प्रशोधित भटमासको तेल मात्रै कुल निर्यातको करिब ४०%, स्वदेशी उत्पादनको विस्तारमा विज्ञहरूको जोड
काठमाडौं: गत आर्थिक वर्ष २०८२/८३ मा नेपालको वस्तु निर्यात दोहोरो अंकले बढेको भए पनि आयातको तुलनामा अझै कमजोर रहेको देखिएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार नेपालले उक्त अवधिमा कुल ३ खर्ब १५ अर्ब रुपैयाँ बराबरका वस्तु निर्यात गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १३.८१ प्रतिशतले बढी हो।
सरकारले नगद अनुदान, सहुलियतपूर्ण कर्जा, औद्योगिक प्रोत्साहन तथा कर छुटजस्ता कार्यक्रममार्फत निर्यात प्रवर्द्धन गरिरहेको भए पनि निर्यातको संरचनामा अपेक्षित विविधीकरण हुन सकेको छैन। नेपाल अझै पनि सीमित वस्तु र सीमित अन्तर्राष्ट्रिय बजारमा निर्भर रहँदै आएको छ।
गत आर्थिक वर्षमा प्रशोधित भटमासको तेल सबैभन्दा ठूलो निर्यातित वस्तु बनेको छ। यसको निर्यात मूल्य १ खर्ब २८ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ, जुन नेपालको कुल निर्यातको करिब ४० प्रतिशत हो।
यसपछि अलैंची १२ अर्ब ६४ करोड ७८ लाख रुपैयाँ, गलैंचा १० अर्ब ३८ करोड रुपैयाँ, सनफ्लावर तेल ८ अर्ब ९४ करोड ३३ लाख रुपैयाँ, जुटजन्य सामग्री ७ अर्ब १४ करोड रुपैयाँ तथा पाम तेल ६ अर्ब ६६ करोड रुपैयाँ बराबर निर्यात भएका छन्।
प्रशोधित तेलमा अत्यधिक निर्भरता
तथ्यांकले नेपालको निर्यात केही निश्चित वस्तुमै केन्द्रित रहेको स्पष्ट देखाएको छ। विशेषगरी प्रशोधित भटमासको तेल, सनफ्लावर तेल र पाम तेलजस्ता वस्तु तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी नेपालमा प्रशोधन गरेर पुनः निर्यात गरिने प्रकृतिका हुन्।
अर्थविद्हरूका अनुसार यस्ता वस्तुले निर्यातको परिमाण बढाए पनि स्वदेशमा हुने वास्तविक मूल्य अभिवृद्धि (Value Addition) अपेक्षाकृत न्यून हुने भएकाले दीर्घकालीन रूपमा अर्थतन्त्रलाई सीमित लाभ मात्र पुग्ने गर्छ।
स्वदेशी उत्पादन विस्तारमा जोड
विज्ञहरूले अलैंची, गलैंचा, जुटजन्य सामग्री, चिया, हस्तकला तथा कृषिजन्य उत्पादनलाई नेपालको वास्तविक प्रतिस्पर्धात्मक क्षमता भएका निर्यातयोग्य वस्तुका रूपमा अघि बढाउनुपर्ने बताएका छन्। यस्ता उत्पादनको उत्पादन क्षमता र निर्यात विस्तार गर्न सके विदेशी मुद्रा आर्जन दिगो रूपमा बढ्नुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत प्रत्यक्ष लाभ पुग्ने उनीहरूको भनाइ छ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाईंले निर्यात वृद्धि गर्न उत्पादन, प्रशोधन, बजार र निर्यातलाई एउटै मूल्य शृङ्खला (Value Chain) मा जोडेर अघि बढ्नुपर्ने बताए।
उनका अनुसार नेपालमा प्रतिस्पर्धात्मक लाभ भएका कृषि तथा औद्योगिक उत्पादनको पहिचान गरी लक्षित रूपमा प्रवर्द्धन गर्न सके आगामी वर्षहरूमा निर्यात व्यापारमा उल्लेखनीय वृद्धि हासिल गर्न सकिनेछ।