काठमाडौं । दोलखा र रामेछाप जिल्लामा निर्माणाधीन ९ मेगावाट क्षमताको खिम्ती (घ्वाङ) साना जलविद्युत आयोजनाका लागि एनएमबी बैंक लिमिटेडले रु. १ अर्ब २४ करोड ऋण लगानी गर्ने भएको छ।
वन्डर्स इनर्जी प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनाका लागि बैंक र कम्पनीबीच मंगलबार ऋण लगानी सम्झौता सम्पन्न भएको हो। सम्झौतापत्रमा एनएमबी बैंकका सस्टेनेबल इनर्जी बैंकिङ विभाग प्रमुख दिनेश दुलाल तथा कम्पनीका प्रबन्ध निर्देशक प्रकाशचन्द्र दुलालले हस्ताक्षर गरेका छन्।
कम्पनीका अनुसार आयोजना दोलखा जिल्लाको जिरी नगरपालिका–१ र रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१ हुँदै बग्ने खिम्ती (घ्वाङ) खोलामा निर्माण भइरहेको छ। आयोजनालाई २०८४ साल चैतभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको जनाएको छ।

आयोजनाका लागि आवश्यक सरकारी जग्गा प्राप्ति तथा रुख कटानको अनुमति २०८३ वैशाख १५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भइसकेको कम्पनीले जनाएको छ। साथै, आवश्यक निजी जग्गा खरिद, निर्माणका लागि विद्युत् जडान, पहुँचमार्ग, गोदाम तथा आवासगृह निर्माण सम्पन्न भइसकेको छ। सिभिल, हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल निर्माणका ठेक्का सम्झौतासमेत सम्पन्न भई हालसम्म करिब ३० प्रतिशत भौतिक प्रगति हासिल भएको कम्पनीको दाबी छ।
कुल रु. १ अर्ब ८० करोड लागत अनुमान गरिएको आयोजनामध्ये रु. १ अर्ब २४ करोड बैंक ऋणमार्फत व्यवस्थापन गरिनेछ। बाँकी रु. ५६ करोडमध्ये करिब रु. ३५ करोड लगानी सुनिश्चित भइसकेको र बाँकी रकम असोजभित्र जुटाउने तयारी भइरहेको प्रबन्ध निर्देशक प्रकाशचन्द्र दुलालले जानकारी दिए।
उनका अनुसार गौरीशंकर संरक्षण क्षेत्रभित्र निर्माण हुने यो आयोजना नेपालमा निर्माणाधीन जलविद्युत आयोजनामध्ये हाइड्रो सेलेक्ट (Hydro Select) मापदण्ड अनुसरण गरी सामाजिक तथा वातावरणीय अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्दै निर्माण हुने पहिलो आयोजना हुनेछ।
कम्पनीले आयोजनाले राष्ट्रिय विद्युत् प्रणालीमा थप ऊर्जा उपलब्ध गराउनुका साथै स्थानीय स्तरमा रोजगारी, पूर्वाधार विकास तथा क्षेत्रीय आर्थिक गतिविधिमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।