काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले १८औँ नाडा अटो शो २०२६ आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ। नाडाको ५०औँ वार्षिकोत्सवसमेत परेकोले यस वर्षको अटो शो ‘स्वर्ण उत्सव संस्करण’का रूपमा आयोजना गर्न लागिएको हो।
छ दिनसम्म सञ्चालन हुने प्रदर्शनीको शीर्ष प्रायोजक एचपी लुब्रिकेन्ट्स रहेको छ। नाडाका अनुसार अटो शोमा तीव्र रूपमा परिवर्तन भइरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ सवारीसाधन, प्रविधि, उत्पादन र सेवाहरू एउटै स्थानमा प्रस्तुत गरिनेछ।
नाडाले अटो शोको मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउनुका साथै उपभोक्तालाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि र नवप्रवर्तनको प्रत्यक्ष अनुभव गराउनु रहेको जनाएको छ। प्रदर्शनीले अटोमोबाइल कम्पनीलाई ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्ने अवसरसमेत प्रदान गर्नेछ।
३ लाख वर्गफिटमा २०० भन्दा बढी स्टल
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने अटो शोमा साना–ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन्।
प्रदर्शनीमा २३ ब्रान्डका प्यासेन्जर कार, १७ ब्रान्डका लाइट कमर्सियल भेहिकल र १३ ब्रान्डका दुईपाङ्ग्रे सवारीसाधन सहभागी हुने नाडाले जनाएको छ।
त्यस्तै, १० वटा वित्तीय तथा बीमा सेवा प्रदायकका साथै ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट, ग्यारेज उपकरण तथा अन्य अटोमोबाइलसम्बन्धी उत्पादन र सेवाका स्टल रहनेछन्।
नेपालमै एसेम्बल हुने सवारीसाधन तथा स्वदेशमै उत्पादन हुने लुब्रिकेन्ट, ब्याट्री, हेल्मेटलगायत सामग्रीलाई समेत प्रदर्शनीमा विशेष प्राथमिकता दिइनेछ।
स्वदेशी उत्पादनको सम्भावना देखाउने मञ्च
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्र अब आयातमा मात्र निर्भर नरहेको बताएका छन्। नेपालमै सवारीसाधन एसेम्बल हुनुका साथै अटोमोबाइलसँग सम्बन्धित विभिन्न सामग्री उत्पादन हुन थालेकाले आगामी दिनमा स्वदेशमै अटोमोबाइल उत्पादनको आधार तयार हुने उनको भनाइ छ।
१८औँ नाडा अटो शोमा नेपालमा उत्पादन तथा एसेम्बल भएका सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेटलगायत अटो कम्पोनेन्टलाई विशेष प्राथमिकताका साथ प्रस्तुत गरिने उप्रेतीले बताए।
“नाडा अटो शो केवल अन्तर्राष्ट्रिय ब्रान्डहरूको जमघट होइन, नेपालमा आफ्नै औद्योगिक सम्भावनाको जीवन्त ऐना पनि हो,” उनले भने, “नेपालमै उत्पादन भएका यात्री, एसेम्बल भएका स्कुटर तथा बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेटलगायत सामग्रीलाई गर्वका साथ प्रस्तुत गर्नेछौँ।”
उनका अनुसार नेपाल क्रमशः अटोमोबाइल क्षेत्रमा आत्मनिर्भरताको दिशातर्फ अघि बढिरहेको छ। अहिले भइरहेको उत्पादन र एसेम्बलिङले भविष्यमा स्वदेशमै अटोमोबाइल उत्पादनको आधार निर्माण गर्न सक्ने उनले बताए।
“नेपाल अब आयात मात्र नभएर भोलिका दिनमा नेपालमै अटोमोबाइलको उत्पादन पनि सम्भव भएको जानकारी गराउन र देखाउन हामी प्रतिबद्ध छौँ,” उप्रेतीले भने।
सुस्त बजारलाई चलायमान बनाउने अपेक्षा
नाडाले पछिल्लो समय सुस्त बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन अटो शोले महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ।
प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी)को आधुनिक प्रविधि, दिगो गतिशीलता तथा विश्वस्तरीय नयाँ उत्पादनलाई एउटै छानामुनि प्रस्तुत गरिनेछ।
“यस वर्षको नाडा अटो शो नेपालको अटोमोबाइल क्षेत्रमा भइरहेको द्रुत परिवर्तन, विशेषगरी विद्युतीय सवारीसाधनको आधुनिक प्रविधि, दिगो गतिशीलता र विश्वस्तरीय नवीनतम उत्पादनहरूलाई एकै छतमुनि प्रदर्शन गर्ने भव्य मञ्च हुनेछ,” उप्रेतीले भने।
अटो शोले उपभोक्तामा उत्साह बढाउनुका साथै बजारमा माग सिर्जना गर्न र समग्र आर्थिक गतिविधिलाई चलायमान बनाउन योगदान पुर्याउने नाडाको विश्वास छ।
नयाँ मोडलदेखि रोबोटसम्म
यस वर्ष विभिन्न ब्रान्डका नयाँ मोडल सार्वजनिक गरिने नाडाले जनाएको छ। भविष्यको यातायात क्षेत्रमा प्रयोग हुन सक्ने प्रविधिको अनुभव गराउने उद्देश्यले ह्युमनोइड रोबोट र क्वाड्रुपेड रोबोट समेत प्रदर्शनीमा राखिनेछन्।
‘मेड इन नेपाल’ र ‘मेड फर नेपाल’ अवधारणाअन्तर्गत स्वदेशमै उत्पादित तथा नेपालमै एसेम्बल भएका सवारीसाधन, लुब्रिकेन्ट, ब्याट्री, हेल्मेट र अन्य कम्पोनेन्टको प्रवर्द्धन गरिनेछ।
त्यस्तै, स्मार्ट मोबिलिटी, अटोमोबाइल क्षेत्रको दिगो विकास र कनेक्टिभिटीलगायत विषयमा सिम्पोसियमसमेत आयोजना गरिने नाडाले जनाएको छ।
छुट्टाछुट्टै जोन र विशेष सुविधा
अवलोकनकर्ताको सहजताका लागि अटो शोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था, अटो कम्पोनेन्ट तथा ग्यारेज उपकरणका छुट्टाछुट्टै जोन रहनेछन्।
टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ। निश्चित अवधिका लागि टिकटमा ५० प्रतिशत क्यासब्याकको व्यवस्था गरिएको नाडाले जनाएको छ।
प्रदर्शनीस्थलमा मिडिया डेस्क, ट्राफिक सूचना डेस्क, क्याफेटेरिया, आपतकालीन स्वास्थ्य टोली, सीसीटीभी निगरानी तथा आगो नियन्त्रणको व्यवस्था गरिनेछ। प्रदर्शनीस्थललाई ह्वीलचेयरमैत्रीसमेत बनाइने नाडाको तयारी छ।
पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनस्थित भूमिगत पार्किङ तथा सिंहदरबारस्थित नेशनल ट्रेडिङ परिसरमा व्यवस्था मिलाउन पहल भइरहेको छ।
नाडाले छ दिनसम्म चल्ने १८औँ नाडा अटो शोमा करिब दुई लाख अवलोकनकर्ता सहभागी हुने अपेक्षा गरेको छ।
५० वर्षे यात्रासँग जोडिएको ‘स्वर्ण उत्सव संस्करण’
नाडाले नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार र नीतिगत सुधारमा विगत ५० वर्षदेखि भूमिका निर्वाह गर्दै आएको छ। संस्थाको पाँच दशक लामो यात्रालाई नेपालको आर्थिक तथा औद्योगिक विकाससँग जोडिएको महत्त्वपूर्ण इतिहासका रूपमा प्रस्तुत गर्दै यस वर्षको अटो शो विशेष बनाउने तयारी गरिएको हो।
नाडाका अनुसार १८औँ संस्करण अन्तर्राष्ट्रिय ब्रान्ड र नयाँ प्रविधिको प्रदर्शनी मात्र नभई नेपालको बढ्दो स्वदेशी औद्योगिक क्षमता, अटोमोबाइल उत्पादनको सम्भावना र भविष्यको मोबिलिटी प्रविधि प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्चसमेत बन्नेछ।