनुभयो ।
बजार केन्द्रको स्थापना भएपछि सडक किनारमा कृषकले तरकारी बेच्ने क्रमको अन्त्य हुने अपेक्षा गरिएको छ । बजार केन्द्रमा कृषकका उत्पादन गरेको तरकारी बिक्री गर्नका लागि पनि ठाउँ राखिने छ ।
।
“व्यवसायीका लागि मात्रै भन्दा पनि कृषकका लागि पनि काम लागोस् भन्ने सोचका साथमा हामीले केन्द्रको स्थापना गर्न थालेका हौ” नगरप्रमुख पाण्डेले भन्नुभयो ।
बजार केन्द्रको स्थापना हुने भएपछि अहिले तरकारी तथा फलफूल व्यापारीमा उत्साह छाएको छ । “तरकारी बजारको व्यवस्थापनका लागि बजार केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ” तरकारी व्यवसायी झुपलाल खड्काले भन्नुभयो ।
तुलसीपुरलाई स्मार्ट सिटी बनाउनका लागि बजार केन्द्र स्थापना अपरिहार्य रहेको भन्दै यसले तुलसीपुरको सुन्दरतालाई बढाउँदै लैजाने तुलसीपुर उपमहानगरपालिकाका ६ का वडाध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।
विद्यालयको जग्गा व्यवस्थापनसँगै तुलसीपुरमा रहेको तरकारी तथा फलफुल बजार व्यवस्थित गर्नका लागि विद्यालयले जग्गा २० वर्षका लागि भाडामा दिएको सेन्टर माविका प्रधानाध्यापक भागवत पौडेलले जानकारी दिनुभयो ।
।
उहाँले बजार केन्द्र वैज्ञानिक ढङ्गले निर्माण गरिने भएकाले विद्यालयलाई कुनै पनि प्रभाव नपर्ने पनि बताउनुभयो ।
सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर
बनियानी, झापा, ६ भदौ : झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् ।
परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि आंैजारको प्रयोग गर्न थालेका छन् ।
कचनकवल–६ बनियानीका कृृषक कालीबहादुर लिम्बूले परम्परागतशैली छाडेर आधुनिक प्रविधिबाट धानखेती गर्नुभएको छ ,उहाँले ड्रम सिडर मेसिनको प्रयोगबाट छरुवा धानखेती गर्नुभएको हो ।
‘न धानको ब्याड राख्नुपर्ने, न त उखेल्नु नै पर्ने, साह्रै सजिलो लाग्यो’, कृषक लिम्बूले भन्नुभयो, “पहिला धेरै खेताला लगाउनुपथ्र्यो, त्यो भन्दा पनि काम गर्ने मान्छे नै नपाइने, नयाँ तरिकाले खेती गर्दा खर्च पनि कम भएको छ ।” उहाँले आधुनिक कृषि प्रविधि र कृषि आंैजारको प्रयोगबाट राम्रो उत्पादन गर्न सकिने बताउनुभयो ।
सुपरजोन परियोजना अन्तर्गत ५० प्रतिशत अनुदानमा उहाँले एउटा पावरट्रेलरसमेत खरिद गर्नुभएको छ । खेत जोत्ने, सम्याउने र धान काट्ने तीन वटै काम उक्त मेसिनबाट हुने उहाँले बताउनुभयो ।
त्यस्तै, उहाँले जैविक मल उत्पादनसमेत गर्न थाल्नुभएको छ । गड््यौलाले मलको प्रयोग गरेर अग्र्यानिक कृषिउपज उत्पादन गर्ने उहाँको योजना छ ।
त्यस्तै, कचनकवल–६ का अर्का किसान डिल्ली नेपालले पनि ड्रम सिडर मेसिनको प्रयोग गरेर छरुवा धानखेती गर्नुभएको छ । उहाँले स्वर्ण १ र लल्का बासमती जातको धान लगाएको बताउनुभयो । ‘उन्नत प्रविधिको प्रयोगले खेती गर्न सहज भएको छ’, उहाँले भन्नुभयो, “कम खर्चमै राम्रो उत्पादन लिन सकिने भएपछि यसतर्फ लागे” । कचनकल–७ जुनेली कृषि सहकारी संस्थाका व्यवस्थापक अर्जुन लामाले खर्च घट्ने र उत्पादन बढ्ने बुझेपछि सहकारी आवद्ध कृषि आधुनिक प्रविधितर्फ आकर्षित भएको बताउनुभयो ।
‘अहिले धेरै कृषकले पावरट्रेलरको माग गरेका छन्, खेती गर्ने शैली नै परिवर्तन भइसक्यो’, जुनेलीमा ३९४ कृषक आवद्ध रहेको बताउँदै लामाले भन्नुभयो, “अहिले २०÷२१ घरमा मुस्किलले एक हल गोरु पाइन्छ ।”
यस वर्ष सुपरजोन क्षेत्रमा धान रोपाइँ सम्पन्न भइसकेको छ । यहाँ नौ हजार हेक्टरमा धानखेती गरिएको छ । जसमध्ये दुई हजार हेक्टरमा सुपरजोनमा आवद्ध किसानले धानखेती गरेको सुपरजाने परियोजना कार्यान्वयन इकाइ बनियानीका वरिष्ठ कृषि विकास अधिकृत मेघनाथ तिमलसेनाले जानकारी दिनुभयो ।