२०८३ साउन ९ शनिबार

तरकारीको भाउ अहिलेसम्मकै उच्च : अधिकांशको मूल्य किलोको सय भन्दा माथि

ई आर्थिक    बिहिबार, कार्तिक २३ २०७४
1.4K
Shares
तरकारीको भाउ अहिलेसम्मकै उच्च : अधिकांशको मूल्य किलोको सय भन्दा माथि
अजित अधिकारी, २३ कात्तिक, काठमाडौं । तरकारीको भाउ यो वर्षको उच्च बिन्दुमा पुगेर स्थिर भएको छ । एक सातादेखि अधिकांश तरकारीको भाउ प्रतिकिलो सय रुपैयाँमाथि पुगेर स्थिर भइरहँदा उपभोक्ता महँगीको मारमा छन् । सर्वसाधारणको भान्सामा धेरै खपत हुने तरकारीको भाउ आकासिए पनि सरकारले मूल्य नियन्त्रणका लागि कुनै प्रयास गरेको छैन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार तिहारअघिबाट मूल्य आकासिन थालेको हो । समितिका उपनिर्देशक विनय श्रेष्ठका अनुसार उपत्यकाको मागभन्दा धेरै कम आयात हुँदा मूल्यमा असर परेको हो । ‘अहिले कालीमाटीमा दैनिक ४ सय २५ देखि ४ सय ५० टन तरकारी भित्रिरहेको छ,’ उनले भने, ‘तर, माग भने ७ सय टनको छ ।’ जाडोमा तरकारीको माग अन्य समयको भन्दा बढी हुने गर्छ, तर यहीवेला आपूर्ति भने घटेको छ ।

तराईबाट आउने तरकारीको परिमाण घटेको उनले बताए । ‘तराईमा साउन अन्तिम साता आएको बाढीले यतिवेला बजारमा निस्कनुपर्ने तरकारी आएको छैन,’ उनले भने, ‘बाढीलगत्तै किसानले पुनः लगाएको तरकारी आउन केही ढिलाइ भएको छ ।’

यस्तो छ बजार मूल्य:

सिजनमै टमाटर र साग महँगियो

भान्सामा नियमित खपत हुने टमाटर उत्पादनको अहिले प्रमुख सिजन हो । तर, उपत्यकामा तराईबाट टमाटर आयात भएको छैन । ‘काठमाडौंआसपासका जिल्लामा उत्पादन भएका टमाटर आइरहेका छन्, जुन टमाटर टनेलमा उत्पादन गरिएका हुन्,’ श्रेष्ठले भने, ‘टनेलमा लगाइएका टमाटर तुलनात्मक रूपले महँगा नै हुन्छन्, तराईको चौडा जग्गामा लगाइएको टमाटर आएको खण्डमा मूल्य घट्न सक्छ ।’

त्यस्तै सागको पनि यो प्रमुख सिजन हो । तर, पालुंगो र चमसुर साग प्रतिकिलो समान १ सय १० रुपैयाँ पुगेको छ । ‘यो साग किलोको १५–२० रुपैयाँ हुनुपर्ने हो,’ उनले भने, ‘तर, ७० रुपैयाँ प्रतिकिलोभन्दा माथि पुगेको छ ।’

यी तरकारी पनि महँगिए
भारतबाट आयात हुने प्याज र सिमीको भाउ पनि प्रतिकिलो ९० रुपैयाँ पुगेको छ । आलु ७० रुपैयाँ किलोमा किनबेच भइरहेको छ । बन्दा र परवलको भाउ क्रमशः ९० र ८० रुपैयाँ प्रतिकिलो भएको छ । मूलाले पहिलोपटक ५० रुपैयाँ प्रतिकिलो भाउ पाएको छ । लौका ६० रुपैयाँ प्रतिकिलो छ । सस्तो तरकारीमा पाकेको फर्सी प्रतिकिलो ३० देखि ४० रुपैयाँ, स्कुस प्रतिकिलो २० रुपैयाँ, बरेला ५० रुपैयाँ प्रतिकिलो छ ।

नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij