२०८३ साउन ९ शनिबार

भारतीय बाँधले सप्तरीमा डुबान, चुरे मुहानका नदीले पनि बाढी समस्या बढायाे

ई आर्थिक    सोमबार, असार १९ २०७४
5.4K
Shares
भारतीय बाँधले सप्तरीमा डुबान, चुरे मुहानका नदीले पनि बाढी समस्या बढायाे
जितेन्द्रकुमार झा, सोमबार, १९ असार २०७४ ।

तिलाठी- भारतले सीमावर्ती भूभागमा जबर्जस्ती बाँध बाँधेर नदीको मुहान थुनेका कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन्। शनिबार बिहान सप्तरीको खाँडोलगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिणी र उत्तरी भेगका एक दर्जनभन्दा बढी गाउँ डुबायो। सो क्षेत्रमा थप बाढीको त्रास कायमै छ।

भारतीयले बाँध निर्माण गरी नदी छेकेका कारण सप्तरीका रम्पुरा मल्हनिया, सकरपुरा, कोइलाडी, लौनियाँ, तिलाठी, हनुमान नगरलगायतका गाउँ बर्सेनि डुबानमा पर्ने गरेका छन्।

दक्षिणी भेगका सकरपुरा, तिलाठी, बेल्ही, रम्पुरामल्हनियाँसहितका गाउँमा अझै पनि करिब ४ सयभन्दा बढी घर बाढीको प्रभावमा छन्। पानीको निकास नभएपछि सर्वसाधारण थप पीडित बनेका छन्। मनसुन सुरु भएपछिको पहिलो बाढीमै यस्तो अवस्था आएका कारण नदी किनारका बासिन्दामा बाढीको त्रास बढेको तिलाठीका पूर्व गाविस अध्यक्ष दिनेश्वर मिश्रले बताए।

भारतीयले झन्डै दुई दशकदेखि आफ्नो भागमा बाँध निर्माण गरी नदी छेकेका कारण सप्तरीका रम्पुरा मल्हनिया, सकरपुरा, कोइलाडी, लौनियाँ, तिलाठी, हनुमान नगरलगायतका गाउँ हरेक वर्ष डुबानमा पर्ने गरेको मिश्र बताउँछन्।

झन्डै चार दशकदेखि खाँडो नदीले तिलाठीसहितका दक्षिणी भेगलाई यसरी नै प्रभाव पार्दै आएको मिश्रले बताए। स्थानीय निकाय विघटन हुनुअघि लगातार तीन कार्यकालसम्म तिलाठीको अध्यक्ष पदमा निर्वाचित मिश्र भन्छन्, ‘वर्षा याममा बाढीको त्रास सहेर बस्नु हाम्रो नियति नै बन्न पुगेको छ तर राज्य बेखबरजस्तै छ।’

कुनौली बोर्डरस्थित कोसीको पश्चिमी तटबन्धदेखि सप्तरीको तिलाठीस्थित खाँडो नदीसम्मको झन्डै तीन किलोमिटर भूभागमा भारतले सन् १९७४ देखि नै बाँध बनाउन सुरु गरेको स्थानीयको भनाइ छ। भारतीयले निर्माण गरेको बाँधकै कारण उत्तर–दक्षिण भएर नेपालबाट भारततर्फ बग्ने खाँडो, महुली र जिता नदीले प्राकृतिक बहाव परिवर्तन गरी पूर्वपश्चिम हुँदै नेपालतर्फ बग्न सुरु गरेको स्थानीय अञ्जनीकुमार दासले सुनाए।

गत वर्ष तिलाठी कुनौली सिमानामै रहेको बाँध खाँडो नदीले कटान गरेपछि तिलाठीवासीको विरोधका कारण भारतीय पक्षले बनाउन सकेन। तीन किलोमिटर लामो तटबन्धको बीचमा ५० मिटरजति कटानका कारण नेपाली भूभागको डुबान समस्या कम भइनहालेको स्थानीय देवनारायण यादवले बताए। ‘हाम्रो प्रतिवादका कारण गत वर्षको कटानपश्चात् भारतीयले उक्त बाँध पुनर्निर्माण गर्न सकेनन्’, यादवले भने, ‘एकातिर ५० मिटर जति बाँध कटान भएको छ भने अर्कातिर वर्षौंदेखिको अवरोधका कारण खाँडो नदीको प्राकृतिक मुहान नै पुरिएको अवस्था छ, यसै कारण हाम्रो भूभाग बर्सेनि डुबानमा पर्ने गरेको छ।’

डुबान तथा गैरकानुनी बाँध निर्माणको विषयलाई लिएर गत वर्ष मात्रै भारतीय तथा नेपालका बासिन्दाबीच दसगजा क्षेत्रमा भिडन्तसमेत भएको थियो। भिडन्तपछि पनि दुवैतिरका प्रशासनले समस्या समाधानतर्फ खासै चासो नदेखाएकाले समस्या जस्ताको तस्तै रहेको यादवको भनाइ छ।

भारतीय पक्षले एकतर्फी रूपमा बनाएको बाँधले सन् १९७५ देखि नै नेपालतर्फका भूभाग प्रत्येक वर्ष वर्षायाममा डुबानमा पर्ने गरेको छ। पहिलापहिला नेपालतर्फ बाढीको जोखिम बढ्न थालेपछि यस क्षेत्रका अञ्चलाधीश, प्रमुख जिल्ला अधिकारी तथा प्रशासनिक अधिकृतको सक्रियतामा नेपाली रातारात भारत पसेर बाँध काट्ने गरेको यहाँका बुढापाका बताउँछन्। यस प्रकरणमा कयांैपटक दुवैतर्फका स्थानीयबीच झगडा पर्ने गरेको उनीहरू बताउँछन्। तर पछि भारतीय पक्षले बाँधको सुरक्षाका लागि बिहार प्रहरीको सशस्त्र गस्ती तथा हाल एसएसबीको कडा गस्ती खटाएकाले नेपाली भूभाग डुबानमा पर्नुको विकल्प नरहेको स्थानीय बताउँछन्।

पछिल्लो समयमा भारतीयले बाँध बलियो बनाउँदै लगेको छ। बाँधमाथि कालोपत्रे सडक र दुवै छेउमा वृक्षरोपण गरी उनीहरूले बाँधलाई झन् बलियो बनाएका छन्। कतिपय नेपाली जानकारले उक्त बाँध भारतीयले दसगजामै निर्माण गरेको भन्दै यसप्रति सरकारलाई अविलम्ब कदम चाल्नुपर्ने समेत बताउँछन्।

बाँध बनाएपछि निकासका रूपमा रहेको कुनौली बोर्डरस्थित पूर्वीकोसी तटबन्धमा फलामे गेट थियो। पानीको बहाव बढ्न थालेपछि गेट खोली निकास गर्ने व्यवस्था रहेकोमा केही वर्षयता सो गेटसमेत बन्द छ। कोसी नदीको बहाव पूर्वतर्फ गएपछि बाँध छेउमा भारतीयले खेती गर्न लागेको र गेटबाट पानी निकास दिँदा खेती नष्ट हुने भन्दै उनीहरूले उक्त गेटसमेत बन्द गरेका हुन्। यसबाट पानीको चाप झनै बढ्न थालेको छ। भारतीय पक्षले दक्षिण–पूर्व दुवैतर्फबाट पानीको बहाव नियन्त्रण गरेपछि सप्तरीको दक्षिणी भेगका हजारांै सर्वसाधारण बसेनि दुईतीन महिना कष्टकर जीवन बिताउन बाध्य छन्।

यो समस्याप्रति स्थानीय प्रशासन र राज्य पक्ष भने मौन बसेका छन्। बाँधबारे सुरुवाती दिनदेखि नै विभिन्न राजनीतिक दलसम्बद्ध व्यक्ति तथा भ्रातृ संगठन, विभिन्न संघसंस्था तथा स्थानीयले विरोध गर्दै आए पनि सरकारले पहल गरेको देखिँदैन।

सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालका अनुसार खाँडो नियन्त्रणका लागि यस वर्ष बजेट आए पनि तिलाठीवासीकै अवरोधका कारण नदीको दुवैतिर तटबन्ध निर्माण हुन नसकेको हो। ‘तिलाठीवासी आफँैले बाँध निर्माणमा अबरोध गरेपछि यस्तो अवस्था आएको हो’, प्रजिअ कटुवालले भने, ‘समस्या समाधानप्रति हामी निकै गम्भीरतापूर्वक लागेका छाँै, तिलाठीवासी बाँधको विरोधमा छन्, हामी गाउँलेहरुसँग निरन्तर सम्पर्क र छलफल गर्दै समस्याको दिर्घकालीन निकासका लागि पहल गरिरहेका छाँै।’

यता स्थानीय भने सरकारको एकतर्फी निर्णायले आफूहरूको उठिबास हुने निश्चित रहेको भन्दै तटबन्धको विरोध गर्दै आएको वताउँछन्। खाँडो नदी संघर्ष समितिका संयोजक तिलाठीका रामलखन यादवका अनुसार सरकारले प्रस्ताव गरेको बाँधले स्थानीय गाउँलेको झण्डै १ हजार विगाह जमिन नदीमै समाहित हुने देखिएपछि गाउँलेले बाँधको बिरोध गरेका हुन्।

 ‘२०२८ सालको सर्वेमा खाँडोको मूलधार बग्ने जग्गा किटान गरिएको छ, त्यस अनुरूप नै नदीको मुहान खन्ने तथा तटबन्ध बनाउने योजना अघि सार्दा उपयुक्त हुने हाम्रो ठहर छ’, यादवले भने, ‘कुनै नेताको व्यक्तिगत भोट बैंक जोगाउन नदीको ऐलानी जग्गालाई थाती राखेर सर्वसाधारणको निजी जग्गा हुँदै नदीको मुहान खन्नु कहाँ जाहेज हुन्छ र, यस्तो अवस्थामा हामीले विरोध नगरेर के गर्नु?’

‘कहिले बाढी त कहिले सुक्खाको मारमा किसान’ 

वर्षैनी आउने बाढीका कारण सप्तरीको दक्षिणी भेगको आर्थिक विकास हुन सकेको छैन्। यस क्षेत्रका ८५ प्रतिशत जनता कृषिमा आधारि छन्। तर, किसानले रोपेको धान प्रत्येक वर्ष डुबानका कारण वर्वाद हुनेगरेको कृषकको गुनासो छ।

सप्तरीको रम्पुरा मल्हनियाँका देवकृष्ण यादव भन्छन्, ‘यस क्षेत्रका कृषक प्रत्येक वर्ष हजारौ विगाहमा धान बाली लगाउने गर्दछन् तर उनीहरूले खेतीबाट फाइदा लिन भने सकेका छैनन्।’ उनी भन्छन्, ‘कहिले सुक्खाको मार त कहिले डुबानको समस्या, यस क्षेत्रका कृषक चौतर्फी पीडा भोग्न बाध्य छन्।’

खाँडो नदीको प्रभाव अघि राजविराज–कुनौली सडक खण्ड दुरुस्त रहेको बेला यस क्षेत्रमा निकै व्यापारिक चहलपहल हुने गरेको भए पनि अहिले खाँडो नदीले सडक नै बगाएका कारण हाल उक्त क्षेत्र सप्तरी सदरमुकामबाट बिच्छेद हुन पुगेको स्थानीय बताउँछन्। स्थानीयका अनुसार उक्त क्षेत्रमा विगत एक दशकदेखि सवारी साधन चल्न सकेका छैनन्।

सडक नै अवरुद्ध भएपछि उक्त क्षेत्रमा कृषि बजार र खेतीका अतिरिक्त आय आर्जनको अर्को कुनै पनि विकल्प भने रहेको देखिँदैन्। नदीको वहाव नियन्त्रण गरिएका कारण अव्यवस्थित पानीले तिलाठीस्थित वेल्ही भन्सारमा रहेको कृषि बजारसमेत नराम्ररी प्रभावित परेको छ। पहिला नुनदेखि सुनसम्म सबै उपभोग्य सामग्री पाइने सो बजार अहिले उजाड भएको छ।

‘राजनीतिमा अघि, विकासमा पछि’

सप्तरीको दक्षिणी भेगमा पर्ने उक्त भू–भागले नेपाली राजनीतिमा निकै महत्वपूर्ण स्थान राख्छ। नेपालको प्रजातान्त्रिक आन्दोलन होस् वा भारतीय स्वतन्त्रता संग्राम,  यस भू–भागका वासिन्दाले दुवैतर्फको राजनीतिक आन्दोलनमा आफ्नो सक्रिय सहभागिता जनाएका छन्।

तर राज्य पक्षको उदासिनताले यो भू–भाग सधंै पीडित नै हुन बाध्य छ। विगत एक दशकदेखि जर्जर रहेको यो भू–भागमा हालसम्म पनि राज्यको ध्यान जान नसकेकोमा स्थानीयवासीको आक्रोश छ।

यस क्षेत्रबाट निर्वाचित भएर जाने नेताहरू राष्ट्रिय रानजीतिमा चर्चित छन्। तर पनि यो क्षेत्र सधैं उपेक्षित छ। यस क्षेत्रबाटैस्व. गजेन्द्र नारायण सिंह पटक–पटक मन्त्री भएका थिए। त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृह राज्यमन्त्री रामकुमार चौधरी पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए। यी नेताले यो क्षेत्रका लागि खासै केही गरेनन्। त्यतिमात्र नभइ नेपालमा प्रजातन्त्रका लागि आन्दोलन चलिरहेका बेला विपी कोइराला, गणेशमान सिंहलगायतको आश्रयस्थल यही क्षेत्र थियो। त्यसबेला यस क्षेत्रका जनताबाट पर्याप्त सहयोग पाएका ती नेतालाई पनि प्रजातन्त्रपछि यस क्षेत्रले कुनै महत्व राखेन। नेपाली मात्र नभइ भारतीय स्वतन्त्रता संग्रामका महानायकहरू जय प्रकाश नारायण, जेपी लोहियासहिताई समेत आश्रय दिएको गुन अहिले भारतीयले जबरजस्ती बाँध बनाएर यहाँको भू–भाग डुबानमा पारेर तिर्दैछन्।

चुरे मुहानका नदीले पनि बाढी समस्या बढायाे

सुबोध गौतम, काठमाडौं । सरकारले चुरेबाट निस्किएका ससाना नदीको बहाव नाप्ने र त्यसको सूचना सम्प्रेषण गर्ने प्रणाली अहिलेसम्म जडान गरेको छैन।

वर्षायाममा यिनै नदीले २ नम्बर प्रदेशका जिल्लामा दुःख दिने गरेका छन्। यिनले मौसम तथा बाढी पूर्वानुमान विज्ञलाई पनि झुक्याइरहेका छन्। चुरेबाट निस्किएर सप्तरी हुदै बग्ने खा“डो नदीमा आएको बाढीले शनिबार सप्तरीका पन्ध्र सय घर डुबानमा परे, सयौं सर्वसाधारणको बिचल्ली भयो। यस्तो घटना हरेक वर्षायाममा दोहोरिने गरेको छ।

‘सानो ठाउँमा क्षणिक तर ठूलो वर्षा भइरहेको छ, त्यसैले यसलाई मौसम पूर्वानुमान शाखाले समेत आफ्नो विवरणमा समेट्न सकेको छैन’

सरकारले चुरे मुहान भएका झन्डै आधा दर्जन नदीमा बहाव नाप्ने र सूचना दिने प्रणाली जडान गरेको छैन। ‘ती ससाना नदी हुन् र पानीको मात्रा स्थिर हुँदैन। त्यसैले हामीले तिनमा कुनै पनि प्रणाली जडान गरेका छैनौं’, बाढी पूर्वानुमान शाखाका जलविद् विनोद पराजुलीले भने।

उनका अनुसार चुरे हुँदै दक्षिणतर्फ बग्ने सप्तरीको खा“डो, सिराहा–धनुषाको सीमामा पर्ने रातु, उदयपुरको त्रियुगा, झापाको कमला, महोत्तरीको गागन खोलामा बहाव अवस्था र पूर्व चेतावनी सूचना सम्प्रेषण गर्ने प्रणाली जडान छैन। ‘यी नदी कम प्राथमिकतामा परेका हुन्’, पराजुलीले भने। त्यसो त जल तथा मौसम विज्ञान विभागले आगामी १० दिनभित्र माथि उल्लेख गरिएका नदीमध्ये कमलामा यो प्रणाली जडान गर्ने तयारी गरेको छ। ‘देशका ठूला सबै नदीमा यो प्रणाली जडान भइसकेको छ तर चुरेबाट निस्किने केही नदीमा छैन। अब तिनमा समेत जडान गर्नुपर्ने भएको छ’, पराजुलीले भने।

पराजुलीका अनुसार यी नदीले बढीमा सय वर्गकिलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्दैनन्। त्यसैले पनि प्राथमिकतामा परेका छैनन्। ‘तर यही क्षेत्रमा धेरै वर्षा भइरहेको छ। यस्तो वर्षाको अनुमान गर्न पनि कठिन भइरहेको छ’, उनले भने।

बाढी पूर्वानुमान शाखाले मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान हेरेर नदी र त्यसको बहावको अवस्थाबारे जानकारी दिन्छ। यस शाखाअन्तर्गत देशका ठूला नदी मेची, कोसी, सप्तगण्डकीका सबै शाखा, पश्चिम राप्ती, नारायणी, बबई, कर्णाली, भेरी, सेती, महाकालीलगायतका नदीमा बाढीको पूर्वानुमान गर्दै आएको छ। ‘बाढी आउनु आधा घन्टा अगाडि त्यसबारे जानकारी दिएर हामीले धेरै सर्वसाधारणलाई जोगाएका छौं’, पराजुलीले भने, ‘यो प्रणाली ससाना नदीमा पनि जडान गरियो भने सूचना सम्प्रेषण गर्न सकिन्छ।’

‘हामीले मौसमकै विवरण पछ्याउ“छौ। वर्षाको प्रवृत्ति परिवर्तन भइरहेको छ। सानो ठाउँमा क्षणिक तर ठूलो वर्षा भइरहेको छ। त्यसैले यसलाई मौसम पूर्वानुमान शाखाले समेत आफ्नो विवरणमा समेट्न सकेको छैन’, पराजुलीको अनुभव छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले सानो क्षेत्रफलमा हुने अतिवृष्टिको पूर्वानुमान ‘ट्र्याक’ गर्न गाह्रो भइरहेको बताए। ‘हामी प्राविधिक रुपमा अझै पूर्ण भइसकेका छैनौं। सायद एक डेढ वर्षभित्रमा हामी यस्ता वर्षाको पनि अनुमान गर्न सक्छौं’, उनले नागरिकस“ग भने। शाखाले अहिले भूउपग्रहबाट प्राप्त तस्बिर र विभिन्न मोडेल प्रयोग गरेर मौसमको पूर्वानुमान गर्दै आएको छ।

अर्यालका अनुसार अहिलेको मौसम पूर्वानुमानलाई प्रभावकारी बनाउन मौसम राडार स्थापना गर्नुपर्छ। चट्याङको अवस्था हेर्ने प्रविधि जडान गर्नुपर्छ। पछिल्ला दिनमा विभागले नौ स्थानमा यो प्रविधि जडान गरिसकेको छ र यसको परीक्षण गरिरहेको छ। मध्यपश्चिमको सुर्खेतमा मौसम राडार केन्द्र स्थापना गर्ने तयारी पनि भइरहेको छ।

‘त्यसैले अबको डेढदुई वर्षमा हामी जस्तोसुकै वर्षाको पूर्वानुमान गर्नसक्ने अवस्थामा पुग्छौं’, अर्यालले भने।  मौसम पूर्वानुमान महाशाखाले आफ्नो शनिबारको दैनिक बुलेटिनमा मध्य क्षेत्रका एकदुई स्थानमा भारी वर्षा हुने अनुमान गरेको थियो। महाशाखाका अधिकांश पूर्वानुमानमा एकदुई स्थान भनिए पनि ती कुन क्षेत्र हुन् भन्ने स्पष्ट पारिएको हुँदैन।

जलविज्ञ पराजुलीको बुझाइमा शनिबार सप्तरीमा पन्ध्र सय घर डुबानमा पर्नुमा खा“डो नदी किनारमा लगाइएको तटबन्ध पनि कारण हो। ‘कतिपय स्थानमा तटबन्ध फुटेर पानी बस्तीमा पसेको भन्ने जानकारी आएको छ। त्यसैले यस्ता नदीको तटबन्ध निर्माण गर्दा दिगोपनमा समेत ध्यान दिनुपर्ने भएको छ’, पराजुलीले भने।

शाखाअन्तर्गत ठूला नदी प्रणालीमा वर्षा र बहाव नाप्नेगरी करिब २ सय केन्द्र स्थापना गरिएका छन्। अधिकांश नदीमा दुईदेखि ६ स्थानमा प्रणाली जडान छन्। कर्णाली, पश्चिम राप्ती र नारायणीबाट सुरु भएको प्रणाली जडान कार्यक्रमले सन् २०१४ पछि व्यापकता पाएको हो। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij