२०८३ भाद्र ३० मंगलबार

बजार बढ्दा बढ्यो ‘कम मूल्य’ का जलविद्युत् कम्पनीमा आकर्षण, लिबर्टी र शिवश्रीमा उच्च कारोबार

ई आर्थिक    मंगलबार, भाद्र ३० २०८३
76
Shares
बजार बढ्दा बढ्यो ‘कम मूल्य’ का जलविद्युत् कम्पनीमा आकर्षण, लिबर्टी र शिवश्रीमा उच्च कारोबार

नाफा र सञ्चित नोक्सान दुवै रहेको लिबर्टीको मूल्य २५२ रुपैयाँ, शिवश्री २०७ रुपैयाँमा कारोबार

काठमाडौं । सेयर बजारमा सुधारको संकेत देखिन थालेसँगै तुलनात्मक रूपमा कम मूल्यमा कारोबार भइरहेका कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढ्न थालेको छ। बजार बढ्ने क्रममा अधिकांश कम्पनीको सेयर मूल्य बढ्ने प्रवृत्तिका बीच सञ्चित नोक्सान उच्च रहेका केही जलविद्युत् कम्पनीमा समेत कारोबार बढेको देखिएको छ।

पछिल्ला दिनमा लिबर्टी इनर्जीशिवश्री हाइड्रोपावरका सेयरमा कारोबार उल्लेख्य रूपमा बढेको छ। बजार बढ्दा सस्तो मूल्यमा रहेका सेयरको मूल्य पनि बढ्न सक्ने अपेक्षाले यी कम्पनीमा लगानीकर्ताको चासो बढेको देखिन्छ।

लिबर्टी इनर्जी : नाफामा फर्कियो, तर सञ्चित नोक्सान उच्च

गत बिहीबार लिबर्टी इनर्जीको करिब ३६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। सो दिन कम्पनीको सेयर मूल्य एक समय १५ प्रतिशतसम्म बढेर प्रतिकित्ता २४६ रुपैयाँ पुगेको थियो।

सोमबार पनि कम्पनीको २३ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। कारोबारका आधारमा लिबर्टी दोस्रो स्थानमा रह्यो। यद्यपि, यस दिन सेयर मूल्य दुई रुपैयाँ घटेर २५२ रुपैयाँमा कारोबार भएको थियो।

लिबर्टीको सेयर कारोबार बढ्नुमा कम्पनीको आधारभूत पक्षको ठूलो योगदान भने देखिँदैन। तर, सेयर सूचीकरण भएको पाँच वर्षपछि गत आर्थिक वर्ष २०८२/८३ मा कम्पनी पहिलोपटक नाफामा गएको छ।

कम्पनीले उक्त आर्थिक वर्षमा २ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ। विद्युत् बिक्रीबाट हुने आम्दानी पनि करिब ३९ प्रतिशतले बढेर १७ करोड ४५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १२ करोड ५६ लाख रुपैयाँ थियो।

तर कम्पनीको सञ्चित नोक्सान भने अझै उच्च छ। सञ्चित नोक्सान ७३ करोड ७० लाख रुपैयाँबाट बढेर ७३ करोड ९८ लाख रुपैयाँ पुगेको छ।

लिबर्टी इनर्जीले लमजुङमा २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। कम्पनीले सहायक कम्पनीमार्फत थप दुई जलविद्युत् आयोजना विकास गर्ने तयारी गरिरहेको छ।

कम्पनीका अनुसार बढीगाड हाइड्रोपावर लिमिटेडमार्फत २४.६० मेगावाटको बढीगाड खोला जलविद्युत् आयोजना र लिपी हाइड्रोपावर लिमिटेडमार्फत १.६ मेगावाटको लोदो खोला साना जलविद्युत् आयोजना विकास गर्ने तयारी छ।

केही समयअघि ५० प्रतिशत हकप्रद सेयर जारी गरेको लिबर्टीको चुक्ता पुँजी २ अर्ब २५ करोड रुपैयाँ छ। सेयर प्रिमियमबापत जगेडा कोषमा ७ करोड ३७ लाख रुपैयाँ रहेको छ।

नाफामा फर्किए पनि कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ १२ पैसा मात्रै छ भने प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ छ।

कम्पनीको एक वर्षयताको उच्च सेयर मूल्य २७६ रुपैयाँ र न्यून मूल्य १८० रुपैयाँ रहेको छ। सोमबार २५२ रुपैयाँ आसपास कारोबार भएको सेयरले तत्कालका लागि २६८ देखि २७६ रुपैयाँको क्षेत्रमा प्रतिरोध सामना गर्न सक्ने प्राविधिक विश्लेषण छ।

शिवश्री हाइड्रोपावर : सस्तो मूल्यको सेयरमा लगानीकर्ताको चासो

शिवश्री हाइड्रोपावरमा पनि पछिल्लो समय कारोबार बढेको छ। गत बिहीबार कम्पनीको १२ करोड ४० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। सो दिन सेयर मूल्य करिब ६ प्रतिशत बढेर प्रतिकित्ता २१२ रुपैयाँ पुगेको थियो।

सोमबार भने कम्पनीको करिब २ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। सेयर मूल्य पाँच रुपैयाँभन्दा बढी घटेर २०७ रुपैयाँमा झरेको थियो।

बजारमा तुलनात्मक रूपमा कम मूल्यमा कारोबार भइरहेका करिब आधा दर्जन कम्पनीमध्ये शिवश्री पनि पर्छ। बजार बढ्ने क्रममा रहेका बेला सस्तो मूल्यका सेयरमा लगानीकर्ताको आकर्षण बढ्ने भएकाले यसको मूल्य तथा कारोबारमा समेत प्रभाव परेको देखिन्छ।

कम्पनीको आधारभूत अवस्था भने अझै चुनौतीपूर्ण छ। आर्थिक वर्ष २०८१/८२ मा करिब १ करोड रुपैयाँ नाफा कमाएको शिवश्री २०८२/८३ मा ११ करोड ९१ लाख रुपैयाँ नोक्सानमा गएको छ।

कम्पनीको विद्युत् बिक्री आम्दानी पनि घटेको छ। अघिल्लो आर्थिक वर्षको ३९ करोड ६७ लाख रुपैयाँबाट घटेर गत आर्थिक वर्षमा ३७ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।

कम्पनीको सञ्चित नोक्सानसमेत बढ्दै गएको छ। यस्तो नोक्सान १ अर्ब २९ करोड रुपैयाँबाट बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ। कम्पनीले हालसम्म आफ्ना सेयरधनीलाई लाभांश वितरण गरेको छैन।

शिवश्रीले केही समयअघि १ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको थियो।

कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ।

शिवश्रीको एक वर्षयताको उच्च सेयर मूल्य २५१ रुपैयाँ र न्यून मूल्य १५१ रुपैयाँ रहेको छ।

बजार बढ्दा ‘सस्तो सेयर’मा जोखिम पनि उत्तिकै

समग्र बजारमा सुधार आउँदा कम मूल्यमा रहेका कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढ्नु सामान्य प्रवृत्ति भए पनि कम्पनीको मूल्य बढ्नुको कारण र आधारभूत अवस्था फरक–फरक हुन सक्छ।

लिबर्टी इनर्जी नाफामा फर्किएको भए पनि सञ्चित नोक्सान उच्च छ भने शिवश्री हाइड्रोपावर पुनः ठूलो नोक्सानमा गएको छ। त्यसैले मूल्य र कारोबार बढेको आधारमा मात्रै लगानी निर्णय गर्नुको सट्टा कम्पनीको वित्तीय अवस्था, आयोजना क्षमता, आम्दानी, नाफा–नोक्सान, सञ्चित नोक्सान तथा भविष्यका योजनालाई समेत मूल्यांकन गर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij