२०८३ भाद्र २ मंगलबार

रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

ई आर्थिक    मंगलबार, भाद्र २ २०८३
38
Shares
रेडक्रसको जग्गा खरिदमा अनियमितता आरोप, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं : नेपाल रेडक्रस सोसाइटीले करिब १० वर्षअघि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। यस क्रममा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले तत्कालीन अध्यक्ष संजीव थापासहित पाँच जनालाई पक्राउ गरेको छ।

सिआइबीका अनुसार २०७३ सालमा रेडक्रसले गोदामघर निर्माणका लागि भक्तपुर नगरपालिका–४ मा ५ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरेको थियो। उक्त जग्गा ६ करोड ३२ लाख ८१ हजार रुपैयाँमा खरिद गरिएको थियो।

अनुसन्धानका क्रममा जग्गा खरिदमा १ करोड ९३ लाख रुपैयाँ बिचौलियामार्फत खर्च भएको खुलेको प्रहरीले जनाएको छ। त्यस्तै, खरिद गरिएको जग्गा नापजाँच गर्दा सम्झौतामा उल्लेख भएभन्दा ७ आना कम क्षेत्रफल देखिएको थियो।

महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयले यससम्बन्धी छानबिन प्रतिवेदन सिआइबीलाई पठाएको थियो। सोही प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाउँदै पाँच जनालाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसएसपी अनुपमशमशेर जबराले जानकारी दिए।

पक्राउ पर्नेमा भक्तपुर ठिमीका राजेश देशमरु, नुवाकोट समुन्द्रटारका उमेशप्रसाद ढकाल, भक्तपुर चाँगुनारायणका कृष्ण फोजु र काठमाडौं बालाजुका इन्द्रबहादुर केसी पनि छन्।

पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि सिआइबीले काठमाडौं जिल्ला प्रहरी परिसरमा पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij