२०८३ साउन ९ शनिबार

वर्षमा २३ खर्बका वस्तु उपभोग, साढे १२ खर्बको विदेशी

ई आर्थिक    मंगलबार, साउन २२ २०७५
3.8K
Shares
वर्षमा २३ खर्बका वस्तु उपभोग, साढे १२ खर्बको विदेशी
कृष्ण रिजाल, काठमाडाैं। उपभोग्य वस्तुमा नेपालीको परनिर्भरता बढेको छ । स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनुपरेको हो । तथ्यांकअनुसार स्वदेशीभन्दा विदेशी आयातीत वस्तुको उपभोग नेपालीले ६% बढी गर्ने गरेका छन् ।

हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँबराबरको वस्तु उपभोग गर्ने गरेका छन् । यसमध्ये गत आर्थिक वर्ष ०७४/०७५ मा नेपालमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन् । यसलाई आधार मान्दा नेपालीले ५३ प्रतिशत विदेशी वस्तु उपभोग गर्ने गरेको देखिन्छ ।

कुल वस्तु उपभोगमा स्वदेशी उत्पादनको हिस्सा ४७ प्रतिशत मात्रै छ । अर्थात्, नेपालीले १० खर्ब ९८ अर्ब २३ करोड २१ लाख रुपैयाँबराबरको स्वदेशी वस्तु खपत गर्ने गरेको तथ्यांकले देखाउँछ ।

नेपालले औद्योगिक कच्चा पदार्थ, इन्धन, मेसिनरी तथा पार्टस्, सवारीसाधन, विद्युतीय सामग्रीदेखि खाद्यवस्तु, फलफूल तथा तरकारी, लत्ताकपडा, औषधि, मदिरा, चुरोट–सुर्ती, सुनचाँदीलगायत सबै प्रकारका वस्तु आयात गर्ने गरेको छ । सरकारले कृषि तथा औद्योगिक उत्पादन बढाउँदै आत्मनिर्भर बन्दै जाने नीति लिए पनि परनिर्भरता झन्–झन् बढ्दै गएको देखिन्छ । खासगरी रेमिट्यान्समा आधारित उपभोग वृद्धिसँगै आयातसमेत उच्चदरमा बढ्दै गएको हो ।

१४४ देशबाट आयात
नेपालीले खपत गर्ने (औद्योगिक समेत) वस्तु विश्वका एक सय ४४ मुलुकबाट आयात हुने गरेको छ । नेपालले सातैवटा महादेशका मुलुकबाट आफूले उपभोग गर्ने वस्तु ल्याउने गरेको छ । नेपालमा सबैभन्दा बढी आयात भारतबाट भएको छ । भन्सार विभागका अनुसार गत आवमा भारतबाट आठ खर्ब १० अर्ब ९० करोडका वस्तु आयात भएका छन् ।

त्यस्तै, चीनबाट एक खर्ब ५९ अर्ब ९८ करोड रुपैयाँका वस्तु आयात भएका छन् । सबैभन्दा कम आयात दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट भएको छ । उक्त देशबाट एक लाख २० हजार रुपैयाँबराबरका बिउ, धागो, कपडालगायत वस्तु आयात भएका छन् । भन्सार विभागका अनुसार गत वर्ष नेपालले कुल एक सय ५५ मुलुकसँग व्यापार गरेको छ । जसमध्ये एक सय ३० सँगको व्यापारमा नेपालले घाटा व्यहोरेको भन्सार विभागको तथ्यांक छ ।

निर्यातको तुलनामा १५ गुणा बढी आयात
नेपालको वैदेशिक व्यापार झन् असन्तुलित बन्दै गएको छ । निर्यातको तुलनामा आयात उच्चदरमा बढ्दै जाँदा व्यापार घाटा चुलिँदै गएको छ । गत आव ०७४/७५ मा नेपालले कुल ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ व्यापार घाटा व्यहोरेको छ ।

यो अघिल्लो आव ०७३/७४ को भन्दा २७.५३ प्रतिशतले बढी हो । समीक्षा आवमा १२ खर्ब ४३ अर्ब २९ लाख रुपैयाँबराबरका वस्तु आयात भएका छन् । तर, निर्यात भने एक खर्बको पनि हुन सकेन । त्यस अवधिमा नेपालको निर्यात भने ८१ अर्ब १९ करोड रुपैयाँमै खुम्चिएको भन्सार विभागको तथ्यांक छ ।

धानचामल, फलफूल र तरकारीमै पौने २ खर्ब जान्छ
दैनिक उपभोग्य वस्तुहरु धानचामल, फलफूल तथा तरकारीकै लागि नेपलाबाट वर्षेनी सवा खर्ब विदेशीने गरेको छ । अघिल्लो आवमा नेपालमा २९ अर्ब ३६ करोड ३४ लाख रुपैयाँको धान र चामल आयात भएको छ ।

त्यस्तै, घ्यू तथा तेलका लागि २९ अर्ब ७२ करोड ४९ लाख, फलफूलका लागि १४ अर्ब ५२ करोड ३ लाख, तरकारीका लागि २५ अर्ब ८३ करोड, गेडागुडी तथा अन्नका लागि ४४ अर्ब ५२ करोड ५ लाख रुपैयाँ र चिया–कफिका लागि १० अर्ब ७४ करोड ७४ लाख रुपैयाँ विदेशीएको भन्सार विभागको तथ्यांक छ ।

विभागकाअनुसार उक्त आवमा ८ अर्ब ६० करोड ५२ लाख रुपैयाँ बराबरका जिउँदो पशुपंक्षी, पशुपंक्षीका मासुलगायत उत्पादन आयात भएका छन् ।

सोही अवधिमा तेलहन गेडागुडी तथा फलफूलका लागि ११ अर्ब ३४ करोड ३१ लाख, चिनीका लागि १३ अर्ब ७२ करोड ४९ लाख रुपैयाँ विदेशीएको छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij