२०८३ असोज ७ बुधबार

र्‍यान्समवेयर आक्रमणपछि सेबोनद्वारा पाँच सदस्यीय निरीक्षण टोली गठन गरी छानबिन थाल्यो, नेप्सेको मुख्य प्रणाली सुरक्षित

ई आर्थिक    मंगलबार, असोज ६ २०८३
684
Shares
र्‍यान्समवेयर आक्रमणपछि सेबोनद्वारा पाँच सदस्यीय निरीक्षण टोली गठन गरी छानबिन थाल्यो, नेप्सेको मुख्य प्रणाली सुरक्षित
  • ७२ ब्रोकरको टीएमएस होस्ट गरिएको डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण।

  • साइबर सुरक्षाको जोखिमका कारण सोमबार सेयर कारोबार स्थगित।

  • आक्रमणअघि लिइएको पछिल्लो ब्याकअप सुरक्षित रहेको दाबी।

  • प्रभावित प्रणाली फरेन्सिक परीक्षणका लागि ‘आइसोलेसन’मा।

  • नेप्सेको मुख्य कारोबार प्रणाली सुरक्षित रहेको नेप्सेको भनाइ।

  • सेबोनले पाँच सदस्यीय निरीक्षण टोली गठन गरी छानबिन थालेको।

  • नेप्सेलाई असोज १२ गतेभित्र सुधारका उपायसहित प्रतिवेदन बुझाउन निर्देशन।

काठमाडौँ । ७२ वटा ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) होस्ट गरिएको डेटा सेन्टरमा र्‍यान्समवेयर आक्रमण भएपछि नेपालको पुँजी बजारमा सोमबार सेयर कारोबार ठप्प भएको छ।

डेटा हब प्रालिमा होस्ट गरिएको टीएमएस पूर्वाधारमा साइबर आक्रमण देखिएपछि कारोबार सञ्चालन गर्दा नेप्सेको मुख्य कारोबार प्रणालीसमेत प्रभावित हुन सक्ने जोखिम देखिएको भन्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबारको नियमित कारोबार स्थगित गरेको हो।

नेप्सेका अनुसार समस्या उसको मुख्य कारोबार प्रणालीमा नभई ब्रोकर कम्पनीहरूले टीएमएस सञ्चालनका लागि प्रयोग गर्दै आएको डेटा सेन्टरमा देखिएको हो। सम्भावित साइबर जोखिम नेप्सेको कारोबार प्रणालीमा फैलिन नदिन प्रभावित पूर्वाधारलाई अलग राखिएको जनाइएको छ।

बिहानैदेखि समस्या, र्‍यान्समवेयर आक्रमण पुष्टि

डेटा हबका अनुसार सेप्टेम्बर २० अर्थात् असोज ४ गते बिहान करिब ५ः३० बजे टीएमएस होस्ट गरिएको पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएको पहिचान गरिएको थियो।

आक्रमण हुनुअघि बिहान करिब ४ बजे लिइएको पछिल्लो ब्याकअप भने सुरक्षित रहेको र उक्त ब्याकअपलाई अन्य प्रणालीबाट अलग राखिएको कम्पनीले जनाएको छ।

र्‍यान्समवेयरले कम्प्युटर प्रणालीमा रहेका फाइल तथा डेटा इन्क्रिप्ट गरी प्रणालीको सञ्चालन अवरुद्ध गर्न सक्छ। घटनापछि प्रभावित प्रणालीलाई तत्काल अनलाइनमा नल्याई फरेन्सिक विश्लेषण तथा आवश्यक सुरक्षा परीक्षण भइरहेको डेटा हबले जनाएको छ।

टीएमएससँगै अन्य प्रणालीमा पनि असर

र्‍यान्समवेयर आक्रमणपछि टीएमएससँगै सीडीएससीसम्बन्धी प्रणाली तथा भुक्तानी प्रणालीमा समेत समस्या देखिएको बताइएको छ।

ब्रोकर रामचन्द्र भट्टराईका अनुसार घटना सामान्य सर्भर डाउन वा प्राविधिक समस्या मात्र नभई र्‍यान्समवेयर आक्रमणसँग जोडिएकाले प्रणाली पुनः सञ्चालन गर्नुअघि प्रभावित सर्भर, नेटवर्क तथा त्यससँग जोडिएका अन्य प्रणाली सुरक्षित छन् कि छैनन् भन्ने यकिन गर्न आवश्यक छ।

उनका अनुसार डेटा हबमा समस्या पूर्ण रूपमा समाधान नभइसकेको अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत जोखिम पर्न सक्ने भएकाले तत्काल कारोबार सञ्चालन नगर्न आग्रह गरिएको हो।

प्रणाली ‘आइसोलेसन’मा, फरेन्सिक परीक्षण जारी

घटनापछि प्रभावित पूर्वाधारलाई केही समय ‘आइसोलेसन’ मा राखिएको छ। प्राविधिक टोलीले प्रणालीमा र्‍यान्समवेयर कसरी प्रवेश गर्‍यो, यसको प्रभाव कति फैलिएको छ र अन्य नेटवर्क तथा प्रणालीमा जोखिम पुगेको छ कि छैन भन्ने विषयमा परीक्षण गरिरहेको जनाइएको छ।

डेटा हबका अनुसार फरेन्सिक विश्लेषण र आवश्यक सुरक्षा परीक्षण पूरा भएपछि मात्रै प्रभावित प्रणालीलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइनेछ।

टीएमएस व्यवस्थापनमा संलग्न वाइको र डेटा हबले घटनालाई र्‍यान्समवेयर आक्रमणका रूपमा उल्लेख गरेका छन्।

नेप्सेको मुख्य कारोबार प्रणाली सुरक्षित

नेप्सेले आफ्नो नियन्त्रणमा रहेको मुख्य कारोबार प्रणाली सुरक्षित रहेको जनाएको छ।

प्रभावित डेटा सेन्टरबाट सम्भावित जोखिम नेप्सेको मुख्य कारोबार प्रणालीसम्म फैलिन नदिन आवश्यक सुरक्षा व्यवस्था गरिएको नेप्सेको भनाइ छ।

नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) बमोजिम सोमबारको नियमित कारोबार स्थगित गरेको हो। आइतबारदेखि समस्या देखिएपछि ब्रोकर कम्पनीहरूले नेप्सेलाई कारोबार स्थगित गर्न आग्रह गरेका थिए।

लगानीकर्तामा बढ्यो चिन्ता

अचानक कारोबार स्थगित भएपछि लगानीकर्ताले आफ्नो सम्पत्ति, व्यक्तिगत विवरण र कारोबार प्रणालीको विश्वसनीयताबारे चिन्ता व्यक्त गरेका छन्।

लगानीकर्ताको मुख्य चासो अब टीएमएस कहिले पुनः सञ्चालन हुन्छ भन्ने मात्र नभई साइबर आक्रमणबाट व्यक्तिगत तथा कारोबारसम्बन्धी विवरणमा कुनै असर परेको छ कि छैन भन्ने विषयमा समेत केन्द्रित भएको छ।

लगानीकर्ता जनक कार्कीले बारम्बार हुने प्राविधिक समस्या र कारोबार अवरोधले लगानीकर्ताको प्रणालीप्रतिको विश्वासमा असर पार्न सक्ने भन्दै डेटा तथा सम्पत्तिको सुरक्षाबारे स्पष्ट जानकारी आवश्यक रहेको बताउनुभएको छ।

सेबोनले थाल्यो छानबिन

धितोपत्र व्यवसायीको कारोबारमा देखिएको प्राविधिक समस्याप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेपाल धितोपत्र बोर्ड (सेबोन) ले घटनाबारे छानबिन थालेको छ।

सेबोनले कारोबार रोक्नुपर्ने अवस्था उत्पन्न हुनुका कारणबारे आवश्यक अध्ययन तथा जाँचबुझ गरी सुधारका उपायसहितको प्रतिवेदन २०८३ असोज १२ गतेभित्र पेस गर्न नेप्सेलाई निर्देशन दिएको छ।

बोर्डले घटनाको तत्काल अध्ययनका लागि उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको जनाएको छ।

उक्त टोलीले प्राविधिक समस्या, कारोबार रोक्नुपर्ने अवस्था र घटनाका कारणबारे अध्ययन गर्नेछ। टोलीबाट प्राप्त सुझावका आधारमा नेपालको धितोपत्र बजारलाई थप सुरक्षित, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक कदम चालिने सेबोनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij