सुलीकोट (गोरखा) । मनास्लु हिमाल आरोहणका क्रममा मृत्यु भएका जर्मन नागरिक र नेपाली गाइडको शव हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ।
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित मनास्लु हिमालको तेस्रो शिविरमा मृत्यु भएका दुवै जनाको शव बुधबार बिहान हेलिकोप्टरमार्फत काठमाडौंस्थित शिक्षण अस्पताल (टिचिङ अस्पताल) पठाइएको हो।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी बिहान ६ः५२ बजे दुवै शव सामागाउँबाट काठमाडौं पठाइएको हो।
यसअघि मंगलबार साँझ करिब ८ बजे दुवै शवको मुचुल्का तयार गर्ने कार्य सम्पन्न भएको थियो। मुचुल्का तयार भएपछि शव चुमनुब्री गाउँपालिका–१ को वडा कार्यालयस्थित कोठामा राखिएको थियो।
शवको सुरक्षा तथा कुरुवाका लागि प्रहरी चौकी सामागाउँबाट प्रहरी सहायक निरीक्षक कहैयालाल बारीको कमान्डमा तीन जनाको प्रहरी टोली परिचालन गरिएको थियो। शव उद्धार तथा ढुवानीका लागि प्रयोग गरिएको हेलिकोप्टर सामागाउँ हेलिप्याडमै राति बसेको प्रहरीले जनाएको छ।
मनास्लु क्षेत्रमा पछिल्लो समय प्रतिकूल मौसमका कारण आरोहण तथा उद्धार कार्य प्रभावित हुँदै आएको छ। घटनासँग सम्बन्धित आवश्यक कानुनी प्रक्रिया पूरा गरी दुवै शव काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।