२०८३ असोज ७ बुधबार

भूमि प्रशासन नेपालगञ्जद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

ई आर्थिक    बुधबार, असोज ७ २०८३
133
Shares
भूमि प्रशासन नेपालगञ्जद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन

बाँके ।  भूमि प्रशासन कार्यालय नेपालगञ्ज बाँकेले गत आर्थिक वर्ष २०८२/८३ मा ७४ करोड रूपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।

जेनजी प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते भएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएपछि भूमि प्रशासन कार्यालय नेपालगञ्ज बाँकेले हाल विद्युतरोडमा भाडाको भवनबाट कार्यालय सञ्चालन गर्दै आएको छ।

भाडाको भवनबाटै कार्यालयले पुँजीगत लाभकर, रजिष्ट्रेसन दस्तुर, फारम र पुर्जा बिक्री तथा अन्य शीर्षकबाट गरी ७४ करोड ८६ लाख २९ हजार १०८ रूपैयाँ राजस्व संकलन गरेको भूमि प्रशासन कार्यालयका प्रमुख सन्तोष विकले जानकारी दिए।

उनका अनुसार गत आवमा कार्यालयले सबैभन्दा बढी पुँजीगत लाभकर दस्तुरबाट संकलन गरेको छ। पुँजीगत लाभकर दस्तुरबाट मात्रै ३७ करोड ४० लाख ९९ हजार ६०७ रूपैयाँ राजस्व संकलन गरेको छ। त्यसैगरी, रजिष्ट्रेसन दस्तुरबाट ३६ करोड ९० लाख ५९ हजार १६४ रूपैयाँ राजस्व संकलन भएको छ।

उक्त कार्यालयले सेवा शुल्क, अन्य प्रशासनिक दस्तुरबापत ५४ लाख २३ हजार ९१४ रूपैयाँ संकलन गरेको कार्यालय प्रमुख विकले जानकारी दिए। त्यस्तै फारम र पुर्जा बिक्रीबापत १७ हजार ६००, न्यायिक दस्तुर, दण्ड, जरिवानाबाट १५ हजार ९०० र धरौटी सदर र स्यहार राजस्व शीर्षकबाट १२ हजार ९२३ रूपैयाँ संकलन भएको छ।

कार्यालयले गत आवमा ठूलो सङ्ख्यामा जग्गासम्बन्धी प्रशासनिक तथा कानूनी प्रक्रिया सम्पन्न गरेको छ। जग्गा तथा सम्पत्तिको कारोबारसँग सम्बन्धित लिखत पारित, नामसारी, दाखिला खारेज, संशोधनलगायतका कामसँगै कार्यालयले सरकारको राजस्व संकलनमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। जग्गा कारोबार तथा सम्पत्तिसम्बन्धी सेवाग्राहीको कामलाई प्रभावकारी र व्यवस्थित बनाउँदै सेवा प्रवाहसँगै राजस्व संकलनको कामलाई निरन्तरता दिइएको कार्यालय प्रमुख विकको भनाइ छ।

भूमि प्रशासन कार्यालयले ‘जेनजी’ प्रदर्शनका क्रममा २०८२ भदौ २४ गते नेपालगञ्जस्थित भूमि प्रशासन कार्यालयमा गरिएको आगजनीबाट कार्यालय भवन र कागजपत्रसँगै जलेर नष्ट भएका ३१ हजार १८९ जग्गाको जग्गाधनी प्रमाणपुर्जाको स्रेस्ता कायम गरेको छ।

कार्यालय प्रमुख विकले विभागको अनलाइन प्रणालीमा समस्या भएबाहेक अन्य समय सेवाग्राहीको काममा कुनै ढिलासुस्ती नहुनेगरी सेवा प्रवाह गर्न आफूहरू लागिपरेको दाबी गरे। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij