२०८३ असोज ४ आइतबार

साउनमा महँगी डेढ वर्षयताकै उच्च, विप्रेषण पनि रेकर्ड स्तरमा

ई आर्थिक    शनिबार, असोज ३ २०८३
304
Shares
साउनमा महँगी डेढ वर्षयताकै उच्च, विप्रेषण पनि रेकर्ड स्तरमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा महँगी दर ५.९६ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैङ्कले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनअनुसार साउनको मुद्रास्फीति पछिल्लो डेढ वर्षयताकै उच्च हो।

यसअघि २०८१ मङ्सिरमा महँगी दर ६.०५ प्रतिशत पुगेको थियो। गत आर्थिक वर्षको साउनमा भने महँगी दर १.६८ प्रतिशत मात्रै थियो।

राष्ट्र बैङ्कका अनुसार साउनमा खाद्य तथा पेयपदार्थ समूहको महँगी ६.७७ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको महँगी ५.५२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति २.२८ प्रतिशत ऋणात्मक रहेको थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत थियो।

खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत साउनमा घिउ तथा तेलको मूल्य १५.६२ प्रतिशत, फलफूलको १५.३९ प्रतिशत, माछा तथा मासुको ८.६५ प्रतिशत, तरकारीको ६.९० प्रतिशत र मरमसलाको मूल्य ४.८० प्रतिशतले बढेको राष्ट्र बैङ्कले जनाएको छ।

विदेशी मुद्रा सञ्चिति ३९ खर्ब नाघ्यो

राष्ट्र बैङ्कको प्रतिवेदनले नेपालको बाह्य आर्थिक तथा वित्तीय क्षेत्र थप सुदृढ बन्दै गएको देखाएको छ। बढ्दो विप्रेषण, उच्च चालु खाता बचत र सकारात्मक शोधनान्तर स्थितिका कारण विदेशी मुद्रा सञ्चिति अहिलेसम्मकै उच्च अवस्थामा पुगेको हो।

साउन मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब २३ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २५ अर्ब ८४ करोड रहेको छ। यो सञ्चितिले करिब १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैङ्कले जनाएको छ।

समीक्षा अवधिमा चालु खाता ९४ अर्ब ५९ करोड रुपैयाँ बचतमा रहेको छ भने शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँ बचतमा छ।

यस अवधिमा वस्तु निर्यात ६१.७ प्रतिशतले र आयात ३१.० प्रतिशतले बढेको छ।

विप्रेषण एकै महिनामा २ खर्ब १५ अर्ब

चालु आर्थिक वर्षको पहिलो महिनामै विप्रेषण आप्रवाहले नयाँ रेकर्ड कायम गरेको छ। साउनमा विप्रेषण आप्रवाह २१.२ प्रतिशतले बढेर २ खर्ब १५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैङ्कका अनुसार कुनै एक महिनामा भित्रिएको यो अहिलेसम्मकै उच्च विप्रेषण हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.२ प्रतिशतले बढेर १ अर्ब ४० करोड डलर पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.० प्रतिशतले बढेको थियो।

वैदेशिक रोजगारीमा जानेको संख्या

साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ४२ हजार ६९३ रहेको छ। त्यस्तै, पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २७ हजार ७४८ रहेको राष्ट्र बैङ्कले जनाएको छ।

अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २३ हजार ६४४ थियो।

निजी क्षेत्रमा कर्जा ०.४ प्रतिशतले बढ्यो

साउनमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप परिचालन ०.३ प्रतिशतले घटेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ०.४ प्रतिशतले बढेको छ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४.५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ७.० प्रतिशत रहेको छ।

यस्तै, बैङ्क तथा वित्तीय संस्थाबीचको भारित औसत अन्तरबैङ्क ब्याजदर २.७५ प्रतिशत रहेको छ। वाणिज्य बैङ्कहरूको निक्षेपको भारित औसत ब्याजदर ३.१५ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.४८ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij