काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी) का सञ्चालकहरू तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको विषयमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
केन्द्रीय बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनको अवस्थाबारे आफूले नजिकबाट अनुगमन गरिरहेको स्पष्ट पारेको छ। विद्यमान कानुनी व्यवस्थाका साथै आवश्यक राय तथा सुझाव लिएर यस विषयमा थप छलफल भइरहेको राष्ट्र बैंकले जनाएको हो।
बैंकको नेतृत्वविरुद्ध कानुनी मुद्दा विचाराधीन रहे पनि बैंकको वित्तीय अवस्था भने सन्तोषजनक र मजबुत रहेको राष्ट्र बैंकको भनाइ छ। बैंकको हालको तरलता अवस्था तथा वित्तीय सबलताका अन्य प्रमुख परिसूचकहरू राष्ट्र बैंकले तोकेको मापदण्डअनुसार सन्तोषजनक रहेको केन्द्रीय बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार बैंकको वित्तीय अवस्था सामान्य रहेकाले दैनिक बैंकिङ कारोबार तथा सञ्चालनमा कुनै प्रकारको अवरोध वा जटिलता उत्पन्न हुने अवस्था छैन। केन्द्रीय बैंकले सर्वसाधारण तथा बैंकका अन्य सरोकारवालालाई बैंकको सञ्चालनप्रति आश्वस्त रहन आग्रह गरेको छ।
अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसको प्रकृति, गम्भीरता तथा समयावधिलाई समेत ध्यानमा राखी राष्ट्र बैंकले थप कानुनी राय लिने प्रक्रिया अघि बढाएको जनाएको छ।
बैंकको दैनिक सञ्चालन अवस्थालाई मध्यनजर गर्दै सञ्चालक समिति तथा उच्च व्यवस्थापनका सम्बन्धमा प्रचलित कानुनबमोजिम आवश्यक उपाय अवलम्बन गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
बैंकको स्थायित्व, वित्तीय सबलता तथा संस्थागत सुशासन कायम राख्न आवश्यक कदम चाल्ने प्रतिबद्धता पनि केन्द्रीय बैंकले व्यक्त गरेको छ।