काठमाडौं । मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेका हुन्।
मन्त्रिपरिषद्ले सरकारी निर्णय प्रक्रिया, सरलीकरण तथा डिजिटल बनाउनेसम्बन्धी नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।
त्यस्तै, नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएका निकायको हितको निसर्गबाट प्राप्त लाभका धितोपत्रसम्बन्धी अग्रिम करको दर निर्धारण गरिएको छ। विनियम बजारको कार्य गर्ने निकायले प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ३.५ प्रतिशत र ३६५ दिन वा सोभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकममा ५ प्रतिशत अग्रिम कर कायम गर्ने निर्णय भएको छ।
बैठकले नेपाल न्याय सेवा, न्याय समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृतहरू खगेन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढुवा गर्ने निर्णय पनि गरेको छ।
यसैगरी, साउदी अरबमा मृत्यु वा घाइते भएका नेपाली नागरिकको बीमा तथा क्षतिपूर्ति रकमसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन साउदी नागरिक कानुन व्यवसायीलाई वारेसनामा (पावर अफ अटर्नी) दिने आदेश जारी गर्ने निर्णय गरिएको छ।
सरकारले चक्रिय राहत कोष सञ्चालन कार्यविधि–२०८३ स्वीकृत गर्ने निर्णयसमेत गरेको छ।
त्यस्तै, नेपाल प्रशासन सेवाका सहसचिव कालीप्रसाद पराजुलीलाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको प्रवक्ता पोखरेलले जानकारी दिए।
सरकारले सार्वजनिक गरेको निर्णयअनुसार मन्त्रिपरिषद् बैठकले प्रशासनिक प्रक्रिया सुधार, करसम्बन्धी व्यवस्था, कर्मचारी व्यवस्थापन तथा राहत र क्षतिपूर्ति प्रक्रियासँग सम्बन्धित विषयमा निर्णय गरेको हो।