काठमाडौं । थापाथली क्षेत्रमा लामो समयदेखि अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारमा मंगलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल व्यवस्थापनका लागि सम्बन्धित निकायलाई सक्रिय बनाएका छन्।
आगलागीबाट स्थानीय बासिन्दाको सुरक्षा तथा जनधनमा जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै मन्त्री श्रेष्ठ बुधबार बिहान घटनास्थल पुगेर स्थलगत निरीक्षण गरेका हुन्। निरीक्षणका क्रममा उनले अव्यवस्थित तारका कारण जुनसुकै बेला ठूलो दुर्घटना हुन सक्ने भएकाले यसको समाधानमा थप ढिलाइ गर्न नहुने बताएका छन्।
मन्त्री श्रेष्ठको पहलमा नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, दूरसञ्चार सेवा प्रदायक, इन्टरनेट सेवा प्रदायक संस्था, काठमाडौं महानगरपालिका तथा अन्य सम्बन्धित निकायबीच आवश्यक समन्वय प्रक्रिया अघि बढाइएको छ। उनले जोखिमपूर्ण अवस्थामा रहेका तारहरूको तत्काल व्यवस्थापन गर्न र दीर्घकालीन रूपमा व्यवस्थित तार व्यवस्थापनको कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठले नागरिकको सुरक्षा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै यस्ता समस्याको स्थायी समाधानका लागि सबै सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताए। राजधानीका विभिन्न क्षेत्रमा वर्षौंदेखि गुजुल्टिएर रहेका विद्युत तथा दूरसञ्चारका तारलाई व्यवस्थित बनाउने अभियानलाई थप तीव्रता दिइने पनि उनले स्पष्ट पारे।
यसैबीच, स्थानीयवासीले थापाथली मात्र नभई काठमाडौंका अन्य क्षेत्रमा समेत अव्यवस्थित तार व्यवस्थापनको कामलाई प्रभावकारी र द्रुत रूपमा अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
हाल आगलागीको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको छ भने जोखिम न्यूनीकरणका लागि आवश्यक कदम चाल्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।