काठमाडौं । भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि चुनाब गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिट सुनुवाई सर्वोच्च अदालतमा बहस जारी रहेको छ । सर्वोच्चका न्यायाधीश चोलेन्द्रसम्शेर जबराको एकल इजालसमा सुनुवाइ भइरहेको हो ।
रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता तथा नेपाल बार एशोसियनका पूर्वअध्यक्ष शम्भु थापा, पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दी लगायतले बहस गर्दैछन् । अदालतले छलफलका लागि विपक्षी झिकाउने वा अन्तरिम आदेश दिने निर्णय आजै हुनेछ ।
भरतपुर महानगर वडा नं. १९ का वडा सदस्यका उम्मेदवार गुन्जामान विक र अधिवक्ता तुलसीराम पाण्डेको वारेसमा महेश्वर श्रेष्ठले रिट दायर गरेका थिए । रिटमा निर्वाचन आयोग, भरतपुर महानगरपालिका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपाने, अनुगमन समिति संयोजक गीताप्रसाद तिम्सिनालाई विपक्षी बनाइएको छ । निर्वाचनपछि मतगणनाका क्रममा जेठ १४ मध्यारातमा ९० मतपत्र च्यातिएको थियो ।
निवेदकले भरतपुरको पुनःमतदान गराउने निर्वाचन आयोगको निर्णय बदर गरी च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना कार्य सुचारु गर्न गराउन उत्प्रेषणयुक्त परमादेश माग गरेका छन् ।

विशेष महत्वका साथ हेरिएकाे भरतपुर महानगरका मेयर उम्मेदवार देबी ज्ञवाली र रेणु दाहालकाे भबिष्य समेत यसै फैसलाले गर्नेछ ।