२०८३ साउन २८ बिहिबार

४० वर्षदेखि रोकिएको उद्योगको बक्यौता असुली तीव्र, ५१ करोडभन्दा बढी सरकारी कोषमा

ई आर्थिक    बिहिबार, साउन २८ २०८३
209
Shares
४० वर्षदेखि रोकिएको उद्योगको बक्यौता असुली तीव्र, ५१ करोडभन्दा बढी सरकारी कोषमा

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले बक्यौता असुलीमा कडाइ गर्न निर्देशन दिएसँगै लामो समयदेखि उठ्न नसकेको उद्योगहरूको बक्यौता धमाधम असुल हुन थालेको छ। मन्त्रालयले वर्षौँदेखि राज्यलाई तिर्न बाँकी भाडा तथा अन्य रकम असुलीलाई प्राथमिकतामा राख्दै प्रक्रिया तीव्र पारेको हो।

मन्त्रालयका अनुसार विभिन्न उद्योग तथा संस्थाबाट लामो समयदेखि बाँकी रहेको रकम असुल गर्ने अभियानअन्तर्गत हालसम्म ५१ करोड २६ लाख ३० हजार ७९९ रुपैयाँ २७ पैसा सरकारी कोषमा दाखिला भइसकेको छ।

पछिल्लो पटक कन्टिनेन्टलबाट मात्रै ४ करोड ११ लाख ९३ हजार ६८९ रुपैयाँ ७५ पैसा बक्यौता असुल भएको मन्त्रालयले जनाएको छ। लामो समयदेखि राज्यलाई तिर्नुपर्ने रकम रोकिँदा अलपत्र अवस्थामा रहेका उद्योगबाट बक्यौता उठाउने कामलाई मन्त्रालयले थप प्रभावकारी बनाएको छ।

बक्यौता असुलीसँगै बन्द तथा समस्याग्रस्त उद्योगको सञ्चालन सहज बनाउने प्रक्रिया पनि अघि बढाइएको छ। बक्यौता रकम भुक्तानी गरेपछि थप एक उद्योगको विद्युत् लाइन पुनः जडान गरिएको छ।

यद्यपि विद्युत् महसुलसमेत भुक्तानी नगरेका १६ वटा उद्योगको विद्युत् लाइन अझै काटिएको अवस्थामा रहेको मन्त्रालयले जनाएको छ।

लामो समयदेखि राज्यकोषमा जम्मा हुन नसकेको रकम असुली अभियानले गति लिएसँगै सरकारी राजस्वमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। मन्त्रालयले बाँकी रहेका अन्य उद्योग तथा संस्थाबाट पनि बक्यौता असुलीलाई निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij