२०८३ साउन १० आइतबार

कर्णालीमा स्याउ–समृद्धि

ई आर्थिक    शनिबार, जेष्ठ १९ २०७५
4.4K
Shares
कर्णालीमा स्याउ–समृद्धि
कलेन्द्र सेजुवाल, एलपी देवकोटा, जेष्ठ १९, २०७५ । सडकलगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै कर्णालीमा अधिकांश स्थानीयवासी स्याउको व्यावसायिक खेतीमा लागेका छन् । उनीहरूको आर्थिक हैसियत माथि उठेको छ । अधिकांश घरमा स्याउका बगैंचा देखिन्छन् ।

सुर्खेत/जुम्ला — केही वर्षअघिसम्म रहरले स्याउ लगाउने जुम्ला, पातारासीकी चैती बिष्ट अहिले व्यावसायिक कृषक बनेकी छन् । उनको बगैंचामा स्याउका करिब चार सय बिरुवा छन् । ७० वर्षीया बिष्टलाई ढल्किँदो उमेरमा पनि फलखेतीले उत्तिकै व्यस्त बनाएको छ ।

दशकअघि सुर्खेत–जुम्ला सडक खुलेपछि कर्णालीको स्याउले बजार पाउन थालेको हो । त्यसअघि जुम्ला, मुगु र कालिकोटमा उत्पादित स्याउ बगैंचामै सड्थ्यो ।‘पहिले स्याउ लगाएर मात्र के गर्नु, बिक्री गर्ने ठाउँ हुन्थेन,’ उनी भन्छिन्, ‘अहिले त ग्राहक घरमै आउँछन्, बिक्री नभए पनि सेलार स्टोरमा राखेर बेसिजनमा बिक्री गर्छौं ।’

सडकलगायत पूर्वाधार र अन्य सुविधा पुगेसँगै कर्णालीमा चैतीजस्ता थुप्रै स्थानीयबासी स्याउसँग जोडिएका छन् । उनीहरूको आर्थिक हैसियत पनि माथि उठेको छ । सरकारले प्रोत्साहनको नीति लागू गरेपछि परम्परागत रूपमा थोरै स्याउ लगाउने किसान व्यावसायिक खेतीमा लागेका छन् । उत्पादन ह्वात्तै बढेको छ । सुर्खेतस्थित क्षेत्रीय कृषि निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७३/७४ मा कर्णाली प्रदेशमा १८ हजार ६ सय ५० टन स्याउ उत्पादन भएको थियो । यसले एक अर्ब ४९ करोड २० लाख रुपैयाँ कमायो । चालु आर्थिक वर्षको पूर्ण विवरण नआए पनि उत्पादन बढेको निर्देशनालयका अधिकृत पूर्णबहादुर थापा बताउँछन् । ‘स्याउ खेतीमा सरकारले पनि थुप्रै लगानी गरेको छ, सेवासुविधा पुग्दा किसान पनि उत्साही छन्,’ उनले भने, ‘यसको प्रभावले कर्णाली क्षेत्रमा स्याउखेती फस्टाएको छ ।’

करिब दशकअघि सुर्खेत–जुम्ला सडक खुलेपछि कर्णालीको स्याउले बजार पाउन थालेको हो । त्यसअघि जुम्ला, मुगु र कालिकोटका ग्रामीण क्षेत्रमा उत्पादन हुने स्याउको ठूलो मात्रा बगैंचामै सड्थ्यो । केही स्याउ कौडीको भाउमा जिल्ला सदरमुकाममै बिक्री हुन्थ्यो । पहँुचवाला व्यवसायीले मात्र जहाजबाट सुर्खेत, नेपालगन्जसम्म पुर्‍याउँथे ।

जुम्लामा मात्र गत वर्ष ३ हजार ४ सय ५० टन स्याउ उत्पादन भएको थियो । त्यसबापत जिल्लामा करिब १६ करोड रुपैयाँ भित्रिएको जिल्ला कृषि विकास कार्यालयको भनाइ छ । कृषिविकास अधिकृत भरतप्रसाद कँडेल स्याउखेती बर्सेनि बिस्तार हुँदै गएको बताउँछन् । जुम्लामा एक नगरपालिकासहित सातै गाउँपालिका स्याउखेतीका लागि उपयुक्त मानिन्छन् । पूर्वाधार विस्तारसँगै स्याउको बजारीकरण सहज भएपछि जुम्लामा ‘एक घर, एक स्याउ बगैंचा’ अभियान जोडतोडसाथ चलेको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा ३ हजार १ सय हेक्टर जमिनमा स्याउखेती छ । अहिले भने ९ सय हेक्टरमा मात्र स्याउ फल्छ । पछिल्लो समय रोपिएका बिरुवा हुर्किँदै गरेकाले उत्पादन हुन केही समय लाग्ने कँडेल बताउँछन् ।


सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत जुम्लालाई स्याउ सुपरजोन छनोट गरेको छ । यसले स्याउको व्यवस्थापन र बजारीकरणमा सहयोग पुग्नुका साथै व्यावसायिक स्याउखेती प्रवद्र्धनमा टेवा पुगेको छ । ‘अब त किसानले स्याउ उत्पादन गरे पुग्छ, बजारको कुनै समस्या छैन,’ उनी भन्छन्, ‘यही गतिमा खेती विस्तार भए भोलि समृद्धिको पहिलो आधार स्याउ हुने निश्चित छ ।’ आयोजनाको संयोजनमा जुम्लाको स्याउ सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, काठमाडौं पुग्ने गरेको उनले बताए ।

स्याउले कर्णालीमा थुप्रैलाई सफल उद्यमी बनाएको छ । शून्य लगानीबाट व्यवसाय सुरु गरेका उनीहरू ‘करोडपति’ बनेका छन् । तिलागुफा नगरपालिका–११, कालिकोटका टेकबहादुर शाही त्यस्तै एक प्रतिनिधिपात्र हुन् । दशकअघि सुर्खेत–जुम्ला सडकको ट्रयाक खुलेसँगै स्याउखेती थालेका उनी अहिले ‘करोडपति’ किसानका रूपमा परिचित छन् । उनको स्याउ व्यवसाय लोभलाग्दोसँग हुर्केको छ । तीनवटा बगैंचामा दुई हजार स्याउका रूख छन् । तीमध्ये ८ सय ३० रूखले फल दिन्छन् । उनी थुप्रैपटक जिल्ला र क्षेत्रीयस्तरको उत्कृष्ट किसानबाट सम्मानित भइसकेका छन् । २०७३ सालमा त राष्ट्रपति उत्कृष्ट पुरस्कारबाटै सम्मानित भए । उनको पहिचान कर्णाली प्रदेशकै उत्कृष्ट स्याउ किसानका रूपमा दरिएको छ । आम्दानी पनि उस्तै आकर्षक छ । गत वर्षमात्र करिब १५ लाख रुपैयाँ कमाए । ‘बाउ–बाजेले गर्न नसकेको आम्दानी र सुख गाउँमै पाउँदा खुसी लागेको छ,’ उनी भन्छन्, ‘यो सबै मिहिनेत र बुद्धिको फल हो ।’

जुम्ला, चन्दननाथ नगरपालिकाका दीपकबहादुर शाहीको आम्दानी पनि लोभलाग्दो छ । उनको बगैंचामा रहेका पाँच सय बिरुवाले फल दिन्छन् । गत वर्ष उनले स्याउ बेचेर पाँच लाख रुपैयाँ कमाए । ‘स्याउबाट सबै खर्च टरेको छ,’ उनी भन्छन्, ‘हिजो घरमै खानलाई लगाइन्थ्यो, अहिले जीवन धान्न लगाइन्छ ।’

किसानलाई सरकारले विभिन्न परियोजनामार्फत स्याउ खेतीतर्फ प्रेरित गरिरहेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, उच्च मूल्य कृषि बस्तु आयोजना, कर्णाली अञ्चल कृषि विकास आयोजनामार्फत किसानले सहयोग पाइरहेका छन् । यी आयोजनाबाट किसानले बिरुवामा अनुदान पाउनुका साथै सिँचाइ ट्यांकी, सेलार स्टोर, बिरुवा छाँट्ने उपकरण आदिमा सहयोग पाउँदै आएको जुम्लाका जिल्ला कृषि विकास अधिकृत कँडेल बताउँछन् । उनका अनुसार अहिले जुम्लाका अधिकांश घरमा स्याउ बगैंचा छन् । न्यूनतम २५ बिरुवा भएको जमिनलाई बगैंचा मान्ने गरिन्छ ।

प्रदेश सरकारको प्राथमिकता
भर्खरै गठित कर्णाली प्रदेश सरकारले समेत स्याउ खेतीलाई प्राथमिकता दिएको छ । प्रदेशको भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्रालयले कालिकोटमा स्याउ फर्म प्रवद्र्धन कार्यक्रम, डोल्पामा सहकारीमार्फत स्याउ विकास प्रवद्र्धन कार्यक्रम, जुम्ला र कालिकोटमा स्याउ भण्डारणका लागि आठवटा सेलार स्टोर निर्माण, डोल्पाको त्रिपुरासुन्दरीमा स्याउ सुकाउने सेलार ड्रायर वितरण र हुम्लाको ताजकोटमा स्याउ फर्मका लागि सिँचाइ ट्यांकी निर्माण गर्ने गरी रकम छुट्याएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही कर्णाली क्षेत्रमा स्याउखेतीलाई प्राथमिकता दिइने बताउँछन् । ‘कर्णालीको समृद्धिको एक प्रमुख आधार स्याउ हो,’ उनी भन्छन्, ‘यसका लागि सरकारले आवश्यक पूर्वाधार र संरचना निर्माणमा गर्छ ।’

आत्मनिर्भर उर्थु
जुम्लाको पातारासी गाउँपालिकामा पर्ने उर्थुगाउँ स्याउ उत्पादनका हिसाबले नमुना मानिन्छ । स्थानीय दत्तबहादुर बिष्टका अनुसार दुई दशकअघिसम्म केही गाउँलेले मात्र स्याउ लगाउँथे । अहिले हरेकका घरमा स्याउका बगैंचा छन् । त्यतिमात्र होइन, पहिले किसानले डोकोमा बोकेर स्याउ बेच्न लैजान्थे, अहिले सेलार स्टोरमा थन्काउँछन् । गाडी गाउँमै आएर बजार लैजान्छ । ‘हाम्रो गाउँमा यही स्याउले पैसा ल्याउँछ,’ उनी भन्छन्, ‘यति भएपछि कोही किन विदेश जाओस् ?’

उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले गाउँमै दुईतले सेलार स्टोर निर्माण गरिदिएपछि किसानलाई थप सहज भएको छ । पहिले स्याउ टिपेपछि बजारीकरणमा ढिलाइ हुँदा कुहिएर जान्थ्यो । अब त्यस्तो अवस्था छ्रैन । सेलार स्टोर भएपछि अहिलेसम्म पनि स्याउ सुरक्षित अवस्थामै छ । सेलार स्टोरमा वैशाख–जेठसम्म स्याउ राख्दा मूल्य पनि दोब्बर हुने बिष्टको भनाइ छ । आयोजनाको सहयोगमा १९ लाख ९५ हजार रुपैयाँ लागतमा १५ टन क्षमताको सेलार स्टोर निर्माण गरिएको हो । लागतको ३ लाख ८० हजार ५ सय ५० रुपैयाँ स्थानीय कालिका कृषि बहुउद्देश्यीय सहकारी संस्थामा आबद्ध किसानले श्रमदान गरेका हुन् । सिजनका बेला प्रतिकेजी ४०/४५ रुपैयाँमा बिक्री हुने स्याउ सेलार स्टोर आएपछि बेसिजनमा प्रतिकेजी एक सय २० रुपैयाँसम्म बिक्री हुन्छ ।

यसबाट गाउँका ७२ घरपरिवार प्रत्यक्ष लाभान्वित भएका छन् । सहकारीका अध्यक्ष परेउ बिष्टले सेलार स्टोरले किसानलाई पूरापूर मूल्य दिएको बताए । ‘स्याउ कुहिनबाट जोगियो, किसानले मूल्य पाए,’ उनी भन्छन्, ‘सेलार स्टोर त हामी किसानको लागि बरदान नै साबित भएको छ ।’

कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij