२०८३ साउन ९ शनिबार

विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण

ई आर्थिक    सोमबार, असोज ३० २०७४
3.4K
Shares
विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन स्थापना गर्दै प्राधिकरण

विद्युतीय सवारी साधनलाई बढावा दिनका लागि प्राधिकरणले केन्द्रीय कार्यालय रत्नपार्कमा नै चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । पेट्रोल पम्प जस्तै विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन निर्माणको प्रक्रिया शुरु गर्न लागिएको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएपछि रातको समयमा विद्युत् खेर जाने अवस्था आउनसक्ने भएकाले विद्युतीय सवारी साधन प्रयोगमा नागरिकलाई अभ्यस्त बनाउन आफूहरुले पहल गर्न लागेको प्राधिकरणको भनाइ छ ।

हाल माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण करीब ९१ प्रतिशत सम्पन्न भएको छ । आगामी असारमा आयोजनाको पहिलो युनिट सञ्चालनमा ल्याउने तयारी गरिएको छ । प्राधिकरणले राजधानीमा चल्ने साना सवारी साधन समेत विद्युतीय नै प्रयोग गर्ने कि भन्ने बारेमा छलफल गरिरहेको छ ।

गत वर्षदेखि विद्युत्भार कटौती अन्त्य गरेको प्राधिकरणले पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय सवारी साधनको खरीद तथा प्रयोगमा राज्य तथा नागरिकस्तरबाट पहल हुनुपर्नेमा जोड दिँदै आएको छ । प्राधिकरणले पहिलोचरणका काठमाडौंका विभिन्न स्थानमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन खडा गर्नेछ । काठमाडौंपछि पोखरा, चितवन, विराटनगर, नेपालगन्ज लगायतका स्थानमा त्यस्ता स्टेशन जडान गरिनेछ ।

पेट्रोलियम पदार्थ आयातमा मात्रै मुलुकको ठूलो धनराशी वर्षेनी खर्च भइरहेको अवस्थामा विद्युतीय सवारी साधनको प्रयोगलाई विशेष ध्यान दिएको खण्डमा विप्रेषणबाट प्राप्त हुने रकम स्वदेशमा नै रहनसक्छ ।

‘आगामी दिनमा जसरी भए पनि विद्युतीय सवारीमा जानै पर्छ । नागरिकलाई सचेतता अपनाउन पनि प्राधिकरणले चार्जिङ स्टेशन स्थापना गर्न लागेको हो ’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारी बताए ।

तर विद्युतीय सवारीको अवस्थामा भने नेपालको राम्रो रेकर्ड छैन । चल्दा चल्दैको ट्रली बसको कुनै संरचना पनि काठमाडौंमा छैन । जेनतेन सफा टेम्पो राजधानीमा चलिरहेको छ । केही समय अघि सम्पन्न नाडा अटो सोमा समेत विद्युतीय सवारीको प्रदर्शनी गरिएको थियो । नागरिक क्रमशः विद्युतीय सवारीतर्फ आकर्षित हुन थालेका छन् ।

बेलायत, फ्रान्स, नर्वे, भारतलगायतका मुलुकले सन् २०३० सम्म विद्युतीय सवारी साधन प्रयोग गर्ने रणनीति अख्तियार गरेको छ । अस्ट्रिया, डेनमार्क, आयरल्याण्ड, जापान, दक्षिण कोरिया, नेदरल्याण्ड, पोर्चुगल तथा स्पेनले पनि विद्युतीय सवारी साधनको विक्री तथा प्रयोगमा विशेष ध्यान दिने लक्ष्य राखेका छन् ।

अन्तरराष्ट्रिय ऊर्जा सङ्घको प्रतिवेदनअनुसार विश्वको ९५ प्रतिशत विद्युतीय कार चीन, अमेरिका, जापान, क्यानडा, नर्वे, बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड र स्वीडेनमा विक्री वितरण हुने गरेको छ ।

काठमाडौं महानगरपालिकाले काठमाडौंमा चिनियाँ विद्युतीय बस चलाउने योजना अगाडि सारे पनि त्यसको कुनै प्रक्रिया नै शुरु हुनसकेको छैन । महानगरले रू. पाँच करोड रकम विद्युतीय बसका लागि छुट्ट्याइएको थियो । तर प्रक्रिया शुरु नहुँदा कुनै ठोस् प्रगति हुनसकेको छैन । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij