सिन्धुलीमाढी । ठूला सिँचाइ आयोजनाले समेट्न नसकेका क्षेत्रमा सञ्चालन गरिएका साना सिँचाइ योजना सिन्धुलीमा प्रभावकारी बन्दै गएका छन्। विशेषगरी आकाशे पानीमा निर्भर पाखा तथा भित्ताका खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुगेपछि किसानलाई राहत भएको छ।
सिँचाइ सुविधा पुगेपछि यसअघि सुक्खा मौसममा बाँझै रहने जमिनमा समेत तरकारी तथा अन्य कृषि उत्पादन गर्न सहज भएको किसानहरूले बताएका छन्।
गोलन्जोर गाउँपालिका–२ का किसान बेगबहादुर बसेलले साना सिँचाइ योजनाअन्तर्गत यस वर्ष दुई लाख ३४ हजार ४३२ रुपैयाँको लागतमा पक्की सिँचाइ पोखरी निर्माण गर्नुभएको छ। कृषि विकास कार्यालयबाट प्राप्त अनुदान र श्रमदानमा कार्यालयले तोकेको क्षमताभन्दा ठूलो पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो।
पोखरी निर्माणपछि सिँचाइ अभावका कारण सुक्खा मौसममा बाँझै रहने चार रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ। उहाँले पोखरी निर्माणको मुख्य उद्देश्य तरकारी खेती गर्नु रहेको बताउनुभयो।
“कार्यालयले चार मिटर लम्बाइ र सात मिटर उचाइको सिँचाइ पोखरी बनाउने व्यवस्था गरेको थियो। आफूलाई आवश्यक पर्ने भएकाले क्षमता बढाएर छ मिटर लम्बाइ र नौ मिटर उचाइको पक्की पोखरी बनाएँ,” बसेलले भन्नुभयो।
उहाँका अनुसार पोखरी निर्माणका लागि कृषि विकास कार्यालयले एक लाख ८७ हजार ५४६ रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने बाँकी रकम श्रमदानबाट जुटाइएको हो।
४० बिघा खेतमा वर्षभरि सिँचाइ
कमलामाई नगरपालिका–५ साखाजोरमा पनि साना सिँचाइ योजनाअन्तर्गत जीर्ण परम्परागत कुलो मर्मत गरी यस वर्ष ९० मिटर पक्की कुलो निर्माण गरिएको छ।
कुल दुई लाख ४३ हजार रुपैयाँ लागतमा निर्माण भएको कुलोका लागि कृषि विकास कार्यालयले एक लाख ९५ हजार रुपैयाँ अनुदान दिएको थियो। बाँकी ४८ हजार रुपैयाँ स्थानीय किसानले श्रमदान गरेका थिए।
कुलो निर्माणपछि साखाजोरका करिब ४० बिघा खेतमा वर्षभरि सिँचाइ सुविधा पुगेको योजनाबाट लाभान्वित किसान भीमकुमार श्रेष्ठले बताउनुभयो।
“मुहानबाट कुलोमा पानी हाले पनि कुलो जीर्ण भएकाले चुहिएर खेतसम्म पानी पु¥याउन निकै समस्या थियो। अहिले पानी चुहिने ठाउँमा पक्की कुलो निर्माण गरेका छौँ। धेरै राहत भएको छ,” श्रेष्ठले भन्नुभयो।
ठूला सिँचाइ आयोजना सञ्चालन गर्न नसकिने स्थानमा साना सिँचाइ योजना किसानका लागि निकै उपयोगी बनेको उहाँको भनाइ छ।
२३ वटा योजना कार्यान्वयन
बागमती प्रदेश सरकारको सहयोगमा सिन्धुलीका विभिन्न स्थानमा आर्थिक वर्ष २०८२/८३ मा २३ वटा साना सिँचाइ योजना निर्माण भएका छन्। सिँचाइको आवश्यकता रहेका स्थान पहिचान गरी किसानको मागका आधारमा योजना छनोट गरेर कार्यान्वयन गरिएको कृषि विकास कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार साना सिँचाइ योजना माग गर्दै यस वर्ष ४८ वटा कृषक फार्म, समूह तथा सहकारीले प्रस्ताव दर्ता गरेका थिए। तीमध्ये आवश्यकता पहिचानका आधारमा २३ वटा योजना छनोट गरी कार्यान्वयन गरिएको हो।
योजनाका लागि बागमती प्रदेश सरकारले ४२ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो। जिल्लामा यस वर्ष २१ वटा साना सिँचाइ योजना निर्माण गर्ने लक्ष्य रहे पनि किसानको माग बढेपछि दुई वटा थप गरी २३ वटा योजना कार्यान्वयन गरिएको कृषि विकास कार्यालयका प्रमुख अनुप अधिकारीले बताउनुभयो।
उहाँका अनुसार एउटा योजनाको कुल लागतको ८० प्रतिशत रकम कार्यालयमार्फत अनुदान उपलब्ध गराइन्छ भने बाँकी २० प्रतिशत रकम सम्बन्धित किसान, समूह वा संस्थाले बेहोर्नुपर्ने व्यवस्था छ।
सम्पन्न २३ वटा साना सिँचाइ योजनाबाट ३८.६५ हेक्टर जमिनमा वर्षभरि सिँचाइ सुविधा पुगेको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो।
साना सिँचाइ योजनाअन्तर्गत कुलो मर्मत तथा निर्माण, इनार निर्माण, सिँचाइ पोखरी तथा ट्याङ्की निर्माण, पानी तान्ने पम्प र पाइप सहयोगलगायतका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
कमलामाई र दुधौली नगरपालिका तथा गोलन्जोर, हरिहरपुरगढी, सुनकोसी, फिक्कल र तीनपाटन गाउँपालिकामा साना सिँचाइ योजना सञ्चालन गरिएको कृषि विकास कार्यालयले जनाएको छ।