-काठमाडौंमा ओली हाम्रो सम्बन्ध सुदृढ भयो
काठमाडौं, २९ वैशाख । प्रधानमन्त्री केपी ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार १५ मिनेट एकान्त वार्ता भएको छ । दुईपक्षीय प्रतिनिधिमण्डलबीच भने ४५ मिनेट औपचारिक वार्ता भयो । वार्तामा ओलीको भारत भ्रमणमा भएका सहमति कार्यान्वयनमा दुवैले समर्थन जनाएका छन् ।
‘कृषि, पानीजहाज, रेलवेलगायत विषयमा परिवर्तनकारी सुरुवात गरेका छौँ, नेपाललाई ल्यान्डलिंक्डबाट वाटरलिंक्ड देशमा परिणत गर्ने ओलीजीको दृष्टिकोण साकार पार्न भारत प्रतिबद्ध रहेको मैले ओलीजीलाई बताएको छु,’ राति आयोजित पत्रकार सम्मेलनमा मोदीले भने । उनका अनुसार कृषि अनुसन्धान, कृषि शिक्षा र कृषि विकासमा सहकार्यको मोडालिटीका लागि नेपाल र भारतका कृषिमन्त्रीहरूको बैठक चाँडै गर्ने सहमति भएको छ । काठमाडौं–रक्सौल रेलमार्गको सर्भे तत्कालै सुरु गर्ने, एक वर्षभित्र डिपिआर तयार गर्ने पूर्ववत् सहमतिअघि बढाउन दुवै देश तयार भएका छन् ।
मोदीका अनुसार नेपाल–भारत व्यापार सन्धिको विस्तृत पुनरावलोकन गर्न दुवै प्रधानमन्त्री सहमत भएका छन् । यसका लागि वाणिज्य सचिवहरूको बैठक चाँडै हुने पनि सहमति भएको छ ।
भारतले तत्काल भक्तपुर क्यान्सर अस्पतालमा नयाँ र अत्याधुनिक रेडियोथेरापी मेसिन पठाउने र तत्कालै जडान हुने पनि सहमति भएको छ ।
दुवै प्रधानमन्त्रीले अरुण तेस्रो परियोजनाको शिलान्यास गरेका छन् । भारु ६ हजार करोडको लागतमा ९०० मेगावाटको उक्त परियोजना निर्माण हुनेछ । मोदीले नेपाल र भारत अनादिकालदेखि हिमालय पर्वतमाला र नदीनालाबाट जोडिएको भन्दै अब कनेक्टिभिटीमा जोडिन लागेको पनि उल्लेख गरे ।
प्रधानमन्त्री ओलीका अनुसार विगतमा भएका सम्झौता कार्यान्वयन गर्ने प्रभावकारी मापदण्ड तयार गर्न दुवै देशबीच सहमति भएको छ । अर्गानिक फार्मिङ र माटोको स्वास्थ्य परीक्षणसम्बन्धी पाइलट प्रोजेक्ट तत्कालै सुरु हुनेछ । पञ्चेश्वर परियाजनाको डिपिआर चाँडै टुंग्याउने विगतको सहमतिलाई यसपटक पनि निरन्तरता दिइएको छ ।
नेपालले भारतसँग गरेको विद्युत् खरिद सम्झौताको पूर्ण कार्यान्वयनमा जोड दिएको छ । मोदीले सरोकारवालासँग छलफलका आधारमा भारतीय ऊर्जा बजारमा नेपालको बिजुली बिक्रीसम्बन्धी भारतको विद्यमान प्रावधान सच्याउन कोसिस गर्ने वचन दिएका छन् । दुवै देशबीच इनर्जी बैंकिङलाई अघि बढाउने पनि सहमति भएको छ ।
ओलीका अनुसार बुटबल–गोरखपुर ४०० केभी विद्युतीय प्रसारण लाइन निर्माणमा दुवैले जोड दिएका छन् । नेपालले आफ्नोतर्फ लाग्ने सबै खर्च व्यहोर्ने घोषणा द्विपक्षीय बैठकमा गरेको छ ।
बाढी र डुबानको समस्या समाधानबारे सुझाब दिन नेपाल र भारत दुवैले संयुक्त सर्भे टिम चाँडै पठाउने सहमति पनि भएको छ । नेपालले बढ्दो व्यापार घाटाका विषयमा चासो राखेको छ ।
भारतीय नोटबन्दीका कारण नेपालीलाई परेको अप्ठेरो सम्बोधन गर्न नेपालले अनुरोध गरेकोमा भारत सकारात्मक भएको वार्तापछि ओलीले बताए ।
वीरगन्जबाहेक थप तीन संयुक्त चेकपोस्ट निर्माणमा जोड दिइएको छ, जनकपुर–जयनगर–बर्दिबासबाहेक थप सीमापार रेल्वे निर्माणमा भारतले प्रतिबद्धता जनाएको छ ।
नेपालले थप चार स्थानबाट एयर इन्ट्री रुट मागेकोमा भारतले सकारात्मक जवाफ दिएको ओलीले बताए । तर, यसबारे मोदीले केही बताएनन् ।
दार्चुलामा वर्षातपछि सीमापार मोटरबाटो निर्माण गर्ने सहमति भएको छ । महाकाली नदीमा चार लेनको पुल निर्माण गर्ने वचन भारतले दिएको छ ।
खुला सिमानाको बचाउ
मोदीले नेपाल र भारतबीचको खुला सिमाना निरन्तरतामा जोड दिएका थिए । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले सीमा नियमनमा जोड दिँदै प्रतिवेदन लेख्ने प्रयास गरिरहेका वेला मोदीले सिमानाको दुरुपयोग रोक्दै खुला सीमालाई आध्यात्मिक सम्बन्ध थप गहन बनाउन उपयोग गर्नुपर्ने बताए ।
‘खुला सिमाना कुनै पनि अवाञ्छित तत्वबाट दुरुपयोग हुन दिनेछैनौँ, यसका लागि रक्षा र सुरक्षा क्षेत्रमा सहकार्य थप मजबुत पार्नेछौँ,’ मोदीले भने । उनले खुला सिमानाको आध्यात्मिक महत्वमा जोड दिँदै रामायण सर्किट र बौद्ध सर्किटमा आफ्नो पूर्व प्रतिबद्धता कार्यान्वयन हुने पनि बताए ।
अखण्ड, समृद्ध र सशक्त नेपाल होस् : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समावेशी विकाससहित अखण्ड, समृद्ध र सशक्त नेपालका लागि भारतको दृढ समर्थन व्यक्त गरेका छन् । दुईदिने राजकीय नेपाल भ्रमणको पहिलो दिन चरणबद्ध उच्चस्तरीय राजनीतिक वार्तापछि आयोजित पत्रकार सम्मेलनमा मोदीले पछिल्ला तीन निर्वाचनको खुलेर समर्थन गर्दै नेपालको विकास प्रयासमा साथ दिने पनि स्पष्ट पारेका छन् ।
‘एक वर्षमा नेपालले स्थानीय तह, प्रान्त र केन्द्र गरी तीन तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । नेपालको इतिहासमा यो कालखण्ड स्वर्णिम अक्षरले लेखिनेछ,’ प्रधानमन्त्री ओलीसँग एकान्त र औपचारिक भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने । विगतमा भारतले स्थिर, शान्त र विकसित नेपाल चाहेको बताउँदै आएकोमा मोदीले यसपटक अखण्ड, समृद्ध र सशक्त नेपालमा जोड दिएका छन् । यसलाई नेपालमा भारतको बदलिँदो दृष्टिकोणका रूपमा लिइएको छ ।
प्रधानमन्त्री हुनुभन्दा पहिला र भइसकेपछिको तीनपटकको नेपाल भ्रमणमा आफूलाई नेपालीहरूले परिवारका सदस्यजस्तो व्यवहार गरेको र आफ्नोपन देखाएको पनि मोदीले बताए । ‘दुई देशबीच सरकारभन्दा माथि पारिवारिक, मित्रतापूर्ण र जनसामान्यस्तरमा मजबुत सम्बन्ध छ,’ मोदीले भने, ‘मेरो यो भ्रमणपछि भारत–नेपाल सम्बन्धमा नयाँ ऊर्जा र मोमेन्टम सञ्चार भएको छ ।’
नेपाल–भारत सम्बन्ध सुदृढ भयो : ओली
प्रधानमन्त्री ओलीले नेपाल–भारत सम्बन्ध सुदृढ भएको र आपसी लाभका समग्र विषयमा परिणाममुखी छलफल भएको बताए । संयुक्त पत्रकार सम्मेलनमा ओलीले इपिजीको सिफारिसका आधारमा एककाइसौँ शताब्दीको यथार्थअनुसार सम्बन्ध थप विकसित गर्ने पनि बताए । ‘भारतका प्रिय प्रधानमन्त्री मोदीजीलाई हार्दिक स्वागत छ,’ सुरुमै सम्बोधन गरेका ओलीले भने, ‘नेपालको विदेश नीतिमा छिमेक उच्च प्राथमिकतामा छ । त्यसमा पनि भारत नेपालको उच्च प्राथमिकतामा छ ।’ ओलीले नेपाल, भारत र चीनबीच त्रिदेशीय साझेदारीबारे चर्चा गरेनन् ।
राष्ट्रपति, उपराष्ट्रपति र पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता

शुक्रबार बिहान जनकपुर हुँदै काठमाडौं आएका मोदीका उच्च राजनीतिक भेटवार्ता सम्पन्न भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसँग उनले शिष्टाचार भेट गरे, समकक्षी ओलीसँग औपचारिक वार्ता गरे भने पूर्वप्रधानमन्त्रीहरूसँग पनि भेटवार्ता गरे । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले होटेल हायात पुगेर मोदीसँग १५ मिनेट शिष्टाचार भेट गरे । भेटमा ओलीसँग एकान्त र औपचारिक वार्ताका विषयवस्तुबारे सामान्य छलफल भएको परराष्ट्रका अधिकारीहरूले बताए ।
मोदीले शुक्रबार बिहान जानकी मन्दिरको पूजापाठ गरे भने शनिबार सुरुमा मुस्ताङ पुगेर मुक्तिनाथ एवं काठमाडौं फर्केर पशुपतिनाथ मन्दिरको दर्शन गर्नेछन् । त्यसपछि अपराह्न काठमाडौं महानगरपालिकाको नागरिक अभिनन्दनपछि उनी दिल्ली फर्किनेछन् ।
काठमाडौंमा पर्शुराम काफ्ले, जनकपुरमा हदिश खुद्दार, रञ्जन भण्डारी र बद्रीनारायण यादवको रिपोर्ट, नयाँ पत्रिकाबाट