२०८३ साउन १० आइतबार

वैदेशिक रोजगार बीमा प्रणालीमा व्यापक सुधार हुँदै, घरदैलोमै पुगेर दाबी भुक्तानीमा सहजीकरण गरिने

ई आर्थिक    मंगलबार, साउन ५ २०८३
475
Shares
वैदेशिक रोजगार बीमा प्रणालीमा व्यापक सुधार हुँदै, घरदैलोमै पुगेर दाबी भुक्तानीमा सहजीकरण गरिने

काठमाडौं ।  सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको बीमा प्रणालीलाई थप सरल, प्रभावकारी र श्रमिकमैत्री बनाउने उद्देश्यले विभिन्न सुधारात्मक निर्णयहरू गरेको छ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार ऐन, २०६४ र वैदेशिक रोजगार नियमावली, २०६४ को मर्मअनुसार श्रमिकको सुरक्षा र बीमा सुविधामा सहज पहुँच सुनिश्चित गर्न नयाँ कार्ययोजना अघि सारेको हो।

मन्त्रालयले श्रमिकको वैदेशिक रोजगारीका क्रममा मृत्यु वा अङ्गभङ्ग भएको अवस्थामा बीमा दाबी प्रक्रियालाई सहज बनाउन पीडित परिवारको घरदैलोमै पुगेर सहजीकरण गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। यसका लागि नेपाल बीमा प्राधिकरणलाई आवश्यक समन्वय र कार्यान्वयनका लागि पत्राचार गरिने मन्त्रालयले जनाएको छ।

यस्तै, बीमा दाबी रकमको भुक्तानीलाई पारदर्शी र छिटोछरितो बनाउन अब हकवालाको बैंक खातामै सिधै रकम जम्मा हुने व्यवस्था मिलाइनेछ। भुक्तानी प्रक्रियामा मोबाइल बैंकिङ तथा अन्य विद्युतीय भुक्तानी प्रणाली (पेमेन्ट गेटवे) को प्रयोग गरिनेछ।

सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगार बोर्ड र नेपाल बीमा प्राधिकरणको डिजिटल प्रणालीबीच अन्तर–आबद्धता (एपिआइ) गरिने भएको छ। साथै, नेपाल बीमा प्राधिकरण, राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणाली तथा वैदेशिक रोजगारसम्बन्धी सूचना व्यवस्थापन प्रणाली (भिइआरएसपी–एमआइएस) बीच समन्वयात्मक पहुँच स्थापना गरी सूचना प्रणालीलाई एकीकृत गरिने मन्त्रालयले जनाएको छ।

बीमा सेवाको दायरा विस्तार र सुधारका लागि मन्त्रालयका उपसचिवको संयोजकत्वमा उच्चस्तरीय समिति पनि गठन गरिएको छ। समितिले हालको बीमा व्यवस्था, दाबी भुक्तानीको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको आवश्यकता, बीमा कभरेज विस्तार गर्दा प्रिमियममा पर्ने प्रभाव तथा श्रमिकमैत्री बीमा प्रणाली विकासका उपायहरूको अध्ययन, विश्लेषण र समीक्षा गरी प्रतिवेदन पेस गर्नेछ।

त्यसैगरी, वैदेशिक रोजगारीमा जाने श्रमिक तथा उनीहरूका परिवारलाई बिमाको आवश्यकता र महत्त्वबारे जानकारी गराउन बीमा साक्षरता कार्यक्रम सञ्चालन गरिने भएको छ। यसका लागि नेपाल बीमा प्राधिकरण, बीमा कम्पनीहरू तथा मन्त्रालय मातहतका निकायहरूले संयुक्त रूपमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार यी निर्णयहरूको प्रभावकारी कार्यान्वयनपछि वैदेशिक रोजगारीमा रहेका श्रमिक तथा उनीहरूका परिवारले बीमा दाबी र भुक्तानी सेवा झन्झटरहित, छिटो र सहज रूपमा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij