२०८३ भाद्र २ मंगलबार

नाडाका अध्यक्ष सुरेन्द्र उप्रेती भन्छन्– ‘नेपालमै अटोमोबाइल उत्पादनको सम्भावना बढ्दै गएको छ’

ई आर्थिक    मंगलबार, भाद्र २ २०८३
133
Shares
नाडाका अध्यक्ष सुरेन्द्र उप्रेती भन्छन्– ‘नेपालमै अटोमोबाइल उत्पादनको सम्भावना बढ्दै गएको छ’

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्र उप्रेतीले नेपालको अटोमोबाइल क्षेत्र आयातमा मात्र निर्भर नरहेको बताएका छन्। नेपालमै सवारीसाधन एसेम्बल हुन थालेसँगै अटोमोबाइलसँग सम्बन्धित विभिन्न सामग्री उत्पादन भइरहेकाले भविष्यमा स्वदेशमै अटोमोबाइल उत्पादनको सम्भावना बढ्दै गएको उनको भनाइ छ।

नाडा अटो शो २०२६ को अवसरमा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष उप्रेतीले नेपालमा उत्पादन तथा एसेम्बल भएका सवारीसाधन र अटो कम्पोनेन्टलाई यस वर्षको प्रदर्शनीमा विशेष प्राथमिकता दिइने जानकारी दिए।

नाडाको १८औँ अटो शोमा नेपालमै उत्पादन भएका तथा एसेम्बल गरिएका सवारीसाधनसँगै टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स, हेल्मेटलगायत सामग्रीलाई मुख्य आकर्षणका रूपमा प्रस्तुत गरिने उनले बताए।

उनका अनुसार नाडा अटो शो अन्तर्राष्ट्रिय ब्रान्ड र अत्याधुनिक प्रविधिको प्रदर्शनी गर्ने थलो मात्र नभई नेपालमा विस्तार हुँदै गएको स्वदेशी औद्योगिक क्षमताको समेत प्रतिबिम्ब बन्नेछ।

“नाडा अटो शो केवल अन्तर्राष्ट्रिय ब्रान्डहरूको जमघट होइन, नेपालमा आफ्नै औद्योगिक सम्भावनाको जीवन्त ऐना पनि हो,” उप्रेतीले भने, “नेपालमै उत्पादन भएका यात्री, एसेम्बल भएका स्कुटर तथा बाइक, टायर, लुब्रिकेन्ट, ब्याट्री, स्पेयर पार्ट्स र हेल्मेटलगायत सामग्रीलाई गर्वका साथ प्रस्तुत गर्नेछौँ।”

नेपालको अटोमोबाइल क्षेत्र क्रमशः आत्मनिर्भरताको दिशातर्फ अघि बढिरहेको उल्लेख गर्दै उनले हाल भइरहेको उत्पादन तथा एसेम्बलिङले भविष्यमा स्वदेशमै पूर्ण रूपमा अटोमोबाइल उत्पादन गर्ने आधार तयार गर्न सक्ने बताए।

“नेपाल अब आयात मात्र नभएर भोलिका दिनमा नेपालमै अटोमोबाइलको उत्पादन पनि सम्भव भएको जानकारी गराउन र देखाउन हामी प्रतिबद्ध छौँ,” उनले भने।

सुस्त बजारलाई चलायमान बनाउने अपेक्षा

अध्यक्ष उप्रेतीले पछिल्लो समय सुस्त बनेको अटोमोबाइल बजारलाई चलायमान बनाउन नाडा अटो शोले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रदर्शनीमा विद्युतीय सवारीसाधन (ईभी)को आधुनिक प्रविधि, दिगो गतिशीलता र विश्वस्तरीय नयाँ उत्पादनलाई एउटै छानामुनि प्रस्तुत गरिने उनले बताए।

अटो शोले उपभोक्तामा उत्साह बढाउनुका साथै बजारमा आर्थिक गतिविधि विस्तार गर्न र समग्र अर्थतन्त्रलाई चलायमान बनाउन योगदान गर्ने अपेक्षा गरिएको उनको भनाइ छ।

नाडाको ५० वर्षे यात्रासँग जोडिँदै अटो शो

नाडाले विगत ५० वर्षदेखि नेपालको अटोमोबाइल क्षेत्रको विकास, विस्तार तथा नीतिगत सुधारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उप्रेतीले बताए।

नाडाको पाँच दशक लामो यात्रालाई नेपालको आर्थिक तथा औद्योगिक विकाससँग जोडिएको महत्त्वपूर्ण इतिहासका रूपमा व्याख्या गर्दै उनले गोल्डेन जुब्लीको अवसरमा आयोजना हुन लागेको १८औँ नाडा अटो शोलाई विशेष महत्त्वका साथ हेरिएको बताए।

उनका अनुसार गोल्डेन जुब्लीका अवसरमा आयोजना हुन लागेको यस वर्षको अटो शो समग्र निजी क्षेत्र र नेपालको अटोमोबाइल उद्योगका लागि समेत ऐतिहासिक अवसर बन्नेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij