विराटनगर । जिल्ला कारागार मोरङमा सुरक्षा निकायले व्यापक खानतलासी थालेपछि कैदीबन्दीहरू आन्दोलनमा उत्रिएका छन्। विराटनगर–८, हाटखोलास्थित कारागारको ‘बी ब्लक’मा रहेका कैदीबन्दीहरू विभिन्न माग राख्दै कारागारको छतमा चढेर नाराबाजीमा उत्रिएका हुन्।
कैदीबन्दीहरूले कारागारभित्र हुने आर्थिक तथा मानसिक शोषण अन्त्य गर्नुपर्ने, आफूहरूमाथि गरिने व्यवहारमा सुधार गर्नुपर्ने लगायतका माग अघि सारेका छन्। उनीहरूले कारागार प्रशासनबाट कैदीबन्दीमाथि हुने व्यवहार र व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने मागसमेत गरेका छन्।
यसैबीच, सुरक्षा निकायले भने कारागारभित्र लागूऔषधलगायत अवैध वस्तु लुकाएर राखिएको सूचनाका आधारमा नियमित खानतलासी गरिएको जनाएको छ।
खानतलासीका क्रममा सुरक्षा निकायले कारागारका विभिन्न ब्लक तथा कैदीबन्दीका सामानहरू जाँच गरिरहेको जनाएको छ। खानतलासीपछि उत्पन्न तनावका कारण ‘बी ब्लक’का कैदीबन्दीहरू छतमा चढेर नाराबाजीमा उत्रिएका हुन्।
घटनापछि कारागार परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। अवस्था नियन्त्रणमा लिन सुरक्षा निकाय तथा कारागार प्रशासनले कैदीबन्दीसँग छलफल गरिरहेको जनाइएको छ।