२०८३ साउन ९ शनिबार

जाँदाजाँदै सम्बन्धनको खेल, मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी

ई आर्थिक    बुधबार, फाल्गुन २ २०७४
4K
Shares
जाँदाजाँदै सम्बन्धनको खेल, मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी
  निर्वाचन आचारसंहिता लागेकै बेला यसअघि आर्थिक चलखेल गरेर २५ संस्थालाई ३४ कार्यक्रमको सम्बन्धन दिइएको थियो 

मकर श्रेष्ठ, फाल्गुन २, २०७४,काठमाडौँ — शिक्षामन्त्री गोपालमान श्रेष्ठले पदबाट बाहिरिनै लाग्दा मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत बुधबार एक दर्जन नर्सिङ कलेजलाई सम्बन्धन दिने तयारी गरेका छन् । सीटीईभीटी परिषद्को बुधबार १ बजे बैठक राखेर सम्बन्धन दिन लागिएको परिषद् स्रोतले बताएको छ ।

मन्त्रीले अध्यक्षता गर्ने बैठकमा सहभागी हुन सदस्यहरूलाई बाँडिएको पत्रमा भने सम्बन्धनको एजेन्डा उल्लेख गरिएको छैन । परिषद् स्रोतका अनुसार ‘विविध शीर्षक’ मा छलफल गरेर सम्बन्धन दिने तयारी मन्त्रीले गरेका हुन् । यसअघि मन्त्री श्रेष्ठले पनि प्रतिनिधिसभाको निर्वाचन आचारसंहिता लागेकै बेला आर्थिक चलखेल गरेर २५ कलेजलाई ३४ वटा कार्यक्रमको सम्बन्धन दिएका थिए ।

मन्त्रिपरिषद्को माघ ३ को बैठकको ७ नम्बर निर्णयमा भौगोलिक, जनसंख्या, आवश्यकतालाई मध्यनजर गर्दै नक्सांकन गरेर मापदण्ड पुगेका संस्थालाई मात्रै सम्बन्धन प्रक्रिया अघि बढाउने उल्लेख गरिएको थियो । ‘यी संस्थालाई सम्बन्धन उपयुक्त छ/छैन भन्ने स्वास्थ्य मन्त्रालय र योजना आयोगबाट सहमति र अध्ययनबिनै सम्बन्धन दिन लागिएको हो,’ स्रोतले भन्यो । यसको जानकारी सीटीईभीटीलाई समेत शिक्षा मन्त्रालयमार्फत पठाइसकिएको छ । सीटीईभीटीका सदस्य सचिव पुष्परमण वाग्लेले केही दिनअघि पत्रकार सम्मेलनमा भौगोलिक, जनसंख्याका आधारमा नक्सांकन गरेर स्पष्ट खाका आएपछि मात्रै सम्बन्धन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका थिए । सदस्य सचिव सम्बन्धन दिने पक्षमा नभएपछि स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेको ठाडो प्रस्तावमा मन्त्री अध्यक्ष हुने परिषद्बाट सम्बन्धन दिन लागेको स्रोतले जनाएको छ । सीटीईभीटीले मनसाय पत्र दिइसकेको र पूर्वाधार निरीक्षण गरेर सल्लाहकार समितिबाट समेत परिषद्मा सिफारिस गरिएका नर्सिङ कलेजलाई सम्बन्धन दिन लागिएको स्रोतले जनाएको छ ।
बुधबारको बैठकको मुख्य एजेन्डा भने सम्बन्धनकोअधिकार प्रदेशलाई दिने विषय राखिएको छ । तर, स्रोतले भने मन्त्री श्रेष्ठ आफूले चाहेका जति कलेजलाई सम्बन्धन दिएरमात्रै प्रदेशलाई अधिकार हस्तान्तरण गर्ने तयारीमा रहेको दाबी गरेको छ । मन्त्रिपरिषद्को सामाजिक समितिको २०७२ भदौ ५ को निर्णयमा नीति तर्जुमा भएपछि मात्रै सम्बन्धन/स्वीकृति दिनुपर्ने भनिएको थियो । यसको नीतिसमेत बनेको छैन । सल्लाहकार समितिबाट पारित भइसकेको संस्थामा लाइफगार्ड अस्पताल विराटनगर, भरतपुर सामुदायिक अस्पताल, मिर्चैया हेल्थ नर्सिङ क्याम्पस, एसिया फाउन्डेसन अफ एजुकेसन एन्ड रिसर्च सेन्टर छन् ।
त्यस्तै चितवन स्कुल अफ मेडिकल साइन्स भरतपुर, विजय एकेडेमी फर हेल्थ साइन्स, क्यालिवर नर्सिङ क्याम्पस, ओम साई नर्सिङ क्याम्पस बुटवल, वेस्टर्न हेल्थ साइन्स एकेडेमी पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान र कालीगण्डकी हेल्थ फाउन्डेसन नवलपरासी छन् । यी संस्थालाई नर्सिङको सम्बन्धन दिन लागिएको स्रोतले जनाएको छ ।
स्रोतले भन्यो, ‘क्याबिनेटको निर्णयअनुसार भौगोलिक तथा जनसंख्याको विश्लेषण गरी नक्सांकन नगरी सम्बन्धन दिन मिल्दैन ।’ यी संस्थालाई चित्रलेखा यादव शिक्षामन्त्रीबाट हट्ने दिनसम्म पनि सम्बन्धन दिन खोजेकी थिइन् । त्यसपछिका मन्त्री गिरिराजमणि पोखरेलको पालामा पनि सम्बन्धन दिने प्रयास असफल भएको थियो । अहिले श्रेष्ठले सम्बन्धन दिने तयारी गरेका हुन् । तर सम्बन्धनको निर्णय गर्दा मिडियाले बदनाम गरेको भन्दै श्रेष्ठले सार्वजनिक रूपमा आलोचना गर्ने गरेका छन् ।
विभिन्न छानबिन समितिले पनि नक्सांकन नगरी सम्बन्धन दिन नहुने सुझाव दिएको छ । मन्त्री र सीटीईभीटीका पदाधिकारीले गुणस्तरमा जोड दिनेभन्दा पनि आर्थिक चलखेलका आधारमा सम्बन्धन दिने गरेको आरोप लाग्ने गरेको छ । परिषद् सदस्यलाई बुधबार हुने बैठकमा उपस्थित हुन पठाइएको पत्रमा क्षेत्रीय कार्यालय खोल्ने र उसले गर्ने २५ वटा अधिकार पारित गर्ने, लोकसेवाको निर्देशिकाअनुसार सीटीईभीटी कर्मचारी सेवा, सर्त सुविधा विनियम २०६९ संशोधनका लागि शिक्षा मन्त्रालय पठाउने तथा सेक्सन थप गर्ने एजेन्डा उल्लेख छ । अहिले भएका संस्थामा सेक्सन थप गर्ने निर्णयमा पनि चलखेल भइरहेको स्रोतको दाबी छ । ‘एउटा सेक्सनबाट गुणस्तरीय शिक्षा दिन नसकिरहेका बेला त्यही संस्थालाई अर्को सेक्सन थप गर्न दिने निर्णय गर्नु नीतिगत भ्रष्टाचार हो,’ सीटीईभीटीका एक निर्देशकले भने ।
सीटीईभीटी सदस्य सचिव वाग्लेले बैठकमा मुख्य एजेन्डा अधिकार सम्पन्न प्रदेश कार्यालय खोलेर प्राविधिक शिक्षाको विकास र विस्तार गरी सबैको पहुँचमा पुर्‍याउने रहेको बताए । प्रदेश कार्यालयका लागि सीप परीक्षण, परीक्षा सञ्चालन, सम्बन्धन प्रक्रिया, योजना तर्जुमा तथा नीति बनाउनेलगायत २५ कार्य प्रस्तावित छन् । ‘बैठकको एजेन्डा सम्बन्धनको छैन,’ वाग्लेले भने । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij