२०८३ भाद्र २४ बुधबार

‘युवा पुस्ताको खबरदारी निरन्तर चलिरहोस्’: रास्वपा सभापति लामिछाने

ई आर्थिक    मंगलबार, भाद्र २३ २०८३
551
Shares
‘युवा पुस्ताको खबरदारी निरन्तर चलिरहोस्’: रास्वपा सभापति लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेन्जी आन्दोलनले परम्परागत राजनीतिक शैलीप्रतिको अस्वीकार प्रकट गरेको बताएका छन्।

जेनजी आन्दोलनको एक वर्ष पुगेको अवसरमा वक्तव्य जारी गर्दै लामिछानेले भ्रष्टाचार, दलीय भागबन्डा, संस्थागत अक्षमता, नागरिक अधिकारमाथिको नियन्त्रण र अवसरविहीनताविरुद्ध युवा पुस्ता सडकमा उत्रिएको बताएका हुन्।

लामिछानेले आन्दोलन कुनै राजनीतिक दलको आह्वानमा नभई स्वस्फूर्त रूपमा भएको दाबी गर्दै त्यसलाई कुनै पनि राजनीतिक दल वा नेताले आफ्नो राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका छन्।

‘यो कुनै दल विशेषको आह्वानमा भएको आन्दोलन थिएन; यो पूर्णतः स्वस्फूर्त जागरण थियो,’ उनले भनेका छन्, ‘कुनै पनि राजनीतिक दल वा नेताले यसलाई आफ्नो सङ्कुचित राजनीतिक लाभको औजार बनाउने दुस्साहस गर्नु हुँदैन।’

उनले भाद्र २३ र २४ गते भएको घटनाप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका नागरिक तथा कर्तव्य पालनाका क्रममा मृत्यु भएका प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

‘परिवर्तनका लागि अब यो देशमा कुनै पनि आमाको काख नरित्तियोस्,’ लामिछानेले भनेका छन्।

आन्दोलनका क्रममा घाइते तथा अङ्गभङ्ग भएका व्यक्तिको उचित उपचार र दीर्घकालीन पुनर्स्थापनाको जिम्मेवारी राज्यले पूरा गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्। सम्बन्धित परिवारको उचित हेरचाह तथा घाइतेहरूको पूर्ण उपचार राज्यको दायित्व भएको उनको भनाइ छ।

लामिछानेले जेन्जी आन्दोलनले डिजिटल युगमा हुर्किएको, विश्वव्यापी चेतना बोकेको र आफ्नै देशमा भविष्य खोज्ने युवा पुस्ताको आकांक्षा प्रकट गरेको बताएका छन्। युवा पुस्ताले अब कुशासन स्वीकार नगर्ने सन्देश आन्दोलनमार्फत दिएको उनको दाबी छ।

‘हिजो सडकबाट नवयुवाहरूले सोधेका हरेक प्रश्नको जवाफ दिने ठाउँमा समयले आज हामीलाई उभ्याएको छ,’ उनले भनेका छन्, ‘हामीसँग पनि जवाफ माग्न भोलि फेरि कोही उभिनेछ।’

उनले युवा, नागरिक समाज तथा आम नागरिकलाई राजनीतिक दल र नेतृत्वको निरन्तर खबरदारी तथा कार्यसम्पादनको निर्मम समीक्षा गर्नसमेत आग्रह गरेका छन्। यद्यपि, आम मनोविज्ञानमा निराशाको भाष्य स्थापित हुन नदिनुपर्ने उनको भनाइ छ।

‘नागरिक आक्रोशलाई राष्ट्र निर्माणको शक्तिमा रूपान्तरण गर्ने यस ऐतिहासिक यात्रामा हामी सबै एकताबद्ध हुनैपर्छ,’ लामिछानेले अपिल गरेका छन्।

उनले जेन्जी आन्दोलनले उठाएको विधिको शासन, समतामूलक समृद्धि र राष्ट्रिय स्वाभिमानको मुद्दाबाट रास्वपा विचलित नहुने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij