२०८३ भाद्र २ मंगलबार

२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, लाभांश क्षमता भने कमजोर

ई आर्थिक    मंगलबार, भाद्र २ २०८३
95
Shares
२० वाणिज्य बैंकको नाफा ७० अर्ब नजिक, लाभांश क्षमता भने कमजोर

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा २० वटा वाणिज्य बैंकले कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकहरूको समग्र नाफामा सुधार देखिए पनि सेयरधनीलाई लाभांश वितरण गर्ने क्षमता भने कमजोर देखिएको छ ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार चार वटा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । खराब कर्जा, प्रोभिजनिङ तथा इम्पेयरमेन्ट चार्ज बढेका कारण खुद नाफा र वितरणयोग्य नाफाबीच ठूलो अन्तर देखिएको हो ।

नबिलको खुद नाफा सर्वाधिक

खुद नाफाका आधारमा नबिल बैंक सबैभन्दा अगाडि रहेको छ । नबिलले ७ अर्ब ९० करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

दोस्रो स्थानमा रहेको कुमारी बैंकले ७ अर्ब ३८ करोड ७१ लाख ९७ हजार रुपैयाँ तथा ग्लोबल आइएमई बैंकले ६ अर्ब २२ करोड ७१ लाख ५६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

त्यस्तै, एभरेस्ट बैंकले ५ अर्ब ६ करोड ९९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ र नेपाल बैंकले ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् । प्राइम कमर्सियल, एनएमबी, सानिमा, सिद्धार्थ, लक्ष्मी सनराइज र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि उल्लेख्य नाफा आर्जन गरेका छन् ।

चार बैंकको वितरणयोग्य नाफा ऋणात्मक

खुद नाफा आर्जन गरे पनि सबै बैंकको लाभांश क्षमता बलियो छैन । एनआइसी एसिया, हिमालयन, प्रभु र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।

एनआइसी एसियाको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड रुपैयाँले ऋणात्मक रहेको छ । हिमालयन बैंकको ९ अर्ब ८४ करोड रुपैयाँ र प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँले वितरणयोग्य नाफा ऋणात्मक रहेको विवरणमा उल्लेख छ ।

प्रभु बैंक भने २४ करोड १२ लाख रुपैयाँ खुद घाटामा रहेको छ । एनआइसी एसिया बैंकको खुद नाफा १८ करोड १७ लाख रुपैयाँमा सीमित भएको छ । हिमालयन बैंकले भने १ अर्ब ४८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।

लाभांश क्षमता एभरेस्टको बलियो

वितरणयोग्य नाफाका आधारमा एभरेस्ट बैंक सबैभन्दा बलियो देखिएको छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

नबिल बैंकको वितरणयोग्य नाफा करिब ५ अर्ब १६ करोड र ग्लोबल आइएमई बैंकको करिब ४ अर्ब ५८ करोड रुपैयाँ रहेको छ ।

इम्पेयरमेन्ट चार्जमा ३९ अर्बभन्दा बढी

बैंकहरूको लाभांश क्षमता कमजोर हुनुको प्रमुख कारण खराब कर्जाका लागि गर्नुपर्ने प्रोभिजनिङ र इम्पेयरमेन्ट चार्ज हो । गत आर्थिक वर्षमा २० वाणिज्य बैंकले कुल ३९ अर्ब ४० करोड रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएका छन् ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले मात्रै ६ अर्ब १९ करोड रुपैयाँ तथा ग्लोबल आइएमई बैंकले ४ अर्ब ७८ करोड रुपैयाँ इम्पेयरमेन्ट चार्जमा खर्च गरेका छन् ।

खराब कर्जामा प्रभु सबैभन्दा कमजोर

निष्क्रिय कर्जाको अनुपात हेर्दा एभरेस्ट बैंक सबैभन्दा बलियो देखिएको छ । बैंकको निष्क्रिय कर्जा ०.४९ प्रतिशत मात्रै रहेको छ ।

यसको विपरीत प्रभु बैंकको खराब कर्जा १५.५५ प्रतिशत पुगेको छ । यसले बैंकहरूको वित्तीय स्वास्थ्यमा ठूलो अन्तर रहेको देखाएको छ ।

इपिएसमा एभरेस्ट अगाडि

सेयरधनीका लागि महत्वपूर्ण मानिने प्रतिसेयर आम्दानी (इपिएस) मा पनि एभरेस्ट बैंक अगाडि रहेको छ । बैंकको इपिएस ३६.९५ रुपैयाँ रहेको छ ।

त्यसपछि नेपाल बैंकको ३०.६३ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २९.१४ रुपैयाँ, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २८.३८ रुपैयाँ र नबिल बैंकको २८.३६ रुपैयाँ रहेको छ ।

प्रभु बैंकको इपिएस भने १.०२ रुपैयाँ ऋणात्मक रहेको छ ।

नेटवर्थमा नेपाल बैंक अगाडि

प्रतिसेयर नेटवर्थका आधारमा नेपाल बैंक २८७.७० रुपैयाँसहित अगाडि रहेको छ । त्यसपछि एभरेस्ट र नबिल बैंक रहेका छन् ।

निक्षेपमा राष्ट्रिय वाणिज्य, कर्जामा नबिल अगाडि

बैंकको आकारका आधारमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक अगाडि देखिएका छन् । राष्ट्रिय वाणिज्य बैंकको निक्षेप ६ खर्ब ८६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने ग्लोबल आइएमई बैंकको निक्षेप ६ खर्ब ६९ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

कर्जा प्रवाहमा भने नबिल बैंक अगाडि रहेको छ । नबिलले करिब ४ खर्ब ६० अर्ब ३१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

ब्याज आम्दानीमै निर्भर बैंकिङ क्षेत्र

वित्तीय विवरणले समग्र बैंकिङ क्षेत्रमा सुधार देखिए पनि सबै बैंकको वित्तीय अवस्था समान नरहेको देखाएको छ । केही बैंक नाफा, इपिएस, निक्षेप तथा जोखिम व्यवस्थापनमा बलिया देखिएका छन् भने केही बैंक उच्च खराब कर्जा र प्रोभिजनिङको दबाबमा छन् ।

बैंकहरूको मुख्य आम्दानीको स्रोत अझै पनि ब्याज आम्दानी नै रहेको छ । कुल २ खर्ब ५३ अर्ब रुपैयाँ सञ्चालन आम्दानीमध्ये १ खर्ब ९२ अर्ब रुपैयाँ अर्थात् ७५ प्रतिशतभन्दा बढी खुद ब्याज आम्दानीबाट आएको छ । शुल्क तथा कमिसनबाट बैंकहरूले ३९ अर्ब ४९ करोड रुपैयाँ आम्दानी गरेका छन् ।

समग्रमा बैंकहरूको नाफामा सुधार देखिए पनि आगामी दिनमा खराब कर्जा नियन्त्रण, कर्जा असुली, जोखिम व्यवस्थापन, पुँजीको प्रभावकारी परिचालन र वितरणयोग्य नाफा बढाउनु बैंकिङ क्षेत्रका प्रमुख चुनौती हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij