काठमाडौं — सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’सँग वार्ता गर्न औपचारिक रूपमा वार्ता टोली गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको हो।
टोलीमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले, अर्थ मन्त्रालयका सहसचिव महेश आचार्य तथा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव डिलाराम पन्थी सदस्य रहेका छन्।
यसअघि सोमबार जिल्ला प्रशासन कार्यालय ललितपुरमा सरकारका प्रतिनिधि र महाअभियानका प्रतिनिधिबीच दिनभर गहन छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेको कार्यकक्षमा भएको छलफलमा महाअभियानले उठाएका मागका विषयमा विस्तृत कुराकानी भएको थियो।
छलफलका क्रममा महाअभियानको मागअनुसार नेपाल सरकारका तर्फबाट औपचारिक वार्ता टोली गठन गर्ने र आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गर्ने सहमति भएको थियो।
सरकारले वार्ताका लागि गरेको आह्वानलाई महाअभियानका प्रतिनिधिले स्वीकार गर्दै वार्ताका लागि पठाइएको औपचारिक पत्रसमेत ग्रहण गरेका छन्।
छलफलमा महाअभियानका तर्फबाट विष्णु बोहोरा क्षेत्री, राजु आचार्य, सकुनी सिंह, हरदेव महतो, तारा बजगाईं र विजय थापाको सहभागिता रहेको थियो।
सरकारले वार्ता टोली गठन गरेसँगै आन्दोलनरत पक्षसँग औपचारिक संवाद अघि बढ्ने बाटो खुलेको छ।