२०८३ साउन ९ शनिबार

मधेश प्रदेशका बैंक तथा वित्तीय संस्थाद्वारा एक खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह

ई आर्थिक    मंगलबार, माघ १ २०८१
3.2K
Shares
मधेश प्रदेशका बैंक तथा वित्तीय संस्थाद्वारा एक खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह

ई-आर्थिक, पर्सा । मधेश प्रदेशको औद्योगिक क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ मा एक खर्ब २१ अर्ब ८७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन (मधेश प्रदेश)अनुसार आव २०७९/८० को तुलनामा आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाले मधेशका औद्योगिक क्षेत्रमा ११ दशमलव दुई प्रतिशतले कर्जा प्रवाह बढाएका छन्।

बैंक तथा वित्तीय संस्थाले आव २०७९/८० मा यहाँका औद्योगिक क्षेत्रमा एक खर्ब नौ अर्ब ५९ करोड कर्जा प्रवाह गरेका थिए। राष्ट्र बैंकको प्रतिवेदनअनुसार मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैरखाद्यवस्तु उत्पादन उद्योगतर्फ ५३ दशमलव ६८ प्रतिशत रहेको छ।

त्यसैगरी कृषि, वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३४ दशमलव ५५ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स एवं धातुका सामानको उत्पादनतर्फ चार दशमलव ४७ प्रतिशत रहेको छ।

त्यसैगरी निर्माण उद्योगतर्फ पाँच दशमलव ६७ प्रतिशत, खानी उद्योगतर्फ एक दशमलव २५ प्रतिशत र विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ४६ प्रतिशत कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आव २०८०/८१ म मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सामा ६३ दशमलव ४९ प्रतिशत अर्थात् ७७ अर्ब ३७ करोड कर्जा प्रवाह भएको छ। मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योग पर्सामा रहेकाले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह पनि पर्सामा भएको देखिन्छ।

यस्तै, दोस्रो धेरै औद्योगिक कर्जा प्रवाह हुने जिल्ला धनुषा रहेको छ। सो जिल्लामा नौ दशमलव ४४ प्रतिशत अर्थात् ११ अर्ब ५० करोड कर्जा प्रवाह भएको छ।

बारा जिल्लामा सात अर्ब ३१ अर्ब, सिराहामा छ अर्ब १० करोड, सर्लाहीमा छ करोड ४८ करोड, महोत्तरीमा पाँच अर्ब ५१ करोड, रौतहटमा चार अर्ब ५८ करोड र सप्तरीमा भने सबैभन्दा कम अर्थात् दुई अर्ब ९८ करोड रकम औद्योगिक क्षेत्रमा कर्जा प्रवाह भएको छ। रासस

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij