काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको ऊर्जा व्यापार तथा पूर्वाधार (विशिष्ट श्रेणी) सल्लाहकारमा चितवनका विवेक राज कँडेल नियुक्त हुनुभएको छ।
मन्त्रीको सल्लाहकारका रूपमा कँडेलले नेपालको दीर्घकालीन ऊर्जा सुरक्षालाई केन्द्रमा राखेर ऊर्जा नीति तर्जुमा, आन्तरिक ऊर्जा क्षेत्रको सुधार तथा निजी क्षेत्रको लगानी आकर्षित गर्ने रणनीतिक परामर्श प्रदान गर्ने जिम्मेवारी सम्हाल्नुहुनेछ। साथै, बृहत् ऊर्जा व्यापार सुधार तथा क्षेत्रीय ऊर्जा बजार एकीकरणलाई गति दिने कार्यमा पनि उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।
शैक्षिक रूपमा कँडेलले त्रिभुवन विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङ अध्ययन गर्नुभएको छ। त्यसपछि उहाँले अमेरिकास्थित हार्वर्ड विश्वविद्यालयको केनेडी स्कुल अफ गभर्नमेन्टबाट जलवायु, ऊर्जा रूपान्तरण तथा नेतृत्व विषयमा विशेषज्ञतासहित सार्वजनिक प्रशासन (एमपीए) मा स्नातकोत्तर गर्नुभएको छ। साथै, नेदरल्यान्ड्सको युनिभर्सिटी अफ ट्वेन्टेबाट ऊर्जा व्यवस्थापन (इनर्जी म्यानेजमेन्ट) मा पनि स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ।
कँडेलसँग संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी), विश्व बैंक, अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा एजेन्सी (आईरेना) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा डेढ दशकभन्दा बढी समय काम गरेको अनुभव छ।
ऊर्जा क्षेत्रको नीति निर्माण, पूर्वाधार विकास, ऊर्जा व्यापार तथा अन्तर्राष्ट्रिय सहकार्यमा रहेको उहाँको अनुभवले मन्त्रालयको ऊर्जा सुधार तथा क्षेत्रीय ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।