२०८३ साउन १४ बिहिबार

विद्युत् प्राधिकरणका खरिद र भूमिगत परियोजनामाथि छानबिन समिति गठन

ई आर्थिक    बिहिबार, साउन १४ २०८३
513
Shares
विद्युत् प्राधिकरणका खरिद र भूमिगत परियोजनामाथि छानबिन समिति गठन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ट्रान्सफर्मर तथा विद्युत् मिटर खरिद र विद्युत्का तार भूमिगत गर्ने परियोजनासम्बन्धी प्राप्त उजुरीमाथि छानबिन प्रक्रिया अघि बढाएका छन्।

मन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विगतका खरिद प्रक्रिया तथा सञ्चालनमा रहेका परियोजनासम्बन्धी उजुरी र गुनासोको अध्ययन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको हो।

समितिको संयोजकमा सञ्चालक समिति सदस्य शम्भु केसी रहेका छन्। समितिमा प्राविधिक, कानुनी तथा सार्वजनिक खरिदसम्बन्धी तीन जना विज्ञ सदस्य रहनेछन् भने प्राधिकरणले तोकेको उपकार्यकारी निर्देशक सदस्य सचिवका रूपमा रहने व्यवस्था गरिएको छ।

छानबिन समितिलाई विगतका खरिद प्रक्रिया, सञ्चालनमा रहेका परियोजना तथा प्राप्त उजुरीहरूको अध्ययन गरी सुधारका सुझावसहित दुई महिनाभित्र प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार ट्रान्सफर्मर र विद्युत् मिटर खरिदसम्बन्धी विषयमा पछिल्लो दुई महिनामा ६६८ वटा उजुरी दर्ता भएका छन्। एसियाली विकास बैंक (एडीबी) को सहयोगमा सञ्चालन भइरहेको विद्युत्का तार भूमिगत गर्ने परियोजना तथा ट्रान्सफर्मर खरिद प्रक्रियासम्बन्धी विषयमा सबैभन्दा धेरै उजुरी प्राप्त भएको उनले बताए।

शाहीका अनुसार प्राप्त सबै उजुरीको अध्ययन तथा आवश्यक छानबिन समितिले गर्नेछ।

प्राधिकरणका अनुसार प्राप्त धेरैजसो उजुरीहरू नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा भएका खरिद प्रक्रिया तथा परियोजनासँग सम्बन्धित छन्।

ती विषयमा समितिले तथ्यगत अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन बुझाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij