२०८३ साउन २८ बिहिबार

सिमेन्ट उद्योगको संकटबारे घिसिङको प्रश्न : निजी उद्योग नाफामा, सरकारी उद्योग घाटामा किन?

ई आर्थिक    बुधबार, साउन २७ २०८३
646
Shares
सिमेन्ट उद्योगको संकटबारे घिसिङको प्रश्न : निजी उद्योग नाफामा, सरकारी उद्योग घाटामा किन?

काठमाडौं ।  उज्यालो पार्टी नेपालका अध्यक्ष तथा पूर्वऊर्जामन्त्री कुलमान घिसिङले सरकारले बन्द भएका उद्योग सञ्चालनमा ल्याउने प्रयाससँगै सञ्चालनमा रहेका हेटौंडा र उदयपुर सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुग्नुको कारण पनि गम्भीर रूपमा खोज्नुपर्ने बताएका छन्।

घिसिङले सरकारी स्वामित्वका उद्योग निरन्तर घाटामा चल्छन् भन्ने मान्यता सही नभएको भन्दै नेतृत्व र व्यवस्थापनको प्रभावकारितालाई मुख्य विषयका रूपमा हेर्नुपर्ने धारणा राखेका छन्। उनका अनुसार निजी लगानीकर्ताले खानी खरिद गरेर अर्बौं रुपैयाँ लगानी गरी स्थापना गरेका सिमेन्ट उद्योग नाफामा सञ्चालन भइरहेका बेला उत्कृष्ट चुनढुंगा खानीको स्रोत र विदेशी लगानीमा निर्माण भएको ठूलो संरचना भएका सरकारी सिमेन्ट उद्योग घाटामा जानुको कारण पहिचान गर्न आवश्यक छ।

उनले पाँच वर्षअघिको उदाहरण दिँदै ह्वासिन सिमेन्टले प्रसारण लाइनको अभावमा डिजेल जेनेरेटरबाट उद्योग सञ्चालन गर्दासमेत नेपाली उपभोक्तालाई अन्य उद्योगको तुलनामा केही सस्तोमा सिमेन्ट उपलब्ध गराएको उल्लेख गरेका छन्। पछि विद्युत् प्रसारण लाइन पुगेपछि उद्योगले विद्युत्बाटै सञ्चालन गर्न थालेको उनको भनाइ छ।

घिसिङले सरकारी संस्था सधैं घाटामा चल्छ भन्ने धारणा नेपाल विद्युत् प्राधिकरणले गलत सावित गरेको पनि बताएका छन्। स्थापनादेखि अधिकांश समय घाटामा रहेको प्राधिकरण पछिल्लो एक दशकदेखि लगातार अर्बौं रुपैयाँ नाफामा सञ्चालन भइरहेको र सो अवधिमा विद्युत् महसुलसमेत करिब २५ प्रतिशतले घटाइएको उदाहरण उनले दिएका छन्।

उनका अनुसार यसले कुनै पनि सरकारी संस्थालाई प्रभावकारी नेतृत्व र सक्षम व्यवस्थापनमार्फत नाफामूलक तथा दिगो रूपमा सञ्चालन गर्न सकिने देखाउँछ।

घिसिङले सरकारले बन्द उद्योग खोल्ने मात्रै नभई तिनलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने स्पष्ट योजना बनाउनुपर्नेमा जोड दिएका छन्। साथै, हाल सञ्चालनमा रहेका उद्योग बन्द हुने अवस्थामा पुग्नुका कारण पहिचान गरी तिनलाई जोगाउँदै नाफामा लैजाने रणनीति बनाउन सरकारको गम्भीर ध्यान जानुपर्ने उनको आग्रह छ।

“सरकारले बन्द उद्योगलाई खोल्ने मात्र होइन, त्यसलाई दीर्घकालीन रूपमा सञ्चालनमा ल्याउने र चलेका उद्योगलाई बन्द हुनबाट रोक्दै नाफामा लैजानेतर्फ सोच्न जरूरी छ,” घिसिङले भनेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij