काठमाडौं । सुरक्षित भविष्यका लागि वर्षौँदेखि रुपियाँ–रुपियाँ जम्मा गरेर बचत गरेका नुवाकोटका हजारौँ सर्वसाधारण अहिले दोहोरो पीडामा छन्। भदौ १० गते आएको भीषण बाढीले एकातिर आफन्त र घरबास गुमाउनुपरेको छ भने अर्कातिर जीवनभरको कमाइ सुरक्षित राखेको सहकारीसमेत बगाएको छ।
बाढीले नुवाकोटका १४ वटा सहकारीका कार्यालय, भवन, कागजात, कम्प्युटर तथा वित्तीय अभिलेखमा ठूलो क्षति पुर्याएको छ। सहकारीका सम्पत्ति, लगानी तथा हिसाबकिताबसमेत बाढीमा बगेपछि बचतकर्ताको बचत फिर्ता हुने विषयमा अनिश्चितता बढेको छ।
जिल्ला सहकारी सङ्घ नुवाकोटले गरेको प्रारम्भिक अध्ययनअनुसार बाढीबाट प्रभावित १४ सहकारीको एक अर्ब १० करोड ६० लाख रुपैयाँभन्दा बढी सम्पत्ति तथा कारोबार जोखिममा परेको छ। ती सहकारीमा आबद्ध कम्तीमा ७ हजार ४१२ सदस्यको करिब ८५ करोड रुपैयाँ बचत जोखिममा परेको सङ्घले जनाएको छ।
सहकारीहरूले करिब ७५ करोड रुपैयाँ लगानी गरेकोमा बाढी प्रभावित क्षेत्रमा रहेको करिब ३० करोड रुपैयाँ बराबरको लगानीमा क्षति पुगेको प्रारम्भिक विवरण छ। बाढीमा सहकारीमा आबद्ध ३१३ जना सदस्य बेपत्ता भएको समेत सङ्घले जनाएको छ।
सहकारी कार्यालय नै बन्यो त्रिशूलीको बगर
विदुर नगरपालिका–१ मा रहेको त्रिशूली बचत तथा ऋण सहकारी संस्था बाढीबाट सबैभन्दा बढी प्रभावित सहकारीमध्ये एक हो। आफ्नै भवन रहेको यस सहकारीमा करिब १ हजार ७ सय सदस्य थिए भने कुल कारोबार ४६ करोड रुपैयाँ बराबर थियो।
बाढीपछि सहकारीको कार्यालय रहेको स्थान अहिले त्रिशूली नदीको बगरमा परिणत भएको छ। कार्यालय भवनसँगै महत्वपूर्ण कागजात तथा अभिलेखसमेत बाढीले बगाएको छ। सहकारीमा आबद्ध ५५ जना सदस्यसमेत बाढीमा बेपत्ता भएको जनाइएको छ।
जिल्ला सहकारी सङ्घ नुवाकोटका व्यवस्थापक रवीन्द्रमान श्रेष्ठका अनुसार त्रिशूली साकोसले घर, गाडी तथा कृषिका लागि ३४ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको थियो। बाढीबाट ऋण लगानी भएका क्षेत्रमै ठूलो क्षति भएपछि सहकारीको लगानीसमेत जोखिममा परेको उहाँले बताउनुभयो।
बचतकर्ताले आफ्नो रकम फिर्ता माग्न थालेमा कसरी जवाफ दिने भन्ने चिन्ता अहिले सहकारी सञ्चालकमा रहेको श्रेष्ठको भनाइ छ।
कुन सहकारीको कति रकम जोखिममा ?
सङ्घका अनुसार बाढीबाट विभिन्न सहकारीको ठूलो रकम जोखिममा परेको छ। प्रारम्भिक विवरणअनुसार:
-
साँघु साकोस — ६ करोड ८६ लाख रुपैयाँ
-
उपकार साकोस — ५ करोड ६० लाख रुपैयाँ
-
दक्षिणकाली साकोस — ६ करोड ९० लाख रुपैयाँ
-
कुलभक्तेश्वर साकोस — ३ करोड ९८ लाख रुपैयाँ
-
मातृभूमि बहुउद्देश्यीय सहकारी — ३ करोड ७८ लाख रुपैयाँ
-
माता मनकामना साकोस — ३ करोड २३ लाख रुपैयाँ
-
हाम्रो सहकारी — ११ करोड १३ लाख रुपैयाँ
-
शुभकामना बहुउद्देश्यीय सहकारी — ११ करोड ९० लाख रुपैयाँ
-
उत्तरगया साकोस — ४० लाख रुपैयाँ
-
जाल्पादेवी साकोस — ५ करोड ५० लाख रुपैयाँ
-
शुभारम्भ साकोस — १ करोड ४० लाख रुपैयाँ
-
विकासशील कृषि सहकारी — ३४ लाख रुपैयाँ
-
नवदीप कृषि सहकारी — ८५ लाख रुपैयाँ
यी सहकारीका भवन तथा भौतिक पूर्वाधारमा समेत ठूलो क्षति पुगेको सङ्घले जनाएको छ।
अभिलेख नै बगेपछि हिसाब खोज्न समस्या
बाढीले कार्यालयका कागजात, कम्प्युटर र वित्तीय अभिलेख नष्ट गरेपछि सहकारीहरू अहिले आफ्नै वित्तीय विवरण पुनः संकलन गर्ने चुनौतीमा छन्।
कुन सदस्यले कति रकम बचत गरेका थिए, कसलाई कति ऋण प्रवाह गरिएको थियो र सहकारीको वास्तविक सम्पत्ति तथा दायित्व कति हो भन्ने विवरण यकिन गर्नसमेत कठिन भएको सङ्घले जनाएको छ।
बाढीबाट प्रभावित सहकारीको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि तत्काल सरकारी सहयोग आवश्यक रहेको जिल्ला सहकारी सङ्घ नुवाकोटले जनाएको छ।
सङ्घका अध्यक्ष शिव अधिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ। सङ्घले स्थलगत अवलोकन र प्रारम्भिक विश्लेषणका आधारमा तयार पारेको प्रतिवेदन बुझाउँदै प्रभावित सहकारीलाई राहत, पुनःस्थापना र पुनर्निर्माणका लागि सहयोग गर्न सरकारसँग माग गरेको छ।