काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा निर्माण सम्पन्न गरेको ३३/११ केभी, ६/८ एमभीए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ।
बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको प्राधिकरणले जनाएको छ।
करिब १२ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाअन्तर्गत १० किलोमिटर लामो ११ केभी प्रसारण लाइनसमेत निर्माण गरिएको छ। नयाँ पूर्वाधार सञ्चालनमा आएसँगै खड्क नगरपालिका र सुरुंगा नगरपालिकाअन्तर्गतका कदमाहा, लालपट्टा, कल्याणपुरलगायत क्षेत्रका करिब १५ हजार विद्युत् उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित हुने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार नयाँ सबस्टेसन सञ्चालनमा आएपछि ती क्षेत्रमा लामो समयदेखि देखिँदै आएको कम भोल्टेज, बारम्बार लाइन ट्रिप हुने तथा विद्युत् आपूर्तिमा हुने अवरोधको समस्या घट्नेछ। यसले भोल्टेज प्रोफाइल सुधार गर्दै उपभोक्तालाई थप स्थिर, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मधेस प्रदेशमा विद्युत् सेवाको गुणस्तर सुधारका लागि यो महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ।
उहाँले विद्युत् उत्पादन वृद्धि मात्र सरकारको लक्ष्य नभई उत्पादन भएको विद्युत् प्रत्येक घरपरिवार, उद्योग तथा व्यवसायसम्म गुणस्तरीय र भरपर्दो रूपमा पुर्याउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।
मन्त्री श्रेष्ठले प्रसारण तथा वितरण प्रणालीलाई आधुनिक, सुरक्षित र विश्वसनीय बनाउने अभियान देशभर तीव्र रूपमा अघि बढिरहेको बताउँदै नागरिकका गुनासालाई समाधानमा रूपान्तरण गर्ने सरकारको प्रतिबद्धता निरन्तर रहने स्पष्ट पार्नुभयो।