२०८३ साउन ९ शनिबार

दोलखाको यलुङ री हिमालमा हिमपहिरो : पाँच विदेशी र दुई नेपालीसहित सात आरोहीको मृत्यु

ई आर्थिक    मंगलबार, कार्तिक १८ २०८२
2.8K
Shares
दोलखाको यलुङ री हिमालमा हिमपहिरो : पाँच विदेशी र दुई नेपालीसहित सात आरोहीको मृत्यु

दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ हिमशृंखलामा पर्ने यलुङ री हिमालको बेसक्याम्पमा हिमपहिरो खस्दा सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँच विदेशी र दुई नेपाली आरोही रहेका छन्।

दोलखा प्रहरीले जनाएको अनुसार मृत्यु हुने विदेशीमध्ये तीन जना अमेरिकी, एक जना क्यानाडेलीएक जना इटालियन नागरिक हुन्। उनीहरूसँगै रहेका दुई नेपाली पथप्रदर्शकको पनि मृत्यु भएको पुष्टि भएको हो।

घटनामा पाँच जना घाइते भएका छन्। उनीहरूको उद्धारका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली सोमबार साँझ नै घटनास्थल पुगिसकेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्।

करीब ५,६३० मिटर अग्लो यलुङ री हिमाल आरोहणका लागि सोमबार बिहान पाँच विदेशी र सात जना नेपाली गाइडसहितको टोली गएको थियो। बिहान करिब साढे ८ बजे उनीहरूलाई ठूलो हिमपहिरोले पुरेको प्रहरीले जनाएको छ।

गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीका अनुसार ठूलो हिउँपहिरो खसेको पुष्टि भए पनि मृतकहरूको संख्या सुरुमा यकिन गर्न कठिन भएको थियो। “हामी सम्पर्कमा रहने प्रयासमा छौं, पाँच विदेशी र दुई नेपालीको मृत्यु भएको खबर आएको छ,” उनले भने।

दोलखा प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोका अनुसार हिमपहिरोमा परेको टोलीको सूचना ढिलो प्राप्त भएको र समयमै उद्धार कार्य नहुँदा मानवीय क्षति भएको हो।

केही दिनयता रोल्वालिङ क्षेत्रको मौसम प्रतिकूल बनेको र लगातार हिमपात भएपछि हिमपहिरो खस्ने जोखिम बढेको प्रहरीले जनाएको छ। हिमपहिरोका कारण ना गाउँका स्थानीयहरू पनि सुरक्षित स्थानतर्फ सरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij