काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन दबाब दिएको भन्ने समाचार असत्य र भ्रमपूर्ण भएको जनाएको छ। पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा आएका यस्ता दाबीहरूबारे प्रधानमन्त्रीको सचिवालयले औपचारिक प्रतिक्रिया दिँदै खण्डन गरेको हो।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “कसैलाई मन्त्री बनाउने वा हटाउने निर्णय प्रधानमन्त्रीको विशुद्ध अधिकारक्षेत्रभित्र पर्छ। यस्तो निर्णय कुनै दबाब वा प्रभावका आधारमा हुँदैन।”
विज्ञप्तिमा गृहमन्त्री अर्यालले आगामी निर्वाचनको तयारी, शान्ति–सुरक्षा कायम राख्न तथा सुरक्षा निकायको मनोबल उच्च राख्न अहोरात्र खटिरहेको उल्लेख गरिएको छ।
श्रेष्ठले हालको संवेदनशील राजनीतिक परिस्थितिमा गलत सूचना र अफवाह नफैलाउन सबै पक्षलाई अनुरोध गर्दै भनेका छन्, “जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुसार बनेको यो सरकार गम्भीर जिम्मेवारी बोकेर अघि बढिरहेको छ। त्यसैले अफवाह र भ्रममा नपर्न सबैलाई आग्रह गरिन्छ।”
यसअघि केही सञ्चारमाध्यमले काठमाडौंका मेयर बालेन शाहले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्री कार्कीमाथि दबाब दिइरहेको दाबी गरेका थिए। सचिवालयको विज्ञप्तिले भने ती समाचारहरू पूर्णतः असत्य रहेको स्पष्ट पारेको छ।
