काठमाडौं । उद्योग मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा अनुगमन गर्दा ठूलो परिमाणमा ग्यास सिलिन्डर मौज्दात राखेको फेला पारेको छ।
उपभोक्ताले बजारमा ग्यास अभाव भएको गुनासो बढाएपछि विभागले होटल तथा व्यावसायिक प्रतिष्ठानको ग्यास भण्डारण र प्रयोगबारे निगरानी बढाएको थियो। सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका गरी १८४ वटा सिलिन्डर फेला परेका हुन्।
विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर मौज्दात अवस्थामा भेटिएका छन्। त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ।
बजारमा पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले अभाव झेलिरहेको अवस्थामा होटलमा ठूलो परिमाणमा ग्यास मौज्दात भेटिएपछि विभागले यस विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ।
सम्बन्धित होटलमाथि आवश्यक कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ। मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यावसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथिको निगरानी थप कडाइ गर्ने जनाएको छ।
विभागले बजारमा ग्यासको आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन अनुगमनलाई निरन्तरता दिने बताएको छ।